आउनुभयो–जानुभयो

भारतीय विदेशमन्त्री सुष्मा स्वराज अचानक नेपाल आउनुभयो । र, भोलिपल्टै जानु पनि भयो । पहिले पहिले भारतीय नेता अचानक नेपाल आउनुपर्दा पशुपतिनाथको दर्शन गर्न भन्दै नेता भेटेर जाने गर्दथे । अहिले यस्तोमा पशुपतिनाथको पनि काम रहेन । नेता सिधै आउँछन्, भेटेर गइहाल्छन् । 

अनौठो चाहिँ नेपालका नेता पनि कम छैनन् । भारतीय नेता जुनसुकै बेला बिना खबर दौडेरै आए पनि हाम्रा नेता उनीहरूलाई भेट्न फुर्सदमै रहेका हुन्छन् । भारतीय नेता बिहान आउन् वा बेलुकी, उनीहरूका लागि हाम्रा नेता जहिले पनि फुर्सदमा हुन्छन् । 

राज्य पुनःसंरचना, संविधान संशोधन, कानून तर्जुमा, विकास निर्माणजस्ता कतिपय विषयमा नेताको फुर्सद नभएर बैठकसमेत बस्न नपाएका उदाहरण प्रशस्त छन् । सबै नेता अति व्यस्त भएका हुन्छन्, अनि बैठकसम्म पनि बस्न पाउँदैन । तर जब भारतीय नेता आउने कुरा हुन्छ, नेता पूरा फुर्सदमा हुन्छन् । फुर्सद मिलाउने त भारतीय नेताले मात्रै हो । हाम्रा नेताको फुर्सद सदैव स्टकमै हुन्छ ।

पहिले पहिले नेपालका नेता दौडिँदै दिल्ली पुग्ने गर्थे । अहिले दिल्लीका नेता नै दौडिँदै काठमाडौं आउन थालेका छन् । दुई देशबीचको कूटनीतिमा नयाँ चरण शुरु भएजस्तो छ । पहिले हामी आफै दिन जान्थ्यौं । अहिले उनीहरू आफै लिन आउन थालेका छन् । नयाँ कूटनीति ! 

टिप्पणीहरू