जनआस्था समाचारको प्रभाव, नेताहरुले वरिष्ठ अधिवक्ता कार्कीको अवस्था बुझ्न थाले

जनआस्था समाचारको प्रभाव, नेताहरुले वरिष्ठ अधिवक्ता कार्कीको अवस्था बुझ्न थाले

-पूजा लम्साल

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीको स्वास्थ्य अवस्थालाई लिएर विराटनगरका वामपन्थी अगुवाहरुले चासो देखाएका छन् । ब्रेनस्ट्रोक (मस्तिष्कघात) भएर अस्पतालमा उपचाररत कार्कीको उपचारमा ध्यान दिन उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बरिष्ठ अधिवक्ता,वाम बुध्दिजीवीसमेत रहनुभएका उहाँको स्वास्थ्य अवस्थाप्रति सरकार र राजनीतिक दलका नेताहरुले बेवास्ता गरेको पीडित परिवारको गुनासोसहितको समाचार जनआस्थाले अस्ति लेखेको थियो । समाचार सार्वजनिक भएलगत्तै कार्कीको स्वास्थ्य अवस्थालाई लिएर धेरैले चासो दिएका छन् ।

“जसपा अध्यक्ष उपेन्द्र यादवले कार्की पत्नी इन्दिरालाई फोन गरेर स्वास्थ्य अवस्था बुझ्नुभएको छ भने एमाले महासचिव इश्वर पोख्रेल र सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीले गएर भेट्नुभएको छ ।”

जसपा अध्यक्ष उपेन्द्र यादवले कार्की पत्नी इन्दिरालाई फोन गरेर स्वास्थ्य अवस्था बुझ्नुभएको छ भने एमाले महासचिव इश्वर पोख्रेल र सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीले गएर भेट्नुभएको छ ।

यसैगरी विराटनगरका वामपन्थी अगुवाहरु केशव गौतम,शिवबहादुर कार्की, दामोदरप्रसाद घिमिरे,बिष्णुप्रसाद द्विवेदी,दुर्गाप्रसाद दहाल,रंगनाथ प्याकुरेल,चुडामणि पौडेललगायतको समूहले कार्कीको स्वास्थ्य अवस्थाबारे चासो दिन नेताहरुसँग आग्रह गरेको छ । आइतवार जनआस्था न्युजको समाचारलाई शेयर गर्दै वामपन्थी अगुवा केशव गौतमले कार्कीको उपचारको उचित प्रवन्ध मिलाउन सरकारसंग माग गरेका हुन् ।

कार्की अढाई महिनादेखि अस्पतालमा हुनुहुन्छ । लामो समयदेखि ब्लड प्रेसरको समस्या झेल्दै आउनुभएका कार्कीलाई मस्तिष्कघात भएर अस्पताल भर्ना गरिएको थियो । शुरुमा बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराएपछि हाल उहाँलाई थेरापीका लागि ग्वार्कोको बिएण्डबी नजिकै एक अस्पतालमा राखिएको छ ।

कार्की चर्चित कानुन व्यवसायी हुनुहुन्छ । खासगरी सार्वजनिक सरोकारका विषयमा आफैँ मुद्दा दर्ता गर्ने र अग्रपंक्तिमा रहेर कानुनी लडाइँ लड्नुहुने उहाँले प्रतिनिधिसभा विघटनविरुध्दको मुध्दामा पनि बहस गर्नुभएको थियो । २०२० को दशकदेखि नै नेपाल कम्युनिष्ट पार्टीमा सक्रिय कार्की पुरानो विद्यार्थी र कम्युनिष्ट नेता पनि हो ।

टिप्पणीहरू