काङ्ग्रेसबाट मन्त्री छान्न अझै कठिनाइ

काङ्ग्रेसबाट मन्त्री छान्न अझै कठिनाइ

सत्ता साझेदार चार वटै दल समान हैसियतका साथ सरकारमा सहभागी हुने पुरानो सहमति तोडेर ८ मन्त्रालय लिएको नेपाली काँग्रेसभित्र गुटगत विवाद चर्किंदा मन्त्रीको नाम टुंगो लाग्न सकेको छैन । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रुपमा पहिले नै ४ मन्त्री चयन गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूह असन्तुष्ट हुँदा मन्त्री छान्न सकस परेको हो ।

काँग्रेसले पाएको ८ मध्ये ३ मन्त्रालय आफूलाई दिनुपर्ने पौडेल पक्षको मागमा प्रधानमन्त्री असहमत भएपछि विवाद बढेको बताइन्छ । शीर्ष नेताको बैठकमा पौडेल समूहले तीन मन्त्रालय पाउनुपर्ने माग राखेको थियो । तर, प्रधानमन्त्री देउवाले २ भन्दा बढी मन्त्रालय दिन नसक्ने बताएपछि पौडेल समूह असन्तुष्ट भएको हो । असन्तुष्टिकै कारण पौडेल पक्षले अहिलेसम्म मन्त्रीको नाम दिएको छैन ।

यसैबीच पौडेल पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरेको छ । नेता अर्जुननरसिंह केसीले बैठकबाटै मन्त्री हुनेको नाम टुंगो लगाउन माग गर्नुभयो । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउँदासमेत पार्टीमा छलफल नगरेको भन्दै उहाँले एकलौटी रुपमा गरिएका निर्णय मान्य नहुने चेतावनी पनि दिनुभयो।

“गिरिजाप्रसाद कोइराला जस्तो टावरिङ पर्सनालिटी भएको नेताले समेत मन्त्री छनोटको मापदण्ड बनाउन बैठक राख्ने गरेको भन्दै उहाँले अहिले सभापतिको स्वेच्छामा सबैकुरा भर पर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गर्नुभयो ।”

‘प्रतिकूल अवस्थामा कांग्रेसलाई सरकारको नेतृत्व गर्ने अवसर मिलेको थियो । तर,सभापतिजीले सदुपयोग गर्न सक्नुभएन’,केसीले भन्नुभयो, ‘सिंगो मुलुकलाई समेटेर जानुपर्नेमा उहाँले आफ्नो गुटलाई प्राथमिकतामा राख्नुभयो । यसमा हाम्रो असहमति हो ।’

गिरिजाप्रसाद कोइराला जस्तो टावरिङ पर्सनालिटी भएको नेताले समेत मन्त्री छनोटको मापदण्ड बनाउन बैठक राख्ने गरेको भन्दै उहाँले अहिले सभापतिको स्वेच्छामा सबैकुरा भर पर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गर्नुभयो । सभापति देउवा प्रधानमन्त्री भएपछि एकपटक पनि सरकारबारे केन्द्रीय समितिको बैठकमा औपचारिक छलफल नभएको केसीको भनाइ छ । पार्टी र सरकार फरक जस्तो गरेर सभापति चलेको उहाँको आरोप छ ।

असन्तुष्टिका बाबजुद पौडेल पक्षले आफ्नो समूहभित्र मन्त्री छनोटबारे आन्तरिक छलफल भने गरिसकेको छ । सो समूहबाट नेताहरु दिलेन्द्रप्रसाद बडु,मीनेन्द्र रिजाल,तेजुलाल चौधरी,सुजाता कोइराला र राजन केसीमध्येबाट मन्त्री बन्ने सम्भावना रहेको बताइएको छ ।

पौडेल समूहभित्रका तीन उपगुट मिलाउन पनि कम्तिमा ३ मन्त्री चाहिने सो समूहको माग रहेको छ । पौडेल,कोइराला र सिंह उपगुटबाट एक–एक जनालाई मन्त्री बनाउने गरी कम्तिमा ३ मन्त्रालय आफूहरुले पाउनुपर्ने सो समूहको माग छ ।

सिफारिसमा परेका पाँचमध्ये बडु र चौधरी वरिष्ठ नेता पौडेलनिकट हुन् । दुईमध्ये एकजनालाई सरकारमा पठाउने पौडेलको तयारी छ । त्यस्तै,सिंहनिकट रहेका केसी र कोइराला पक्षकी सुजाताको पनि मन्त्री बन्ने कोशिश जारी छ ।

टिप्पणीहरू