सुदूर पश्चिमी सिमानामा कस्तो गरियो सुरक्षा ?

सुदूर पश्चिमी सिमानामा कस्तो गरियो सुरक्षा ?

चाडपर्वको बेला हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चाडपर्वको बेला अन्य समयभन्दा बढी भीडभाड हुने भएकाले विभिन्न अपराधिक क्रियाकलाप हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

सुरक्षा योजना बलियो बनाउन प्रदेशभर ३ हजार ८ सय ४७ जना प्रहरी परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक विक्रमकुमार चन्दले बताउनुभयो ।

उहाँले भारतबाट आउने नेपालीहरुलाई सहज रुपमा स्वदेश आउन व्यवस्था गरिएको बताउँदै चोरी,तस्करी नियन्त्रणका लागि सीमा नजिकका ३९ ठाउँमा प्रहरी खटाइएकोे जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘चोरी,तस्करी नियन्त्रणका लागि सीमा नजिकका प्रहरी खटाइएकोे छ,प्रदेश राजधानी कैलालीलाई दुई भागमा विभाजन गरेर एकीकृत सुरक्षा योजना लागू गरिएको छ ।’

त्यस्तै जिल्ला प्रहरी कार्यालय, कैलालीका उपरीक्षक विश्व अधिकारीले चाडपर्वका बेला हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर विशेष सुरक्षा योजना बनाएको बताउनुभयो ।

अधिकारीले भन्नुभयो,”गत वर्षझैँ हामीले चाडपर्वका बेला हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर विशेष सुरक्षा योजना बनाई प्रदेशभर लागू गरेका छौँ,दशैँ,तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरिएको छ ।’

कोरोनाको जोखिम कायमै रहेकोले सर्वसाधारणमा पनि सचेत भएर दशैँ मनाउन र दशैँको लागि किनमेल गर्न प्रहरीले आग्रह गरेको एसपी अधिकारीले बताउनुभयो ।

टिप्पणीहरू