कुबेलाको कुटाइ

स्याङ्जा कांग्रेसमा हात हालाहाल भएछ । केही घाइते भएछन् । चुनावमा कसरी हारियो भन्ने विषयमा विवाद हुँदाहुँदै अन्ततः कुटाकुटै गर्नुपर्ने अवस्था आएको रिपोर्ट छ । चुनावमा कसरी हारियो भन्ने एउटा सामान्य कारण पत्ता लगाउन पनि कांग्रेसलाई यति हम्मे परेको छ । सबैलाई थाहा छ, चुनावमा किन हारिन्छ । भोट नआएपछि हारिन्छ । अहिले पनि भएको यत्ति हो । भोट आएन । फलतः चुनाव हारियो । यही कुरा थाहा हुन नसकेर कांग्रेसमा मारामार परेको छ ।

त्यसो त कुनै पनि पार्टीको बैठकमा कुटाकुट हुनु कुनै ठूलो कुरा होइन । यस्तो भइरहन्छ । तर, समस्या के भइदियो भने यहाँ कुटाकुट एकआपसमै भइदियो । कांग्रेसले कुट्यो । कसलाई त भन्दा आफ्नै कार्यकर्तालाई । कांग्रेसले कांग्रेसलाई नै कुटिरहेको छ । यो के कुटाइ भयो र ? हेर्नुस्, यति नै कुटाइ अस्ति चुनावमा अरू पार्टीका कार्यकर्तालाई गर्न सकेको भए त जितिन्थ्यो नि ! कुट्नुपर्ने त चुनावको बेला हो । चुनाव सकेपछि कुटेर के काम ? चुनावको टाइममा अरू पार्टीका केही कार्यकर्तालाई यसरी नै चुट्न सकेको भए आज एक आपसमा चुटिरहनै पर्दैन थियो । के गर्नु, बेलामा बुद्धि आएन !

टिप्पणीहरू