काठमाडौंका सिडिओको आदेशै आदेश,कार्यान्वयन कमजोर

काठमाडौंका सिडिओको आदेशै आदेश,कार्यान्वयन कमजोर

चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ आदेश जारी गरेको छ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायलगायतका प्रतिनिधिहरुको बैठकपछि उक्त आदेश आएको हो ।

कोरोना महामारीको संक्रमण तथा मृत्युदर घट्दो क्रममा रहे पनि जोखिम उत्तिकै रहेकाले चाडपर्वको समयमा थप सतर्कता अपनाउन आग्रह गर्दै आदेश जारी गरिएको छ ।

आज मध्यरातदेखि लागु हुने जारी गरिएको आदेशमा सर्वसाधारणको दैनिक क्रियाकलाप एवम् चाडपर्व, सावर्जनिक यातायात सञ्चालन, बैठक,गोष्ठी,सेमिनार सञ्चालनलगायतका विषयमा कडाइ गरिएको बताइएको छ । यस विषयमा आज जनआस्थासँग कुराकानी गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आदेश उल्लंघन गर्नेलाई कडा कारबाही गरिने बताउनुभएको छ ।

पछिल्ला दिनहरुमा आदेश जारी हुने तर कार्यान्वयनमा नआउने गरेको भन्ने जनआस्थाको जिज्ञासामा उहाँले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन टोली बनाइएको र उक्त टोलीले आवश्यकतानुसार अनुगमन गर्दै आएको बताउनुभयो । रिजालले भन्नुभयो,‘सवारी साधन सञ्चालनको हकमा भने ट्राफिक प्रहरीलाई जिम्मा दिइएको छ । उपत्यका प्रवेश गर्ने नाकाहरुमा चेकजाँच गरिने छ । हाल सवारी साधनको समय समयमा छड्के चेकजाँच भने हुँदै आएको छ ।’

यसअघिका आदेश कार्यान्वयनको पालनामा नागरिक स्वयम सजग रहनुपर्ने र आदेश जारी गर्ने पक्षले पनि अनुगमनलाई कडाइका साथ लैजानुपर्ने धारणा राख्नुभएको छ । सर्वसाधारण सचेत नभएमा कोरोना महामारीले पुन:मानवीय क्षति हुनसक्ने पनि उहाँले औंल्याउनुभयो ।

राजनीतिक दलहरुले विरोधसभा लगायतका कार्यक्रम गर्दा जिल्ला प्रशासनमा जानकारी नगराउने भएकाले पनि बाहिर बढी भीडभाड देखिने गरेको उहाँको निश्कर्ष छ । ‘प्रशासनले राजनीतिक दलले गर्ने भीडभाडको बारेमा केही बोल्न नमिल्ने बताउँदै यसो नगर्न भने सबैलाई आग्रह गरिएको,’प्रजिअ रिजालले बताउनुभयो ।

भीडभाड रोकथामको पूर्णअधिकार जिल्ला प्रशासनसँग रहेकाले आवश्यकताअनुसार तीनै तहका सुरक्षा निकायको प्रयोग समेत गरिने प्रतिबध्दतासमेत जनाउनुभयो । चाडपर्वमा उपत्यका छाड्न सवारी टिकटको निम्ति काउण्टरमा जानेहरुको लागि सोहीअनुरुपको व्यवस्था मिलाइएको र सवारी साधनमा ब्जीडभाड देखिएमा चालक तथा सवारीधनीलाई समेत कारबाही गरिने उहाँले जानकारी दिनुभएको छ ।

टिप्पणीहरू