दुई लाइन

पहिले–पहिले चुनाव हुने भएपछि नेपालमा चीन र भारतको राजनीतिक लाइन आउन शुरु हुन्थ्यो । फलाना पार्टी भारतीय लाइनको, फलाना पार्टी चिनियाँ लाइनको । पार्टीहरू चीन र भारतको राजनीतिक लाइनमा विभाजित हुन्थे । तर, यसपालिको चुनावमा त्यस्तो राजनीतिक लाइन आएन । ‘लाइन’ नै नआएको त होइन । लाइन आएको छ । तर, त्यो राजनीतिक लाइन भने थिएन । अर्कै कुराको लाइन थियो । चीनबाट रेलको लाइन आयो । भारतबाट पेट्रोल पाइपको लाइन आयो । संयोग नै मान्नुपर्छ । उत्तरबाट एक टोली रेलको लाइन अध्ययन गरिरहेकै बेला दक्षिणबाट अर्को टोली पाइपको लाइन अध्ययन गर्न आइपुगे । दुवै लाइनको अध्ययन एकै समय भइदियो । र, अर्को संयोग, दुवै लाइन सकारात्मक पनि भयो । रेल लाइन पनि ओके, पाइप लाइन पनि ओके ।

राजनीतिमा सधैैँ दुइटा लाइन हुन्छ भनिन्छ । अक्सर कम्युनिष्ट पार्टीहरूमा दुई लाइनको संघर्ष चलिरहेको हुन्छ । यो अहिले मात्र होइन धेरै अघिदेखिको चलन हो । अहिले देखा परेको यो रेलको लाइन र पाइपको लाइन जो छ, यो पनि कतै त्यही संघर्षवाला दुईलाइन त होइन ? 
त्यसो त नेपाललाई रेल लाइन पनि चाहिएको छ, पाइप लाइन पनि चाहिएको छ । अहिले चुनावको बेला दुवै लाइन आउने कुरा चलेको छ । राजनीतिमा दुई लाइन ठीक नभए पनि अहिले आउन लाग्या दुइटै लाइन हाम्रा लागि ठीक छ । तर, यहाँनेर एउटा प्रश्न भने छ, यो दुइटै लाइन चुनावपछि पनि आउने त पक्का छ होइन ?  

टिप्पणीहरू