केपी ओलीलाई काँढाले घोच्दा कमल थापा ऐय्या गर्छन्ः बिरोध खतिवडा

केपी ओलीलाई काँढाले घोच्दा कमल थापा ऐय्या गर्छन्ः बिरोध खतिवडा

नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य बिरोध खतिवडाले केपी ओलीको सहारा भनेकै राजतन्त्र पक्षधर राप्रपा रहेको बताउनु भएको छ ।

हेटौँडामा नेकपा (एकीकृत समाजवादी) को जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो–‘संविधान रक्षाका लागि लाग्ने दलहरु एकातिर छन् भने ओलीको पक्षमा राप्रपा र महन्थ-राजेन्द्रहरु छन् ।’ केपी ओलीलाई काँडाले घोच्दा कमल थापाले ऐय्या भनेर प्रतिक्रिया दिने गरेको उहाँले बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) ले शून्यबाट यात्रा शुरु नगरेको भन्दै उहाँले कतिपय प्रदेशमा देशकै ठूलो पार्टी बनेको र कतिपय प्रदेशमा एमालेभन्दा ठूलो बनेको बताउनुभयो । संवैधानिक हिसाबले एमालेसँग विभाजन भएर आएकाले नेकपा एकीकृत समाजवादी शून्यबाट शुरु भएको पार्टी नभई पुरानै संरचनाको पुनर्गठित पार्टी भएको उहाँको भनाई थियो । आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन बनाएर अघि बढ्ने र पार्टी एकता नहुने उहाँले बताउनुभयो ।

‘स्थानीय तहको निर्वाचनमा पाँच दलबीच मोर्चा बनाएर अघि बढ्नेछौँ’, उहाँले थप्नुभयो–‘काँग्रेस मोर्चाबाट बाहिर गएमा पनि बाममोर्चा भएर छोड्नेछ ।’ उहाँले नेकपा (एकीकृत समाजवादी) ले मुलुककै कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने दाबी पनि गर्नुभयो ।

आगामी चुनावमा वाम–लोकतान्त्रिक मोर्चा नबनेर काँग्रेस एक्लै जाने अवस्थामा पनि माओवादी केन्द्र,नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, जनमोर्चालगायतको मोर्चा बन्ने र बिप्लव र बैद्यसँगको मोर्चाबन्दीका बारेमा पनि छलफल अघि बढेको उहाँले बताउनुभयो । कम्युनिष्टहरु एकातिर भइरहँदा केपी ओली र कमल थापावाला राप्रपा पनि मोर्चाबन्दी गरेर अघि बढ्ने सम्भावना बढी रहेको उहाँले बताउनुभयो ।

टिप्पणीहरू