स्वास्थ्यका हाकिमहरु तितरबितर

स्वास्थ्यका हाकिमहरु तितरबितर

स्वास्थ्यका केही हाकिम तितरबितर भएका छन् । राज्यमन्त्री उमेश श्रेष्ठको निर्णयबाट तीन सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । स्वास्थ्यका नियुक्तिमा बदनाम पात्रहरुले ठाउँ पाइरहँदा पछिल्लो समय त्यस्तै दुई हाकिमलाई महत्वपूर्ण जिम्मेवारीमा फर्काइएको छ । मन्त्रालय स्रोतका अनुसार सहसचिव तहका डाक्टरहरु राधिका थपलिया,सुनिलकुमार शर्मा र प्रमोद जोशीलाई यताउता पारिएको हो ।

यसअघि हृदयेश त्रिपाठी मन्त्री हुँदा स्वास्थ्य,शिक्षा सूचना तथा सञ्चार केन्द्रमा बसेका सुनिलकुमार शर्मालाई तानेर स्वास्थ्य सेवा विभागतिर पठाइएको थियो । स्वास्थ्यसम्बन्धी प्रचारप्रसार प्रसारको बजेट शर्माले मनपरिसङ्ग खर्च गर्दै आएको आरोप थियो । मन्त्री फेरिएसँगै उनी त्यही ठाउँमा फर्किन सफल भएका छन् ।

हृदयेशको पाला सो ठाउँमा खटाइएकी डा. राधिका थपलियाको जिम्मेवारी खोसेर उनलाई फेरि मन्त्रालयमै फाजिलमा तानिएको छ । राधिका स्वास्थ्यकी पीडित कर्मचारी हुन् । उनले तीन वर्षदेखि मन्त्रालयमा बस्ने कुर्सीसमेत पाएकी थिइनन् ।

मन्त्रीस्तरीय निर्णय गर्दै केन्द्रको निर्देशक रहेकी डा. राधिका थपलियालाई विभागअन्तर्गत फाजिलमा राखिएको छ । कर्मचारी समायोजन गरिँदा कर्णाली प्रदेशतिर पठाइएकी थपलिया अन्यायमा परेको भन्दै सर्वाेच्चको ढोका ढक्ढकाउन पुगेकी थिइन् ।

सर्वोच्चले पक्षमा अन्तरिम आदेश दिएसँगै मन्त्रालयमा हाजिर हुँदै आएकी उनी तीन बर्षसम्म जिम्मेवारबिहिन अवस्थामा रहेकोमा तीन महिना अघि हृदयेश त्रिपाठी स्वास्थ्यमन्त्री,लक्ष्मण अर्याल सचिव र कप्र महाशाखा प्रमुख दामोदर रेग्मी हुँदा न्याय पाएकी थिइन्,जिम्मेवारी सम्हालिरहेको अवस्थामा तीन महिनामै फेरि उनलाई जिम्मेवारविहिन बनाइएको हो । ट्रमा सेन्टरमा पनि कनिष्ठलाई लगेर हाकिम बनाइएको छ ।

अर्काे भाँडभैलो छ औषधि व्यवस्था विभागमा । यसअघि त्यहा्ँका हाकिम थिए नारायण ढकाल । त्यहाँ हुँदा कोरोनाको औषधी लगायतका सामाग्रीमा अनुमति दिन हिचकिचाहट गरेको एवं बालुवाटारसँग नजिक रहेका एक जना व्यक्तिले चलाएको आयुर्वेद हस्पिटलको अनुगमन गरेवापत बबरमहलबाट खुमलटारस्थित राष्ट्रिय प्रयोगशालामा धपाइएको थियो । सोको विरुद्ध अदालत गए ।

अदालतले मन्त्रालयमा जिम्मेवारी दिन आदेश दियो । तर हालत उस्तै थियो । घरबाट हरेक दिन रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय छिरे पनि त्यहाँ न त बस्नलाई कार्यकक्ष छ,न कुर्सी नै थियो । ढकाल औषधि व्यवस्था विभागबाहेक अन्यन्त्र जाँदै नजाने अड्डी लिँदै बसेका थिए । उनलाई पनि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले पुन: विभागकै जिम्मेवारी दिएर पठाएका छन् ।

ढकाल तेस्रो पटक बिभागको महानिर्देशक बनेका हुन् ।

टिप्पणीहरू