ज्येष्ठ भन्ने कि श्रेष्ठ बन्ने ? « Jana Aastha News Online
Logo
२१ मंसिर २०७८, मंगलवार
|  Tue Dec 7 2021

ज्येष्ठ भन्ने कि श्रेष्ठ बन्ने ?

प्रकाशित मिति :  ३ भाद्र २०७४, शनिबार १६:४१


  • संकेत कोइराला

ऋषि आफ्नो एक शिष्यसँग कतै गइरहेका थिए । एक ठाउँ चारवटा रूख लहरै उभिएका थिए । पहिलो भर्खरै उम्रिएको, दोस्रो पात हालेको, तेस्रो वयस्क र चौथो ठूलो । ऋषिले शिष्यलाई ती रूख क्रमशः सानोदेखि उखेल्न अह्राए । शिष्यले पहिलो र दोस्रो सजिलै उखेले । तर, तेस्रो र चौथो सकेनन् । त्यसपछि शिष्यलाई बुझाउँदै भने– हेर, कुलत पनि यी रूखहरूजस्तै हुन् । शुरुमै उखेलेर फाले मात्र सजिलै निमिट्यान्न पार्न सकिन्छ । यदि, यसले जरा गाड्यो भने तेस्रो र चौथो रूखजस्तै उखेल्न निकै कठिन हुन्छ । 

कर्म नराम्रो छ भने भाग्य पनि रुन्छ । हिँड्ने गोरुकै पुच्छर निमोठिन्छ । लच्केको हाँगालाई झन् लच्काउँछ मान्छे । जंगलमा सुरिलो र सिधा रूख नै काटिन्छ । अरू त अरू तपाईंका इन्द्रीय नै स्वार्थी छन् । अन्धकार भएपछि आँखैले धोका दिन्छ, देखिँदैन । दिन ढलेपछि छायाँले छाड्छ । जीवन एउटा वाक्य हो । जवानी डिक हो भने वृद्ध कमा, अनि मृत्यु फुलस्टप । झुटले सत्यलाई दुःख दिन त सक्छ तर परास्त गर्न सक्दैन । केराको पातजस्तो सपाट जीवन कसैको हुँदैन । हाँसेर गरेको पापको सजायँ रोएर भोग्नुपर्छ । जसरी हातले बाँधेको गाँठो दाँतले टोकेर फुकाउनुपर्छ । दिनेको हात कहिल्यै खाली हुँदैन, विडम्बना माग्नेको पेट कहिल्यै भरिँदैन । आजकल पद, पैसा र पावरका लागि मानिसको भागदौड छ । तर, शान्ति उसले पाएको छैन । शान्ति सम्पन्नतामा हुँदैन । शान्ति पाउन चार गुणको विकास गर्नुपर्छ– स्वयंसँग मैत्री, करुणा, प्रसन्नता र कृतज्ञता । ज्येष्ठ बन्न सजिलो छ तर श्रेष्ठ बन्न कठिन । श्रेष्ठ बन्न दृष्टिकोण बदल्नुपर्छ । भगवान्को लीला नै हेर्नुस् न ! ब्रह्मा सृष्टिकर्ता, विष्णु पालनकर्ता, महेश्वर संहारकर्ता । तर, विडम्बना पूजा भने तिनै संहारकर्ताको हुन्छ । कारण एउटै हो– डर । औकातले धान्ने उपलब्धि मात्र दिगो हुन्छ । चाहिनेभन्दा बढी प्रकाश मान्छेको आँखामा प¥यो भने अन्धो हुन्छ । 

मुखबाट बोली निकाल्नुअघि एकपटक सोच्नुस् । लेख्नुअघि दुईपल्ट सोच्नुस् । केही काम गर्नुअघि तीनपल्ट सोच्नुस् । सधैं हेक्का राख्नुस्– घमण्डले मान्छे फुल्न सक्ला तर पैmलिन सक्दैन । जो मान्छेसँग धनबाहेक अरू केही छैन नि, त्योभन्दा महादरिद्र संसारमा अरू कोही हुँदैन । कञ्जुसलाई दानी मन पर्दैन । लोभी मगन्तेसँग डाढ गर्छ । रूपवानका लागि बुढ्यौली शत्रु सावित हुन्छ । व्यभिचारी महिलालाई पति मन पर्दैन । गरिबलाई धनी रुचाउँदैन । तर, जसको मन शोकले ब्याकुल छ, उसलाई केही मन पर्दैन । त्यो मानिस सुखी हो, जो विगत स्मरण गर्छ, वर्तमानमा बाँच्छ । 

सुगन्धविनाको पूmल, तृप्ति र उद्देश्यविनाको प्राप्ति अनि प्रसन्नताविनाको जीवन व्यर्थ हुन्छ । मान्छेले सुख एकै वस्तुको प्राप्तिबाट पाउँछ भने दुःखका निम्ति धेरै कुराको संयोग मिल्नुपर्छ । धनभित्रको दरिद्रभन्दा गरिबीभित्रको दुःखी हुनु लाखौं गुना बेस छ । बाले भन्थे– बाबु, जत्रो ओढ्ने छ , त्यतिमात्र खुट्टा पसार्नु । तर, विडम्बना म सत्य चाहन्छु, असत्य छ । जीवन चाहन्छु, मरण छ । संयोग खोज्छु, वियोग छ । पूर्णता खोज्छु, जबर्जस्तसँग अपूर्णता आइलाग्छ । संसारमा कुनै विषयको अन्तिम व्याख्या छैन । अरू त अरू मृत्युको पनि । यसरी नकमाउनु कि पाप होस् । यसरी खर्च नगर्नु कि ऋण लागोस् । यसरी नखानु कि अपच होस् । यसरी नहिँड्नु कि पुग्न ढिलो होस् । जीवनको सत्य के हो भने गाई विभिन्न रंगका भए पनि दूध सेतै हुन्छ । अलग–अलग धर्मको शैली अलग भए पनि आखिर त्यसको निश्कर्ष एउटै हुन्छ– मानिसले शुभ कर्म गर्नुपर्छ । मानवसेवा नै सवै धर्मको गन्तव्य हो । 

जो मानिस आफ्नो अवगुण र अरूको गुण देख्छ, ऊ महान् हुन्छ । मानिसको शरीर पनि कल्पवृक्षजस्तै हो, जे माग्यो त्यो पाइन्छ । कुनै पनि धर्मले यो वाचा गर्दैन कि तपाईंसामु कुनै दुःख आउँदैन । बरु धर्मले यो विश्वास दिलाउँछ कि दुःखमा पनि संयम र आसको दियो निभ्दैन । विद्या, तप, ज्ञान, शील र संयम यसैबाट निसृत हुन्छ ।

बाँदरले हाँगा लच्काउने मात्र हो, रूख भाँच्ने होइन । यो तागत ऊसँग हुँदैन । समाज बिग्रन त तपाईं र मेरो सम्बन्ध पो बिग्रनुपर्छ । थोरै त्यो सम्बन्ध अरू कसैले तामो तुलसो छोएर गाँसिदिएको हो र ? हाम्रो समाजमा एकथरी मान्छे छन्, जसलाई गंगा आए गंगै ठीक, जमुना आए जमुनै ठीक । अर्काथरी मान्छे जो यति अतिवादी छन् कि समाधानभित्र पनि समस्या खोजिदिन्छन् । तेस्रोथरीको त रोगै विचित्रको छ, उनीहरू संसारका भएजति सबै दुःख बटुल्छन् अनि खोज्छन्– सुख । 

समाजको वास्तविकता हेर्नुस् त, ठूलो घर छ– परिवार छैन । औषधि महँगियो– स्वास्थ्य बिग्रियो । रक्सी धेरै छ– घाँटी भिजाउने पानीको अभाव छ । मानिस बढेका छन्– मानवता शून्यमा झर्दै छ । आम्दानी बढेको छ– आत्मशान्ति छैन । फेसबुके साथी बढे– सुदामाजस्ता साथी एउटै रहेनन् । अब मान्छे कम, रोबोट ज्यादा बाँच्न थाल्यो । बाबुआमासँग छोरो छुटिँदा घरखेत, भाँडाचिन्डा, गाईभैंसी, सुनचाँदी, रुपैयाँ पैसा सबै बाँडिए । आमाले नौ महिना गर्भमा राखेर प्रसूति पीडाको त्यो आधा जीवन, आधा मरणको क्षण बाँडिएन । आपूm नांगिएर न्याना कपडाले छोराछोरीको आङ छोपिदिने बाउको फराकिलो छातीप्रति कसैले गौरव गरेन । ५० डिग्रीको तापक्रममा जीवन जाँतोभैंm पिँधेर बचराको मुखमा चारो पु¥याउने बाबुको संघर्ष गाथा कसैले लेखेन । सन्तानको स्वास्थ्य बिग्रिएला भनी कैयौं रात अनिदो काट्ने आमाको त्याग अंशबण्डासँग कतै जोडिएन । बरु स्तनपान दिवस मनाएर आमाको अवमूल्यन गरियो । पाठेघर र सिन्दुरको अधिकार खोजेर सम्बन्धलाई छालाको थैलाभित्रको गंगाजलजस्तो बनाइयो । सम्बन्धहरू औपचारिकतामा सीमित बन्दै गए । बा–आमाका लागि नभाँचिने लौरा बजारमा थुप्रै खरिद–बिक्री भए । तिनै दिव्य आत्माको कामेका हातलाई भर दिने सन्तानका बलिष्ट हातहरू धर्मराउँदै गए । 

जो कसैको कुरा सुन्दैन त्यो असफल । जो सबैको कुरा सुन्छ त्यो पनि असफल । भनिन्छ– नेपालमा हुनेखाने र हुँदा खाने दुई वर्ग छन् । तर, म भन्छु– त्यो वर्ग भडखारोमा परेर अहिले मासुभात खाने र आँसुभात खानेमा विभाजित भइसकेको छ । सुखी हुने उपायः आपूmसँग जे छैन, त्यो बिर्सनु नै सुख हो । मानिस बाँच्छ वर्तमानमा तर उसलाई विश्वास हुन्छ अर्को जन्मको । स्वर्ग जान पाऊँ भनेर हजारौं मन्दिरमा लाखौं घण्ट बजाइन्छन् । दीप बालिन्छन् । भाकल गरिन्छन् । कति निर्दोष पशुपक्षी बलि चढाइन्छन् । तिमी अर्को जन्ममा के बन्ने ? प्रश्न नखस्दै धेरैको जवाफ आउँछ– पुतली, चरा । अनिश्चित स्वर्गका लागि आर्थिक, नैतिक र भौतिक रूपमा समर्पित हुने मान्छे आफ्नै आँखाअगाडि देखिएका अनगिन्ती अमानवीय दृश्यमा आँखा चिम्लिन्छ । एउटा बालक सडकमा अनिश्चित भविष्य बाँचेको हुन्छ । तर धेरैको संवेदनाले छुँदैन । अनित्य छ जीवन, अनित्य छ जगत् । छ कुनै शाश्वत भने सायद अनित्य मात्र छ । बाँकी सबै भस्म भएर जान्छन् । बाँकी रहने भनेको प्रेम मात्र हो । भनिन्छ, दूध फाटेको देखेर उही मानिस उदासीन हुन्छ, जसलाई रसबरी बनाउन आउँदैन ।


प्रतिक्रिया दिनुहोस !