बडो गजबको चिज लाग्यो मलाई

  • किशोर थापा, सरकारका पूर्वसचिव/साझा पार्टीका नेता

सरकारी सेवामा अधिकृतदेखि सचिवसम्मको अनुभव हासिल गरेका किशोर थापा पहिलो चरणको स्थानीय निर्वाचनमा रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मदेवार थिए । अनुमानविपरित १८ हजार चार सय ९६ मत प्राप्त गरेर निकै चर्चा बटुले । काठमाडौंकै चोभारमा जन्मिएका थापा त्यहाँ सिमेन्ट कारखाना स्थापना भएपछि परिवारसहित बल्खु सरेका हुन् । ०३१ सालको एसएलसीका  बोर्डफस्र्ट । तर, गणित र अंग्रेजीमा कमजोर । कोलकाता युनिभर्सिटीमा आर्किटेक्चर इञ्जिनियरिङ पढे । त्यसपछि दिल्लीको स्कुल अफ प्लानिङ एण्ड आर्किटेक्चरबाट शहरी योजना विषयमा मास्टर्स गरे । ०३९ पुस २३ मा तत्कालीन हवाई विभाग (अहिलेको नागरिक उड्ययन प्राधिकरण) बाट अस्थाई आर्किटेक्ट इञ्जिनियरका रुपमा सरकारी सेवामा प्रवेश गरेका हुन् । त्यहाँ जागिर खान थालेको केही समयमै स्थायी भए । त्यसपछि लिखित परीक्षा दिएर बढुवा हुँदै गए । निजामती सेवाको सहसचिवमा बढुवा हुँदा ३८ वर्षका थिए । सचिवका रुपमा तीनवटा मन्त्रालय (शिक्षा, पर्यटन र शहरी विकास) मा काम गरे । दुईवटा आयोग (जल शक्ति र निर्वाचन) पनि चलाए । श्रीमती र दुई छोराछोरी छन् । छोराछोरी नै काठमाडौं विश्वविद्यालयमा साइन्स पढ्दै छिन् । 

० उम्मेदवार नै भएर चुनावमा जाँदाको अनुभव कस्तो छ ?

– चुनाव इञ्जिनियरिङ एशोसिएसनको कार्यकारिणी समितिका लागि लडेर जितेको पनि थिएँ । तर, त्यो र यो चुनाव फरक रहेछ ।

० तपाईंहरुजस्तो एलिट क्लासले यस्तो चुनाव र पोलिटिक्सलाई डर्टी गेम भन्ने गरेको थियो । यहाँ आफैँ त्यो गेममा सहभागी हुँदा अब यसप्रतिको धारणा के हो ?

– डर्टी बनायो भने डर्टी नै हुने रहेछ । आफ्नो मूल्यमान्यतामा चल्न सक्यो, चलाउन सक्यो भने यो सबभन्दा क्लिन गेम हो । यसलेचाहिँ सबभन्दा राम्रो काम के गर्दोरहेछ भने, जनतासँग जोड्ने । जनताको बीचमा चासो बन्ने रहेछ । घर–घरमा पक्ष र विपक्ष भएर मान्छेबारे टीकाटिप्पणी हुने । यो त बडो गजबको चिज लाग्यो मलाई त ! चिया पसलमा एउटा मान्छेको बारेमा छलफल र बहस हुने † पहिला–पहिला बाटो हिँड्दा कसैले चिन्दैनथे । अहिले परबाटै ‘ऊ आयो, किशोर थापा’ भन्ने जमात नै हुने । भेटिएका मान्छेहरु पनि आफैँ बोल्न, हात मिलाउन आउने । कोही फोटो खिच्न आउने, कोही त्यसै नबोलेर हिँड्ने पनि हुँदारहेछन् । तर, जसरी भए पनि पिपुलमा कनेक्टेड फिगर त बन्यो नि !

० भोटचाहिँ अनुमानभन्दा बढी नै पाउनुभएको हैन ?

– सरकारी सेवामा हुँदा पनि फिल्डमा धेरै काम गरेँ । काठमाडौंको लोकल लेभलमा धेरै नै काम गरेँ । त्यसैले मान्छेहरु धेरै चिन्छु । कर्मचारी मात्र हैन, आमजनता र राजनीतिक मानिसलाई पनि उत्तिकै चिनेको छु । तर, उनीहरुले मलाई कर्मचारी वा इञ्जिनियरका रुपमा चिन्थे । पछि उम्मेदवार भएर चिने । उम्मेदवारको रूपमा धेरै सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएँ । ती अन्तर्वार्ताबाट पनि मलाई चिन्ने, नचिन्ने सबैले मार्क गरे । कसैले राम्रो भने होलान्, कसैले नराम्रो माने होलान् । तर, मसँग जुन भिजन छ, त्यो हाइपोथेटिकल थिएन । गर्न सकिने काम गर्छु भनेको थिएँ । शायद, यो इञ्जिनियर हो, यसलेचाहिँ भन्ने होइन, गर्ने नै हो भनेर पनि ममाथि विश्वास भएको हुनुपर्छ ।
 
० तपाईंले कांग्रेसको भोट बिगारेको भन्ने आरोप छ नि !

– तर, भोट काउन्टिङमा देखिएअनुसार उहाँहरुले सोचेको भन्दा फरक कुरा छ । मलाई आएको ६० प्रतिशत भोट एमालेको छ । मेयरमा मलाई, बाँकी सूर्यलाई हालेको भोट ६० प्रतिशत † अब कसरी मैले कांग्रेसको भोट काटेँ होला ? बाँकी ४० प्रतिशतमा कांग्रेसका मतदाता पनि थिए होलान् । चुनावी प्रतिस्पर्धा हो, एउटाको भोट नकाटी अर्कोको आउँदैन । त्यसैले यसमा कोही रिसाउनु र खुशी हुनुपर्ने कारण देख्दिनँ । रिसाउनै परे त एमालेहरु रिसाउनुपर्ने, उनीहरुको त्यत्रो भोट मलाई आएको देखेर । तर, आजसम्म कुनै एमालेले हाम्रो भोट खायो भनेका छैनन् । 

० किन त्यस्तो भयो होला ?

– शायद, एमालेका समर्थक र मतदातामा पेशाकर्मी, बुद्धिजीवी बढी भएर हुनुपर्छ । मेरो सर्कल पनि त्यही हो नि !

० एमालेले स्मार्ट सिटी, मेट्रो ट्रेनजस्ता कुरा गरेको थियो । यसमा किशोर थापालाई मिलाउन पाए हुन्थ्यो भनेर पो मतदाता सचेत भएका हुन् कि ?

– एमालेसँग त साझा पार्टीको केही पनि कुरा मिल्दैन । तर, एमालेले अगाडि सारेका भिजनहरु इम्प्लिमेन्ट गर्ने कुरामा हामीजस्ता इञ्जिनियरहरु चाहिन्छ । भोटरहरुमा यसले काम गर्न सक्छ भनेर आएको भोट हो त्यो । त्यसैले मैले विश्वासको मत पाएँ । झुक्किएर, कसैले भनिदिएर हालेको भोट मेरो होइन । 

० विवेकशीलबाट उठेकी रञ्जु दर्शना र तपाईंलाई मिलाएर उठाएको भए जित्ने रहेछ भन्ने अनुमान पनि गरिन्छ । त्यस्तो हुन्थ्यो होला ?

– मलाई त्यस्तो लाग्दैन । हामीलाई हाल्नेले रञ्जुलाई हाल्दैनथे, रञ्जुलाई हाल्नेले पनि हामीलाई हाल्दैनथे । किनभने, हाम्रो बाटो नै फरक हो । उनीहरुलाई भोट हाल्ने भनेका युवाहरु, जो प्रायः सामाजिक सञ्जालमा अभ्यस्त छन् । उनीहरुलाई गृहिणीहरुले पनि भोट हाले । हामीलाई भोट हाल्ने सर्कल अलिक फरक हो । अलिक म्याच्योर्ड पनि हो । मलाई भोट हाल्ने युवा पेशामा लागिसकेका बढी छन् । 

० तर, दोस्रो चरणमा तपाईंहरुको लहर काठमाडौंको जस्तो देखिएन नि !

– चुनाव भनेकोचाहिँ एउटा, दुईवटा कम्बिनेशन मिलेरमात्र नहुँदोरहेछ । उम्मेदवारको कुरा, एजेण्डाको कुरा र सबैभन्दा महŒवपूर्ण चुनाव भइरहेको समाजको कुरा मुख्य हुन्छ । इटहरीको समाज कांग्रेस, एमाले, फोरम भनेरै बाँडिएको छ ।
 
० तर, तपाईंहरु शहरी क्षेत्रमा आफ्नो मत लिने अपेक्षामा हुनुहुन्थ्यो, हैन ? 

– हो । काठमाडौंजस्तो अन्त रहेनछ ।

० राजपा दुई चरणको चुनावमा आएन । फेरि पनि आउने टुंगो छैन । यसमा के भन्नुहुन्छ ? 

– राजनीति गर्ने पार्टीले चुनावमा भाग लिनुपर्छ । उहाँहरुको माग, अडानका कुरा होलान्, तर चुनाव अस्वीकार गरेर फाइदा हुँदैन । 

० तेस्रो चरणमा आउला ? 

– आउने अपेक्षा राख्छु म ।

० भूकम्पपछि पुनर्निर्माणका काममा सक्रियता देखाउनुभएको थियो । अब ती काम छाड्नुभयो ?

– म ०७१ सालमा रिटायर्ड भएँ । ०७२ मा भूकम्प आएपछि आफूले पढेर पाएको अनुभवलाई जनताको पुनस्र्थापनामा लगाऔँ भन्ने थियो । तर, पुनर्निर्माणको चरणमा राजनीतिक नेतृत्व नै अल्मलियो । भूकम्पपछि पुनर्निर्माणको काम धीमा गतिमा अगाडि गएको छ । हामीले भत्किए, बिग्रिएका संरचना बनाउने मात्र हैन कि, देशभरि निर्माणको नयाँ मापदण्ड बनाएर जानुपर्छ । निर्माणको मतलव, भवन निर्माणको नयाँ मापदण्ड अपनाउनु जरुरी छ । भूकम्प फेरि आउन सक्छ । पुराना संरचनामा बनाइएका भवन फेरि क्षति हुन सक्छ । त्यसैले भवन निर्माण गर्दैखेरी भूकम्पका जोखिमहरुलाई ख्याल गरेर बनाउँदा त्यसबाट हुने क्षति न्युन हुन्छ । त्यसैले अहिले देशमा भूकम्पले क्षति पु¥याएका संरचना निर्माण गर्ने मात्र होइन, पूरै निर्माण मापदण्ड नयाँ बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । बस्ती विकासका नयाँ नमुनाहरु बनाउनुपर्छ । 

० यस्तो कुरामा समस्या कसरी आउँछ ?

– पुनर्निर्माण ऐन त बन्यो, तर सरोकारवाला पक्षबीच द्वन्द्व भयो । पुनर्निर्माण प्राधिकरणलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा त्यसो भएन । त्यसलाई साधन र स्रोतले सम्पन्न गराउनुपर्नेमा सरकारको चासो त्यतातिर गएन । जनशक्ति र आर्थिक अधिकारको सिमितताका कारण पनि काम हुन सकेन । 

० अहिले निजगढको दू्रतमार्ग (फास्टट्रयाक) र विभिन्न सुरुङमार्ग निर्माणका काम अगाडि सारिएका छन् । काम होला भन्ने विश्वास कत्तिको गर्नुहुन्छ ?

– हामी फास्टट्रयाकमा १० वर्ष पछाडि धकेलिएका छौँ । २०६५ सालमा फास्टट्रयाकको रुट एक्टअन्तर्गत बनाउने प्रस्ताव समितिको संयोजक थिएँ । फास्टट्रयाक निर्माणले नै ट्रयाक छाड्यो । ठेकेदारदेखि सरकारी निकायबीचमै कुरा मिलेन । अब अहिले सेनाले बनाउला भन्ने अन्तिम विश्वास छ । अब पनि भएन भने त्यो बन्दैन । किनभने, सेना जिम्मेवार संगठन हो । हामीले पनि सकेको सहयोग गर्नुपर्छ । 

० ठेकेदार विदेशीलाई दिने कि स्वदेशीलाई दिने भन्ने विवाद चल्यो नि, यो कसरी भयो ? 

– यस्तो विवाद हुँदा अर्कै मन्त्रालयमा थिएँ । मलाई थाहा छैन । तर, त्यस्तो विषयमा विवाद गरिरहनुपर्ने प्रोजेक्ट त्यो होइन हो । 

टिप्पणीहरू