बाढी पहिरो र डरलाग्दो बिपत्ति

बाढी पहिरो र डरलाग्दो बिपत्ति

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी साढे दुई महिनामा ९१ जनाको ज्यान गएको छ । प्रहरीले दिएको तथ्यांकअनुसार गत जेठ ३० गतेदेखि शनिवार दिउँसोसम्म बाढी पहिरोमा परि देशभर ९१ जनाको मृत्यु भएको हो ।

प्रहरी तथ्यांकका अनुसार मृत्यु हुनेहरूमा ४६ जना पुरुष, २३ जना महिला, १० जना बालक र १२ जना बालिका रहेका छन् ।

बाढीपहिरो र डुबानमा परी सो अवधिमा १ सय १६ जना घाइते भएका छन् । तीमध्ये ६० जना पुरुष, ३२ जना महिला, १४ जना बालक र १० जना बालिका रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । साथै बाढीपहिरोमा परी २८ जना बेपत्ता भएका छन् । तीमध्ये १७ जना पुरुष, ६ जना महिला, ४ जना बालक र १ जना बालिका छन् ।

प्रहरीका अनुसार बाढीपहिरोमा परेका १ हजार २ सय ७५ जनाको विभिन्न ठाउँबाट उद्दार गरि उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो । साथै बेपत्ताहरुको खोजि कार्य जारी रहेको पनि प्रहरीको भनाइ छ ।

बाढीका कारण ३ हजार १८० वटा घर डुबानमा परेका छन् । जसमध्ये ९ सय घर, १ सय ५३ गोठ, ६० वटा पुल, ८ वटा विद्यालय र १४ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने १ हजार ८७ वटा पशु चौपायको मृत्यु भएको छ । तथ्यांक अनुसार उक्त अवधिमा भएका जम्मा १ हजार १ सय ३० वटा विपद्का घटनाबाट १ हजार २ सय ९ घर परिवारका ५ हजार ९ सय २४ जना विस्थापित भएका छन् ।

प्रहरीले प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारका लागि सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु सक्रिय रुपमा संलग्न रहेको जानकारी पनि दिएको छ । साथै विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा बाढी पहिरोको जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत प्रहरीले गरिरहेको जनाइएको छ ।

टिप्पणीहरू