उहाँहरूले तल्लोस्तरको कर्तुत गर्नुभयो

  • रञ्जु दर्शना (रञ्जना न्यौपाने), विवेकशील पार्टीकी उम्मेदवार


राजनीतिक रंगमञ्चमा उति नदेखिएकी रञ्जना न्यौपाने ‘रञ्जु दर्शना’ को नामले यसटपक पहिलोचरणको स्थानीय निर्वाचनमा यसरी छाइन् कि, उनी ‘टक अफ दी टाउन’ नै बनिन् । विराटनगर मूल थलो भएकी उनलाई विवेकशील नेपाली दलका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरको प्रत्याशी बनाउँदा उनले २३ हजार चार सय ३९ मतसाथ आफूलाई तेस्रो उपविजेताका रूपमा उभ्याइन् । जबकि, उनको भन्दा कम मतका साथ राप्रपा, माओवादी केन्द्र, नयाँ शक्ति, नेमकिपाजस्ता स्थापित दलका उम्मेदवार पराजित भए । न कुनै राजनीतिक पृष्ठभूमि, न इतिहास नै ! विशुद्ध सामाजिक सञ्जालमा प्रचार गरेर त्यत्तिका मत बटुलेकी उनलाई कुनै बलियो जनाधार भएको दलले यो निर्वाचनमा खडा गरेको भए जित्ने अनुमान गरिएको छ ।

० तपाईंले पाउनुभएको मतलाई आफैँले विश्लेषण गर्दा के भन्नुहुन्छ ? 

– निर्वाचन अगाडि हामी एउटा जञ्जिरमा थियौं । संसद्मा प्रतिनिधित्व गर्ने दललाई मात्र चुनाव चिह्न दिने तर दर्ता भएका अन्य संसद् बाहिरका दललाई चुनाव चिह्न नदिने निर्वाचन आयोगले निर्णय ग¥यो । पहिलादेखि नै हामीले जुन चिह्नको प्रचार प्रसार गरिरहेका थियौं, त्यो पाएनौं । पहिलो त चुनाव चिह्नकै लागि संघर्ष गर्नुप¥यो । दोस्रो, स्वतन्त्र रूपमा चुनाव चिह्न लिने मितिसमेत दुई दिन पर धकेलियो । यसले गर्दा हामीलाई घरदैलो कार्यक्रम गर्ने समय झनै कम भयो । ‘हाम्रो चुनाव चिह्न यो हो है’ भनेर सक्ने जति ग¥यौं । निर्वाचनकै दिन कतिपय मतदाताले ‘तपार्इंहरूलाई मत दिन त मन थियो तर चुनाव चिह्न नै थाहा पाइएन’ भन्दा मन एकदमै पोल्यो । अहिले जुन नतिजा आयो, यो नतिजाबाट हामी खुसी छौं । हामीले मतसँगै जनताको मन पनि जितेका रहेछौं । हामी यो मन र मत दुबैको सम्मान गर्दै अगाडि बढ्छौं । 

० तपाईं अहिलेसम्म काठमाडौंमै सीमित हुनुभयो । अर्को चरणमा कहाँ–कहाँबाट लड्दै हुनुहुन्छ ? 

– दोस्रो चरणको निर्वाचनमा हामी झापाबाट लड्दै छौँ । हाम्रो संगठन पूर्व र पश्चिमको केही जिल्लामा विस्तार भएको छ । पहिलो चरणको निर्वाचन सम्पन्न भएपश्चात् साथीहरू एक्साइटेड हुनुहुन्छ । झापाको दमक नगरपालिका– ३ बाट दधिराम ढकालले अध्यक्षका लागि उमेदवारी दिनुभएको छ । मेची नगरपालिकामा पनि तयारी छ । काठमाडौंको अनुभव सेयरिङ गर्न हामी आफैं जिल्ला भ्रमण पनि जाँदै छौँ । 

० काठमाडौंमा कति भोट ल्याइएला भन्ने आशा थियो ? 

– निर्वाचनमा भाग लिने जो–कोहीको पनि जित्छु नै भन्ने अपेक्षा त हुन्छ । हामी जित्नका लागि मैदानमा आएका हौं । जति जनाले हामीलाई मत दिनुभयो, त्यो जेन्युन मत थियो । नेपालमा एक छापे मत हाल्नेहरूकै संख्या बढी देखियो । काठमाडौं महानगरको मेयरको लडाइँको मैदानमा २८ प्रतिस्पर्धी थिए । यसरी बाँडिदा बाँडिदै पनि जुन मत ल्यायौं, यसलाई सम्मानपूर्वक पाएको मत ठानेका छौँ । झन्डै २३ हजारको मन जितेर हामीले मत पायौं । यो युगको समस्या समाधान गर्न यही युगका प्रतिनिधि आउनुपर्छ भनेर हामीलाई उहाँहरूले रोज्नुभयो । काठमाडौंमा सकारात्मक परिवर्तन खोज्ने जनसमुदायले हामीलाई मन पराएका हुन् । ठूला दललाई हामीले अहिलेसम्म ड्राइभिङ सिटमा राख्यौं । उहाँहरूप्रतिको कारण मुलुक यस्तो अवस्थामा पुगेको वितृष्णाका कारण पनि हामीले यो मत पायौं । 

० मेयरका २८ मध्ये २५ उम्मेदवारको जमानत जोगिएन । तपाईं त तेस्रो हुनुभयो । सम्झिँदा कत्तिको मन भरंग हुन्छ ? 

– धेरै । एक त मत पाएर एक्साइटेड, अर्काे ‘हामी तपाईंहरूलाई साथ दिइ नै रहन्छौं, काम गर्दै जानुहोस्’ भन्ने जनचाहना भेटियो । २८ प्रतिस्पर्धीमध्ये एमाले, कांग्रेस, माओवादी, हामी र साझा– यी दलबीच कडा टक्कर देखिएको हो । नेपाली राजनीतिमा के संकेत भइरहेको छ भन्ने पनि यो मतबाट प्रष्ट हुन्छ । जनताले सुशासन खोजिरहेका छन् । अबको प्रतिस्पर्धा सत्ताका लागि होइन, सुशासनका लागि हुनुपर्छ र हुन्छ । हामीले म्यान्डेट नै लिएका छौं । 

० चुनाव भन्ने चिज के रहेछ ?

– हरेक पार्टीले भाषणमा युवालाई महŒव दिए पनि तिनलाई नेतृत्व तहमा पु¥याउने कुरामा चुकेको देखियो । युवालाई नेतृत्वमा पु¥याउन हामी चुकिरहेका छौँ । घरदैलो कार्यक्रममा जाँदा धेरै आमाबुबा अँगालो हालेर रुनुभयो । यसबाट पनि हाम्रो मनोबल बढ्दै गयो । दुईवटा समूह यथावत छ, एउटा वैकल्पिक शक्ति खोज्नुपर्छ भन्ने र अर्काे एकछापे प्रवृत्ति । उम्मेदवार को हो भन्ने थाहा नभए पनि एकछापे हानिदिने । उम्मेदवार नै नउठेको ठाउँमा पनि भोट हालिएको भेटियो । जस्तो कि, एमालेको उम्मेदवार नै नभएको ठाउँमा पनि मतदान भएको भेटियो । यद्यपि, अबको पाँच÷दस वर्षसम्म वैकल्पिक शक्ति÷उम्मेदवार खोज्नेहरू बढ्दै जानेछन् । हामीले हारेर के भयो त, भोलि प्रस्तुत हुने वैकल्पिक शक्ति वा जमातबाट उठ्ने उम्मेदवारका लागि आधार तयार भएको छ ।

० निर्वाचनमा भाग लिँदा ‘हार्नका लागि किन भाग लिन्छ्यौ’ भनेर हतोत्साहित गर्नेहरू पनि भेटिए ? 

– धेरै भेटिए । ‘नानीले सय भोट पनि कटाउँदिनन्’ पनि भने । ‘ख्याल ठट्टाका लागि होइन चुनाव’ भन्नेहरू भेटिए । तर, यस्ता कुरा सुन्दा म चुप लागेर बसेँ । भोटले उहाँहरूलाई चूप लगाउँछ भन्नेमा विश्वस्त थिएँ । 

० तपार्इंलाई ‘भोट दिन्नँ’ भन्नेहरू पनि निस्किए होलान् नि !

– राम्रो भनौं कि नराम्रो, हामी नेपालीको बानी नै छ, जसलाई पनि ‘हुन्छ÷हस्’ भन्ने । त्यसैले ‘तिमीलाई म भोट दिन्नँ’ भन्ने कोही पनि निस्किएनन् । 

० कतिपयले नाम चलाउनका लागि मात्र रञ्जु दर्शना चुनाव लडेकी हो भन्ने टिप्पणी पनि सुन्न पाइन्छ । वास्तविकता के हो ? 

– यो टिप्पणी म निर्वाचनमा लडिरहँदा गरिएको टिप्पणीसँग मेल खान्छ । विवेकशील पार्टी निर्वाचनमा भाग लिनकै लागि भनेर निर्वाचनको मुखमा खोलिएको पार्टी होइन । ‘हामी गर्न सक्छौं’ भनेर शान्तिपूर्ण र भद्र आन्दोलन गर्दै हामी अगाडि होमिएका हौँ । फिल्डमा काम गरिरहेका छौँ । नतिजाजस्तो आए पनि हामी काममा भिज्नेछौं । काठमाडौंमा अझै सक्रिय रहने छौ । टिप्पणी गर्न अधिकार सबैलाई छ । आज हामीमाथि क्षुद्र टिप्पणी गर्नेहरूको जवाफ हामी कामबाटै फर्काउनेछौं । 

० अबको समय राजनीतिमा कि अरू कुनै क्षेत्रमा ?

– अहिलेसम्म हाम्रो जेनेरेसनमा राजनीति भनेको फोहोरी खेल हो भन्ने मान्यता नै थियो । तर, अहिले मान्छेमा आशाको सानो दियो बलेको छ । हामीजस्ता युवा पनि राजनीतिमा आउनुपर्छ भन्ने परेको छ । अब हामी नगरवासीको साथी बन्छौँ । अबको पाँच वर्ष महानगरवासीको पुलको रूपमा राजनीतिलाई समाजसेवाको रूपमा अगाडि बढाउन चाहन्छौं । 

० कुनै पुरानो पार्टीबाट उठेको भए जितिने रहेछ भन्ने लागेन ? 

– पक्कै पनि लागेन । सम्भावाना पनि भएन । पुरानो पार्टीमा धेरै युवा प्रत्याशी थिए । टिकट नपाएर वागी उठेको पनि देखियो । ती पार्टीमा नेताको खल्तीबाट उम्मेदवार बनाइएको देखियो । तर, विवेकशीलमा खुला उम्मेदवार नीति बनाएका छौं । त्यही नीतिअनुरूप गर्न सक्छु उमेर पुग्छ भनेर उम्मेदवारी दिएकी हुँ । जुरीले छानेर मलाई उम्मेदवार बनायो । बहुदल त आयो भनियो । बहुदल त भयो तर चाकरी संस्कृति फेरिएन । गणेशहरूले मात्र टिकट दिने, नेताहरूको मनस्थिति फेरिएन । 

० संविधानसभा निर्वाचनमा तपार्इंहरूको पार्टीबाट उज्ज्वल थापा लड्नुभएको थियो । उहाँले हजार हाराहारीको मत ल्याउनुभयो । अहिले दल त्यही हो तर पात्र फेरियो । तपाई चुनावमा भिड्दा झन्डै २३ हजार मत आयो । पात्र फेरिँदैमा यत्रो फरक कसरी ?  

– उज्ज्वलजीहरू उठ्दा पार्टी दर्ता भएको थिएन । स्वतन्त्र उम्मेदवारी थियो । क्षेत्र नम्बर ५ बाट ११६५ मत आएको थियो विवेकशीललाई । विवेकशील नेपालीको स्कुलिङ नै सुशासन सहितको फूल रोप्ने राजनीति गर्नुपर्छ भन्ने हो । यो समयमा यो पदका लागि डिमाण्ड भएका कुरा रञ्जु दर्शनाबाटै पूरा हुने भएर होला यति धेरै माया, यति धेरै विश्वास पाएको । 

० परिवारको कतिको सहयोग थियो निर्वाचनमा ?

– त्यस्तो भएन, धेरै सहयोग भयो । मामाहरूले धेरै सहयोग गर्नुभयो । मत मागिदिनुभयो । सल्लाह सुझाव दिनुभयो ।    

 ० निर्वाचनको मुखमा यहाँले जुन भाषण गर्नुभयो त्यो भाइरल बन्यो । यहाँ देउवा प्रचण्डप्रति बढी नै आक्रामक र केपी ओलीप्रति रक्षात्मक रूपमा प्रस्तुत हुनुभयो भन्ने गरिन्छ । वास्तविकता के हो ? 

– केपी ओलीप्रति रक्षात्मक देखिएको, ओलीसँग जोडिएका समाचार भ्रामकसिवाय केही होइन । ओलीलाई त्यसमा किन जोडिएन भने त्यो कर्तुत गर्ने पात्रहरू नै देउवा र प्रचण्ड थिए । त्यहाँ केपी ओलीको संलग्नता नै थिएन । पूरै भाषण हेर्नुप¥यो । उहाँहरूले गरेका कर्तुत तल्लोस्तरको थियो । सानो गौचरणमा पुनः भाषण गर्दा शब्द चयनमा ध्यान दिनेछु भनेकी पनि हुँ । जुन बदमासी देखाइयो, रातारात महाभियोग जोक बनाइयो, फेसन बनाइयो । त्यसमा सतर्क हुन आग्रह गरेको हो । मलाई कतिले एमालेले उठाएको भन्ने आरोप लाग्यो । मत काट्न उठाइएको आरोप लाग्यो । मत कसैको पेवा होइन । मत नकाट्ने काम आफैं गर्नुस् । एमालेसँग विवेकशीलको कुनै रिलेसनसीप छैन । हामी डेमोक्र्याट हौं । यो कुरा पनि स्पष्ट पार्न चाहन्छौं । त्यसमाथि रञ्जु कसैले उठाएर उठ्ने होइन, थचारेर थचिने मान्छे पनि होइन । मेरो राजनीतिक यात्रा विवेकशीलबाट सुरु भएको हो । यस्ता हावादारी कुरा विनाप्रमाण लेखिँदा खिन्न महसुुस हुँदोरहेछ । 

० चुनाव लड्नकै लागि ३० लाख खर्च गर्नुभयो । पैसा कहाँबाट आयो ? 

– त्यो वडाध्यक्षका उम्मेदवारहरूसहितको हो । मेरो मात्र खर्च ६ लाख हाराहारीमा छ । तर, सात लाख नाघेको छैन । झण्डै ६१ लाख हाराहारीमा देश विदेशमा रहेका विवेकशीलका सहृदयीहरूबाट आएको डोनेसन, सदस्यता, नवीकरणबाट उठेको पैसा हो त्यो । कति आम्दानी भयो कति खर्च भयो भन्ने पूर्ण विवरणचाहिँ एक÷दुई दिनभित्र सार्वजनिक हुन्छ ।  

० राजनीतिक भनेकै दुःखद पेसा हो । यस्तो पेसामा के आकर्षण देखेर हामफाल्नुभो ? 

– राजनीतिलाई म अहिले नै दुख भनेर हिँड्छु भने मलाई तनाव र स्टे«स थप्छ । राजनीति यस्तो कला हो, जसले देशलाई विशिष्ट बनाउँछ । राजनीतिले सामाजिक परिवर्तनदेखि सबै गर्न सकिन्छ भनेर होमिएको हुँ । म राजनीतिमा इन्जोय गर्दै होमिएकी हुँ । आफ्नै टोलको बाटो दश वर्षसम्म पीच हुँदैन, आफ्नै आमाको नामबाट नागरिकता पाइँदैन भन्ने यस्तै यस्तै चिजले घोचेर म राजनीतिमा होमिएकी हुँ । केही परिवर्तन गर्न सकिन्छ कि भन्ने विशुद्ध सेवाको भावले होमिएकी हुँ । केही पाँउला भनेर होइन । केही सुधार गर्न सकिन्छ कि भन्ने हेतुले । 

० वाल्यकाल कहाँ कसरी वित्यो ? कसरी सम्झनुहुन्छ । 

– टिचिङ हस्पिटलमा जन्मिएकी हुँ । महाराजगञ्जमा हुर्किएँ । नर्सरी देखि पाँचसम्म निर्मल वाटिका स्कुलमा पढेँ । मेरो रुट बनेको र म जस्तो छु त्यस्को परिणाम सोही स्कुल हो । सरिता प्याकुरेल, शान्ति तामाङ, पूर्ण मल्ल गुरुलाई म्झन्छु । यद्यपि, अहिले उहाँहरूसँग सम्र्पक छैन । बाँकी ६ देखि एसएलसीसम्म भानुभक्त, प्लस टु हेराल्ड र अहिले व्याचलर पढ्दै गरेको नेसनल कलेजको डेभलपमेन्ट स्टडी ।
 
० रञ्जु न्यौपाने बाट दर्शना कसरी बनियो ? 

– दर्शनाको खासै अर्थ थाहा पाएर नाम राखेको होइन । बाल्यकालमा मामाघरमा दिदीहरूको नाम पूजा, अर्चना, बन्दना, आरति, प्रर्थनालगायतको थियो । उहाँहरूको नामसँग मेरो नाम मिल्दैनथ्यो । त्यही नाम मिलाउनका लागि दर्शना बनाइदिएको रे, मामाघरकी ठूली दिदीहरूले । यद्यपि, आठ कक्षामा हुँदा यो नाम परिवर्तन गर्न सकिएन । त्यही कारण सर्टिफिकेट÷नागरिकतामा यो नाम छैन । त्यहाँ दर्शना लेख्न नसके पनि आफैँलाई बुझाउनका लागि दर्शना लेख्छु ।

टिप्पणीहरू