​त्यो नारायणहिटी, यो नारायणहिटी

  • सम्झौं त, ठीक १६ वर्षअघि, जेठको १९ को त्यो रात ! नारायणहिटीभित्र शाही परिवारको जमघट थियो । त्रिभुवन सदनमा भेला भएका राजपरिवारका सदस्य व्यक्तिगत कुराकानी र सामान्य मनोरञ्जन गर्दै समय काट्दै थिए । एकैछिनमा गोली चल्यो । ठिङ उभिएका राजा वीरेन्द्र गोली लागेर ढले । महारानी ऐश्वर्य गोली हान्नेबाट भाग्दै थिइन् । उनी पनि बाहिर चौरमा ढलिन् । यसरी शाही परिवारका १७ जना ढले । सबैले त्यहीँ प्राण त्यागे ।
  • १६ वर्षपछिको त्यही त्रिभुवन सदनको कुरा हो (हिजोको) । त्यतिबेला १७ जना ढलेर लत्पतिएको गलैँचा कहाँ छ ? जवाफ कोहीसँग छैन । नेपाल सरकारले नारायणहिटी राजदरबारलाई संग्रहालयका रूपमा परिणत गरिसकेको छ । र, सर्वसाधारणले अवलोकन गर्ने गरी खुला गरिएको पनि १० वर्ष भइसक्यो । तर, राजा वीरेन्द्रसहित राजपरिवारका १७ सदस्यको रगत लत्पतिएको गलैँचा हिजो साँझ यो पंक्ति लेख्दासम्म पत्ता लागेको छैन । सरकारले खटाएका संग्रहालय प्रमुख (उपसचिव) रोहित ढुंगाना भन्छन्, ‘यहाँ छ न त छ रे, मैले देख्या’छैन ।’ उनले सुनाए, ‘अहिले त्रिभुवन सदन भत्किएको अवस्थामा छ । भत्किएर बनाउँदै गरेको ठाउँमा सामानहरू राख्ने कुरा भएन । मैले साथीहरूलाई सोधेको थिएँ । उहाँहरूले छ भन्नुभएको छ ।’

१६ वर्षअघि, जुन रात त्यहाँ गोली चल्यो, त्यसबेला पूर्वयुवराज (तत्कालीन शाहज्यादा) पारसहरू त्यहीँभित्रको बिलियार्ड रुममा थिए, खेल्दै । अहिले त्यो बिलियार्ड रुमका सामान पनि गायब छन् । ढुंगानाले भने, ‘राख्ने ठाउँ सानो छ । सबै सामानहरू त्यहीँ छन् ।’ तर, वास्तविकता के हो भने, धरहरा ढल्दा इँटा चोर्ने मनोबृत्तिका हामी नेपालीले नेपालको इतिहासमा सधैँ कहलिने एउटा घटनाका सबुतहरू त्यत्तिकै छाडौँला र ? वास्तविकता हो कि, सरकारी उदासीनताका कारण त्रिभुवन सदनका सामान कतिपय चोरी भएसकेका छन्, कतिपय यसरी थन्क्याइएका छन् कि, प्रदर्शनमा ल्याइँदा त्यसको वास्तविक स्वरूप बिग्रने खतरा छ । त्यसमाथि सर्वाधिक चासोको विषय रहेको रगत लत्पतिएको गलैंचाका रगत पखालिइसकेका छन् । उक्त गलैँचा केही वर्षअघिसम्म त्रिभुवन सदनसँगै रहेको अर्को भवन ‘नानीगञ्ज’ मा फ्याँकिएको थियो ।
त्रिभुवन सदनचाहिँ यो आर्थिक वर्ष सकिएपछि बल्ल निर्माणकार्य सम्पन्न हुने छाँट रहेको ढुंगानाले बताए । उनका अनुसार, अर्को आर्थिक वर्षमा निकासा हुने रकमबाट निर्माण कार्य सम्पन्न गर्ने योजना छ ।

उता, ९९ वर्षीया मुमाबडामहारानी रत्नको मौनव्रत अझै तोडिएको छैन । पूर्वराजपरिवारका सदस्यमध्ये उनी मात्र हो, नारायणहिटीभित्रै बस्ने । उनी त्यहाँ पनि पति महेन्द्रले निर्माण गरेको बंगला महेन्द्र मञ्जिलमै बस्छिन् । उनीसँग दर्शनभेटका लागि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति पूर्णचन्द्र ढुंगेल, उच्चघरानियाँ व्यापारीसहित सयभन्दा बढी लब्धप्रतिष्ठित व्यक्तिले समय मागिरहेका छन् । सहयोगी शम्भु अधिकारी ‘सरकारको मौनव्रत छ’ भन्दै फोन राख्छन् । हिजो जनआस्थाले सोध्दा पनि उनले भने, ‘मौनव्रत छ बा, के कुरा गर्नु ?’ 
गणतन्त्र आएपछि रत्न जम्मा तीनपटक महेन्द्र मञ्जिलबाट बाहिर निस्किइन् । भूकम्पका बेला महेन्द्रले बनाएको भजन गाउने टहरोमा बसिन् । मिडियालाई बोलाएर देखाएपछि सरकारले सहयोग गर्ला भन्ने सुझाव दिनेहरूलाई ‘हुँदैन–हुँदैन’ भन्दै पन्छाइन् । र, भनिन्, ‘ज्ञानेन्द्रलाई खबर गर ।’ हिजोआज पूर्वराजा ज्ञानेन्द्र बेला–बेला त्यहाँ पुग्छन् । लाग्ने खर्च उनैले व्यहोर्ने गरेका छन् । 

टिप्पणीहरू