भूपूहरूलाई फौजले दिनै मानेनन् भाउ

भूपूहरूलाई फौजले दिनै मानेनन् भाउ

वन वा कृषि मन्त्रालयबाट रिटायर्ड भएको सचिव र कुनै सुरक्षा निकायको उच्चजिम्मेवारीबाट अवकाशप्राप्त अधिकृतमध्ये कोमाथि बढी सुरक्षा चुनौति होला ? यसमा कुनै सन्देह छैन कि, सुरक्षाकर्मी नै बढी खतरामा पर्छ ।

केही समयअघि सिंहदरबारमा बसेको सुरक्षा समितिको एउटा बैठकमा निजामतीतिरका हाकिमले कुरा उठाए, ‘विशिष्ट श्रेणीबाट रिटायर्ड भएको मान्छेलाई किन सुरक्षा दिइँदैन ?’ अनि, नेपाल प्रहरीका उपत्यका हेर्ने एआईजी हरि पाल कड्किए, ‘खतरा कसलाई बढी हुन्छ ? हामीलाई कि तपाईंहरूलाई ? हाम्रै हाकिम रिटायर्ड भएपछि लिन्ठिङ–लिन्ठिङ हिँडिरहेका छन् । तपाईंहरूलाई कृषि सचिवको चिन्ता ?’ उनीहरूको भनाइ थियो, एउटा सुरक्षाकर्मीले सेवाकालमा विद्रोही समूहसहित विभिन्न आपराधिक तथा संदिग्ध व्यक्ति, समूह र विषयहरूमा राम्रो या नराम्रो काम गरेको हुन्छ । त्यसले गर्दा अवकाशका जीवनमा पनि ऊ ती तत्वबाट खतरामा रहन सक्छ ।

तर, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानको प्रमुखबाट अवकाश पाएका व्यक्तिहरूलाई दिने सवारी साधन ती निकायसँग छैनन् । त्यसमाथि सशस्त्रले चाहिने–नचाहिने मान्छेलाई आफ्ना सिपाहीहरू खटाएर पोसेको छ । तर, आफ्नै भूपू हाकिमहरूको सुरक्षा र सुविधाका निम्ति अत्यावश्यक जनशक्ति दिइरहेको छैन ।

सशस्त्रका सात भूपू आइजिपी जीवित छन् । संस्थापक कृष्णमोहन श्रेष्ठ र दोस्रो आइजी सहवीर थापाको निधन भइसकेको छ । तर, भूपूहरू बासुदेव वली, सनतकुमार बस्नेत, किशोरकुमार लामा, शैलेन्द्रकुमार श्रेष्ठ, कोषराज वन्त, दुर्जकुमार राई, सिंहबहादुर श्रेष्ठहरूलाई कल्याण कोषको पम्पबाट महिनाको सय लिटर डिजेल दिने प्रस्ताव आईजी शैलेन्द्रले हुन्छ हुन्छ भन्दै गत हप्ता अड्काइदिएका छन् ।

जबकि, नेपाली सेनाले विभिन्न स्तरका जर्नेलबाट रिटायर्ड हुने हाकिमलाई अनेकन सुविधा दिने गरेको छ । प्रधानन्यायाधीशहरूलाई पनि अवकासपछि गाडीलगायतको सुविधा छ । नेपाल प्रहरीले गाडी नदिए पनि भूपूआइजी र एआइजीहरूलाई सहयोगीसम्म दिने गरेको छ । त्यसैले त महाराजगञ्जस्थित तालिम केन्द्रलाई अपमानपूर्वक पनौति सार्न खोजिँदा १४ भूपूआइजिपी एकजुट भएर प्रधानमन्त्रीसँग कराउन पुगे ।

तर, सशस्त्रका भूपूहरूले त्यस्तो मनोबल साँच्नै देखाउन पाएनन् । अरुका भूपूले गाडी पाउँदा सशस्त्रले जाबो महिनामा १० हजारको तेल नपाउनु पर्ने कुरै थिएन । तर, आइजिपी शैलेन्द्र ठाउँमा बोल्नै नसक्ने कारण यस्तो भएको भूपूहरूको गुनासो छ ।

टिप्पणीहरू