श्रीपेच जोगाउन झनझनै सास्ती

भूकम्पमा हल्लिएर केही क्षति पुगेको पूर्वराजाहरुको श्रीपेचमा फेरि ढुसी पर्न थालेको छ । यस्तो खबर सुनेर आफैँले लैजान चाहँदाचाहँदै पनि सरकारले अनुमति नदिएको कारण सरकारकै जिम्मामा छाड्ने पूर्वराजा ज्ञानेन्द्र कति दुःखी होलान्, त्योभन्दा बढी दिक्दार छन्, प्रेमलाल श्रेष्ठ ।
०७१ चैत २० गते केमिकलबिहीन पानीले ट्रिटमेन्ट गरेको श्रीपेच दिल्लीबाट झिकाइएको बुलेटप्रुफ सिसाभित्र सुरक्षित राखिएको छ । हावा छिर्ने ठाउँ नहुँदा समय समयमा त्यसलाई खुला राख्नुपर्छ । तर, सिसिटिभीले २४ सै घण्टा निगरानी गर्ने कारण त्यो खोल्ने हिम्मत हत्तपत्त कसैले गर्दैनन् । यो खबर सुनेर प्रेमलाल हैरान छन् । को हुन् प्रेमलाल, जसलाई श्रीपेचको दुःख सुन्नासाथ आफ्नै सन्तती तलमाथि भएसरि चित्त बिझाउँछ ? उनी हुन्, ऐश्वर्यको चाहनाविपरित, वीरेन्द्रको जबरजस्तीमा श्रीपेच सजाउने मुख्य कालिगढ ।

०६५ जेठ २९ गते पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटीमै संबोधन गर्दै ‘परम्परागत रुपमा शाहवंशीय संस्कृतिको सूचकका रुपमा रहेको श्रीपेच र राजदण्ड सुरक्षित रुपमा राख्ने गरी, संरक्षणका लागि आजैका मितिमा नेपाल सरकारको जिम्मा रहने गरी हस्तान्तरण गरेको छु’ भनेको त्यही श्रीपेच २०३१ सालमा प्रेमलालले बनाएका रहेछन् । आजकल ठमेलस्थित सञ्चयकोष भवनसँगैको नेपाल क्याप हाउस चलाउने नयाँ बानेश्वरका प्रेमलाललाई  उतिबेला रानी ऐश्वर्यले ‘यस्ताले पार लगाउँदैनन्, बेलायत पठाएर बनाउनुपर्छ’ भनी  गनगन गरेको, तर वीरेन्द्रले रानीको कुरा नमानीकन आफूलाई काम लगाएको उनी अहिले पनि झल्झली सम्झिरहेका छन् । २०२८ सालमा महेन्द्रको निधनलगत्तै वीरेन्द्रको राज्याभिषेक भयो । त्यसबेलाको फोटोमा याद गरे हुन्छ, वीरेन्द्रको शीरमा उक्त श्रीपेच निक्कै कस्सिएको थियो । कारण हो, बुबाको टाउकोको गोलाकार २१ इञ्च र वीरेन्द्रको २२ इञ्च हुनु । महेन्द्रको भन्दा त्रिभुवनको टाउको थोरै सानो थियो, पौने २१ इञ्च ।

त्यसैले एउटै श्रीपेच पनि राजापिच्छे घटबढ गर्नुपर्ने बाध्यता आइलाग्दोरहेछ । वीरेन्द्रले राज्याभिषेकपछि एकचोटि राज्यारोहणमा श्रीपेच पहिरिए, ०२८ सालमा । महेन्द्रले त्रिभुवनको श्रीपेचलाई मर्मत गरेर पहिरिएजस्तै वीरेन्द्रले उक्त श्रीपेच पहिरिनुअघि साइज बढाउन लगाए, यिनै प्रेमलाललाई । पहिलो चरणमा साइज बढाएर श्रीपेच पहिरिँदै श्रीसदनको भ¥याङबाट झरे । तर, श्रीपेच हल्लियो । राज्यारोहण क्रममा हात्ती चढेर हनुमानढोका पुग्नुपर्ने । भ¥याङबाट झर्दा त हल्लिने श्रीपेच हात्ती चढ्दा के होला ? प्रेमलाललाई भने, ‘यो भएन । फेरि बनाऊ ।’ तर, रानी ऐश्वर्य ‘हुँदैन–हुँदैन, यिनीहरुबाट हुँदैहुँदैन’ भनेर गनगन गर्न थालिहालिन् । तर, दोस्रोपटक बनाएपछि बल्ल फिट भयो । ऐश्वर्यको पनि मुख बन्द । त्यो श्रीपेच बनाउन प्रेमलालहरुलाई डेढ महिना लागेको थियो । सधैँ नारायणहिटीभित्रै काम गर्थे । वीरेन्द्र आफैँ पनि ललितकलाका विद्यार्थी । सजावटका कुरामा चासो रहने नै भयो । सधैँ आफैँले हेर्थे र स्याबासी दिन्थे । काम सकिएपछि सोधे, ‘कति खर्च चाहिन्छ ?’ उनलाई मनमनै ‘के भनौँ, के भनौँ’ भयो । दश औँला जोडेर जवाफ दिए, ‘सरकार, मौसुफको श्रीपेच बनाउने सौभाग्य पाएँ, योभन्दा ठूलो मौका मेरोलागि केही हुँदैन ।’ यसरी बनाइएको श्रीपेच वीरेन्द्रले आफ्नो जन्मोत्सव, छोराहरुको उपनयन, छोरीको विवाहजस्ता महŒवपूर्ण समारोहमा पहिरिए ।

राज्यारोहण क्रममा ०५८ जेठ २२ गते ज्ञानेन्द्रले हनुमानढोकामा लगाएको श्रीपेच बडागुरुज्यू केशरीराज शर्माले पहि¥याएका थिए । त्यसपछि छोरी प्रेरणाको विवाहमा एकचोटि लगाए । र, ०६५ मा सरकारलाई संरक्षणका लागि सुम्पिएर नारायणहिटी छाडे । उक्त श्रीपेच सार्वजनिक प्रदर्शनमा ल्याउने योजना छ । तर, नारायणहिटी दरबार संग्रहालयको व्यवस्थापनका लागि सरकारले यथेष्ट बजेट निकासा नगर्दा श्रीपेच, राजदण्डजस्ता संवेदनशील बस्तुको संरक्षणमै समस्या आएको कर्मचारीहरु बताउँछन् ।

नारायणहिटीभित्र नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानका कर्मचारीलाई अलग–अलग ड्युटी लगाउने सरकारको योजना छ । तर, कुनै फौजी निकायलाई कस्तो जिम्मेवारी दिने भन्नेबारे निर्णय नहुँदा अहिले खटिएको प्रहरीको गार्ड टोली पनि अन्योलमा छ ।

टिप्पणीहरू