राजधानीमा आज पनि तालाबन्दीदेखि धर्ना,

राजधानीमा आज पनि तालाबन्दीदेखि धर्ना,

जुलुसका धेरै वटा कार्यक्रम उपत्यकामा आज पनि बिरोधका विभिन्न कार्यक्रमहरु घोषणा गरिएको छ । यसबीचमा केही सरकारी तथा राजनीतिक कार्यक्रमहरु पनि हुने भएका छन् ।

नेपाली काँग्रेसको पार्टी कार्यालय, सानेपा ललितपुरमा हुँदै आएको धर्ना कार्यक्रम आज पनि बिहान ९ बजेबाट सुरु भएको छ । नेपाल टेलिकमको मुख्य कार्यालयमा कर्मचारीहरुले विनियमावलीको विरोधमा सञ्चालन गर्दै आएको धर्ना कार्यक्रम आज पनि बिहान १० बजेदेखि हुने जनाइएको छ ।

उता, नेपाल वायुसेवा निगमको मुख्यालयमा सँधैझैँ आज पनि बिहान साढे १० बजेदेखि दिउँसो साढे १२ बजेसम्म निगम निजीकरणको बिरोधमा धर्ना र नाराबाजी कार्यक्रम राखिएको छ । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बिहान ११ बजे संसद भवन, नयाँ बानेश्वरमा बस्दैछ ।

त्यसैगरी प्रतिनिधि सभाको बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाइएको छ । उता, नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक बोलाइएको छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक डाकिएको काँग्रेसले जनाएको छ । राष्ट्रिय युवा संघ नेपालले अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को सन्दर्भमा मणिडों वैदिक उद्यान निर्माण शुभारम्भ कार्यक्रम राखेको छ ।

दिउँसो ४ बजे शंखमूल टाउन प्लानिङ्गमा उक्त कार्यक्रम हुनेछ । सुशिल कोइराला सोसलिष्ट युथ सर्कल केन्द्रीय समितिले नेपाली काँग्रेसका पूर्वसभापति तथा पूर्व प्रधानमन्त्री स्व. सुशिल कोइरालाको ८२ औं जन्मजयन्तीको अवसरमा एक कार्यक्रमको आयोजना गर्ने बताएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलको प्रमुख आतिथ्यमा साँझ ५ बजे माइतीघर मण्डलामा दीप प्रज्वलन कार्यक्रम राखिएको छ ।

उता त्रिभुवन विश्वविद्यालयका विज्ञान प्रविधि तथा अध्ययन संस्थान अन्तर्गतका परीक्षाहरू कोभिड १९ का कारण भौतिक उपस्थितिमा सम्भव नभएको भन्दै परीक्षा सार्नुपर्ने वा अनलाइन प्रणालिबाट मात्र गर्नुपर्ने माग राख्दै बिएस्सी सिएसआइटी अध्ययनरत अस्कल क्यापस, छैठौ सेमेस्टरका अनेरास्ववियुका विद्यार्थीहरूले हिजोदेखि डिन प्रा. डा. बिनिल अर्यालको कार्यकक्षमा गरेको तालाबन्दीलाई आज पनि जारी राखेका छन् ।

त्यसैगरी, वन, विज्ञान अध्ययन संस्थान हेटौंडा क्यापसका अनेरास्ववियु क्रान्तिकारीलगायत विभिन्न विद्यार्थी संगठनहरूले कोभिड संक्रमितका कारण विद्यार्थीहरू भौतिक रुपमा परीक्षामा सहभागी हुन नसक्ने भएकाले अनलाइन प्रणालीबाट परीक्षा लिनुपर्ने माग राखेका छन् ।

उनीहरुले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित वन, विज्ञान अध्ययन संस्थान डिनको कार्यकक्ष र कार्यालयको मूल ढोकामा मंगलबारदेखि गरेको तालाबन्दीलाई आज पनि जारी राख्ने बताएका छन् ।

क्याथपोर्ड कलेज ललितपुरका विद्यार्थीहरूले विभिन्न माग राखि कलेज प्रशासनमा साउन २४ गतेदेखि गरेको तालाबन्दीलाई निरन्तरता दिएका छन् । अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पस इकाई कमिटीले विभिन्न माग राखि क्याम्पस प्रमुखको कार्यकक्षमा साउन ५ गतेदेखि गरेको तालाबन्दी जारी राखेका छन् ।

नेविसंघको पुल्चोक इन्जिनियरिङ क्याम्पस कमिटीले डिनको कार्यकक्षमा चैत ३१ गतेदेखि गरेको तालाबन्दीलाई आज पनि कायम राख्ने भएका छन् । नेपाल प्राध्यापक सघको ५९ औ वार्षिक दिवस, झण्डोतोलन तथा शुभकामना आदानप्रदान कार्यक्रम रहेको छ । सरस्वती सदन, घण्टाघरमा उक्त कार्यक्रम राखिएको बताइएको छ ।

टिप्पणीहरू