यो मायाको मौसम विचित्र « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

यो मायाको मौसम विचित्र

प्रकाशित मिति :  ४ चैत्र २०७३, शुक्रबार १७:०६


सेनाको तालिम सकेर केही दिनको बिदाका लागि काठमाडौं आएको थिएँ । रोहणसँग भेटघाट हुन पाएन । पसलको कामले भ्याली बाहिर गएको रहेछ । आशिषसँग भेट भयो । कुराकानी हुँदै गयो । हामी तीनै जना एकताका कलेजका असाध्यै मिल्ने साथी । आशिष नयाँ पत्रिका र रोहण रानीपोखरीस्थित पुस्तक पसलमा काम गर्थे । उनीहरूको साथमा म थिइनँ तर दुवै जना अफिसबाट छुट्टी हुनासाथ टेलिफोन वार्ता भइहाल्थ्यो ! ‘कहाँ भेट्ने रोहण ?’ त्रिचन्द्र क्याम्पसको क्यान्टिन । बिहानको कक्षामा पनि उनीहरूको जम्ने ठाउँ पनि यही थियो । कफीको चुस्की लगाउँदै गफिन्थे । जो–कोहीले उनीहरूलाई त्यहाँ देख्न सक्थे । यसअघि भने, झुक्किएर भनौं कहिलेकाहीँ म पनि उनीहरूसँगै बस्थें । कलंकी बस्ने भएकाले उनीहरूसँग भेटघाट बिरलै हुन्थ्यो । 

आशिष कफी र चुरोटको सोखिन थियो । अहिले पनि । रोहण बिरलै चुरोट तान्थ्यो । भेट हुँदा म कफी मात्रै लिन्थें । भेटघाटका क्रममा उसकै च्वाइसमा परेको कफी र चुरोट खाएर छुट्टिन्थ्यांै । आशिष मैतीदेवी र रोहण पाटन बस्ने । आशिष सानैदेखिको साथी । बाहिरबाट सोझो देखिए पनि निकै बाठो । जो–कोहीसँग छिट्टै घुलमिल हुने र चकचके प्रवृत्तिको । तर, निकै भद्र । सबैलाई सम्मान गर्ने । दुब्लो, पातलो र कालो वर्णको । लवाइ खवाइ, रहनसहन, बोलीचाली, व्यवहार एकदम सरल । साथीहरूसित खुब जिस्किन्थ्यो । त्यससँगै आफ्नो फरक मत राखिहाल्थ्यो । तर, आशिषसित भेट भयो कि मत मतान्तर, गुनासो र अपेक्षा हुने । आशिष राजनीति र साहित्यमा खुब चासो राख्ने उसलाई पत्रकारिता र मेजर इंग्लिस विषय उपयुक्त ठान्ने । राजनीतिक बहस गर्न रुचाउने भएर होला नयाँ पत्रिकामा पनि राजनीतिक बिट सम्हालेको ।

कलेज समयमा पनि राजनीतिक कुराकानी गर्ने ।  प्लस टु सकाएर घरको करकापले लोकसेवामा नायब सुब्बाको परीक्षा दियो तर नाम निस्केन । निस्कोस् पनि कसरी कोचिङ सेन्टर रेगुलर जान्थेन । सरकारी कोटामा नाम ननिस्केपछि नपढ्ने बहाना भइहाल्यो । त्रिचन्द्र क्याम्पस साइन्स विषयमा भर्ना गर्ने र स्नातक सकाएर अस्ट्रेलिया जाने भनेर घरमा कन्भिस गरेकोे सुनायो । आफैंं पटक–पटक प्रहरी जवानका लागि धेरैचोटि आवेदन दिएँ  असफल हुँदै आएको थिएँ । तर, यसपटकको प्रयास भने सफल भयो । ट्रेनिङका लागि भरतपुर चितवन गएँ । ऊचाहिँ त्रिचन्द्र छाडेर मदन भण्डारी मेमोरियल कलेजमा पत्रकारिता र मेजर इंग्लिस पढ्न गएछ । बल्ल थाहा पाएँ, त्रिचन्द्रबाट मदन भण्डारी कलेजमा जानुको तात्पर्य । 

त्रिचन्द्रमा सँगै छँदा हामी ख्यालठट्टामै समय व्यतित गथ्र्यांै । भर्खर–भर्खर कलेज शुरु हुन थालेको थियो । कलेजमा नयाँ–नयाँ अनुहार देखिँदै थिए । क्याम्पस पढ्ने केटाका आँखा पनि फेरिँदो थियो । उनीहरू पढाइभन्दा पनि कुनचाहिँ युवती राम्री छे भन्दै जिस्कन्थे । क्याम्पस लाइफमा यो स्वाभाविकजस्तो लाग्थ्यो । निकै समय उनीहरूसँग भेट भएको थिएन । यसैबीच, आशिष र रोहणको कुराकानी फेरिएछ । भेट हुनेबित्तिकै कफी र चुरोट पिउँदै गफिने साथीहरू ‘ऋतु’नामकी युवतीको मात्रै बखान गर्थे रे ! कहिले मौन त कहिले खुलेरै कुरा गर्थे । त्यतिखेर कफीको चुस्की लिँदै आशिषले भनेको थियो रे, ‘रोहण ! आज बिहान अफिस जानुअगाडि फोन भयो नि यार !’

ए हो र ? अनि के भनी उत्तेजित हुँदै रोहणले जवाफ माग्यो । त्रिचन्द्र गेटमा गएको एक्कासि ऋतुले मलाई कहिल्यै नदेखे जसरी, हाई, सन्चै छौ, पछि कुरा गरुँला भनेर गई यार † पसलको साहुनीतिर हात सोझ्याउँदै दुईवटा सूर्य माग्यो । रोहण भने उसको कुरा निकै चाख लगाएर सुनिरहेको थियो । प्रेम आफैं बस्ने रहेछ । हो आफंै, सोचेर, पारिवारिक स्थिति हेरेर पनि प्रेम गरिन्छ । फुर्किंदै नाकबाट चुरोटको धुवाँ उडाउँदै उसले भन्यो, तिमी केटा म केटी आकर्षण त भइहाल्छ नि † यति हुँदैमा प्रेम भन्न कहाँ मिल्छ र ? ऋतुले भनेकी रहिछन्,  कक्षामा । अब के–के जादु गर्नुपर्ने हो । रोहण ! यार, तिमी त मलाई बच्चादेखि नै चिन्छौ नि । सोविता, कल्पना, जेनिसासित किन यस्तो फिलिङस नआएको, साँच्चिकै म ऋतुलाई भित्रैदेखि माया गर्छु ।

रोहण, प्रेम भनेको के हो जान्दिनँ तर म प्रमाणित गरेर देखाइदिन्छु । प्रेम जो–कोहीले पढ्ने गणितको हिसाब हैन । यो त भावना र विश्वास हो । म एकदिन उसलाई भेटेर भन्छु विज्ञान र प्रेममा फरक छ भनेर, तिमी सहयोग गर है । ऋतुको कुरा सुनेर अनिद्राझैं भएका रोहणले ‘हुन्छ यार, म साथीको नाताले तिम्रो लागि जे पनि सहयोग गर्न तयार छु । भनियो । ऊ भन्दै गयो, आफ्नो प्रेमकहानी । मंसिर महिना काठमाडांैमा जाडो बढिसकेको थियो । बिहानी कलेज । साढे ६ मा त्रिचन्द्र पुग्दा पहिलो पिरियड शुरु भइसकेको रहेछ । फस्र्ट डे नयाँ कलेजभित्र जाने आँट आएन । पहिलो घण्टी बज्यो, सर बाहिरिनेबित्तिकै भित्र पसें । कम्पल्सरी इंग्लिस विषय अध्ययन भएको रहेछ । शिक्षक निस्केपछि विद्यार्थी पनि माहुरीसरी गुनगुन गर्दै निस्कन थाले । केही विद्यार्थी भित्रै थिए । अन्तिम बेन्चसम्म कक्षाकोठा भरिएको थियो ।

बस्ने ठाउँ थिएन । सिट नपाएर होला कोही त उभिएका थिए । अन्तिम बेन्चमा बसेका दुई जना केटीतिर आँखा प¥यो । सुन्दर र अनुशासित । एउटी हल्का मोटी र मभन्दा हाइटी थिई, अर्की मलाई नै सुहाउने खालकी हँसिलो अनुहार, मिलेको शरीर, चिम्सा आँखा, कर्ली कपाल, सानो गोलो अनुहार । स्वर सानो र सुमधुर । हो, त्यही केटी थिई ऋतु । मोटी केटी थिइन् सोविता । जाडो याम । बिहान उठ्नै मन छैन । तर, कलेज नगई पनि धर छैन । जाडोको बेवास्ता गर्दै रेगुलर कलेज जान्थें । उता, हामी सबैको फ्रेन्डसिप गाढा बन्दै गइरहेको थियो । आशिषलाई आशिक भनेर ऋतुले जिस्क्याउने गर्थी । आशिष झनै लठ्ठिन्थ्यो । अन्तिम बेन्चमा बस्थ्यौं । सुबिन भट्टराईको समर लभकी सायाजस्तै थियो ऋतुको बोली व्यवहार । उनीहरूको हँसाइ, जिस्क्याई, बोलाई त्यस्तै आभास हुन्थ्यो । उनीहरूलाई देखेर म चुइँक्क हुन्थें । ख्यालठट्टा भने नगरी बस्न सक्दिनथें । शिक्षक उता पढाउँथे हामी यता मस्त जिस्क्न्थ्यौं । कतिपटक त हाम्रो चाला देखेर शिक्षकले आँखा पनि तरे । तर, कक्षाबाट निस्केर जाऊ भन्न सकेनन् । यसरी नै क्याम्पस समय बितेको थियो । सँगै कलेजबाट फर्कन्थ्यो । कहिले साँझ होला अनि च्याट गर्ने समय आउला भन्थ्यो । 

ऋतुलाई थाहा थिएन, आशिषले कति मन पराउँछ । ऋतुका लागि दिनभर फेसबुक खुला राख्थ्यो । च्याटमा जहिले नि १७, १८ गर्दै १९ आवर अगो देखाउथ्यो । जब फेसबुकले २० घण्टाअघि देखाउँथ्यो मनमा अनेक किसिमका भावना खेलिरहन्थे । के भयो होला, किन ढिला गरेको होला मोबाइलमा चार्ज छैन भने भ्याली लोडसेडिङमुक्त भइसक्यो । पैसा छैन भने घरमा वाईफाई छ किन ढिला गरी भनेर सोच्दासोच्दै ‘हाई’ भन्ने रिप्लाई आउँथ्यो । अनि घण्टौं जिस्किएर दुवैजना बात मार्थे तर ऋतुलाई आफ्नो मनको कुरा भन्न सकेको थिएन । 

यो उसको पहिलो प्रेम थियो । आशिषले ऋतुमाथिको आशक्तिलाई सुमधुर बनाउन खुब प्रयत्न गथ्र्याे । अन्तरात्मादेखि नै मन पराउँथ्यो । त्यो मनलाई व्यक्त गर्ने माध्यम फेसबुक थियो । ऋतुलाई देख्नेबित्तिकै प्रेमको टुुसा पलाउँथ्यो । तर, केहीबेरमै हराइजान्थ्यो, उसको व्यवहारले । ऊ हाँसो ख्यालठट्टा गर्न मन पराउँथ्यो । आशिषलाई भने कतै एकान्तमा गएर मायाप्रीतिका कुरा गरौँ भन्ने हुन्थ्यो । कसैले भनेको सुनेको थिएँ । धैर्यता नै मायाको प्रतीक हो । सायद आशिषले पनि त्यही धैर्यता पर्खेको होला । त्यस्तो खालको कुनै समय र आँट नभएर होला अहिलेसम्म ऋतुलाई मनको कुरा भन्न नसकेको । 

समयले झुक्यायो । परिवारमा जेठो छोरा । ममी बिरामी हुनुभएर हेटौंडा घर जानुपर्ने भयो । जन्मदिने आमाभन्दा परीक्षालाई ठूलो ठानिएन । एक महिना घर बसेर फर्किंदा । पढ्न कुनै जाँगर चलेन । घरबाट फर्कंदा ऋतु मौसमको ऋतुजस्तै बदलिसकेकी । आशिषलाई त्रिचन्द्र क्याम्पस बोझझंै लाग्न थाल्यो । त्रिचन्द्र छाडेर मदन भण्डारी कलेज गयो । पत्रकारिता पढ्न । तर, ऋतुको याद र अन्तरात्माको आवाज छोड्न सकेको थिएन । भेटघाट पातलिँदै गए पनि ऋतुलाई फेसबुकमा जहिले नि पन्छाइरह्यो । ऊ पढाइमा ट्यालेन्ट थिई तर आशिषको प्रेमको मामलामा भने बोधो । 

एकदिन बेलुकी च्याटपश्चात् भोलि बिहान भेट्ने वाचा भयो । आशिषले एउटा सरप्राइज छ भन्दै जसरी नि भेट्न भनेको थियो । भेट्ने स्थान त्यहीँ त्रिचन्द्र क्याम्पस । भोलिपल्ट बिहान कलेज समयमै भेट भयो । ऋतुलाई उसले सकी नसकि मनको कुरा राख्यो । उसले ऋतुबाट यस्तो बज्रपात होला भन्ने सोचेको थिएन । झोक्किँदै, ‘कस्तो कुरा गर्न सकेको ? तिमी त मेरो साथी मात्र हो साथीको ठाउँमा बस्न सिक, नत्र म तिमीसित कहिल्यै बोल्दिन भन्दै कक्षाकोठाभित्र छिरी । 

आशिषले यति भनुञ्जेल मैले कफी सकेको थिएँ । आशिषको कफी आधा थियो । कफी खान बाँकी छँदा एकपटक उसको अनुहारमा हेरें, आँखा रसाइरहेका थिए । ऋतुले मेरो माया बुझिनँ भन्दै गिलासको आधा कप कफीलाई एक घुट्कोमै सिध्यायो । जल्दै गरेको चुुरोटलाई एस्ट्रेमा निभाउँदै भन्यो, ‘आज रोहण यहाँ आएन नत्र उसलाई नि भन्थें । आजबाट मैले चुरोट छाडें । अब चुरोट तान्ने त एक्लै भइस् ।’ सोच्न बाध्य भए के चुरोट खाने सबै बिग्रेका र हावा नै हुन्छन् ? चुरोटको सोखिन आशिषले साँच्चिकै चुरोट छोड्ला ? एकछिनको प्रेमको भोकले यी सबै चिज त्याग गर्न सक्ला ? प्रेमले पनि के–के गराउँदो रहेछ । आशिषको आशक्ति देखेर मन खिन्न भयो । ऋतुलाई भेटेर सम्झाउने विचार गरें ऋतुले आशिषको प्रेम बुझिन भने मेलै पनि मेरो पुरानो साथी पाउनेछु ।

–  लोकेश तिवारी, आरआर कलेज तेस्रो वर्ष 


प्रतिक्रिया दिनुहोस !