गोर्खापत्रमा गज्जबको गडबडी

गोर्खापत्रमा गज्जबको गडबडी

गोर्खापत्रमा हिजो रातिदेखि एउटै व्यक्तिले दुई वटा पदको निमित्त जिम्मेवारी सम्हालेका छन् । निमित्त महाप्रबन्धकको जिम्मेवारी लिएका शिवकुमार भट्टराईले हिजो साँझदेखि गोरखापत्र दैनिकको निमित्त प्रधान सम्पादकको जिम्मेवारीसमेत लिएका हुन् ।

यसअघिका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले राजीनामा दिएपछि भट्टराईलाई सञ्चार मन्त्रालयले साउन ११ गतेको निर्णयानुसार निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको हो । यता,पर्सि आइतबारदेखि अवकाश हुन लागेका गोरखापत्र दैनिकका प्रधान सम्पादक श्रीधर आचार्यलाई बिहीबार रातीदेखि नै हटाइएको छ ।

निमित्त जीएम हुँदाहुँदै श्रीधर आचार्यको ठाउँमा समेत आफैँ प्रधान सम्पादक नियुक्त हुन भट्टराईले बालुवाटारको भीटो प्रयोग गरेको गोरखापत्र संस्थानका कर्मचारीहरु बताउँछन् । संस्थानमा जीएम भएको व्यक्ति गोरखापत्रको प्रधान सम्पादक हुन पाउने कानुनी व्यवस्था नै छैन । जीएममा सरकारले नियुक्त गर्छ भने प्रधान सम्पादक सञ्चालक समितिले नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

त्यसैको लागि हिजो समितिको बैठक बोलाइएको थियो । बैठकमा एउटै व्यक्तिलाई जीएम र प्रधान सम्पादकमा नियुक्त गर्न नमिल्ने कानुनी कुरो उठाइयो । बैठकमा मन्त्रालयका प्रतिनिधि श्रीधर गौतम भने आएका थिएनन् । सञ्चालक समितिको बैठक अनौपचारिक छलफलमा टुंगिएको बताइन्छ ।

तर,साँझ बैठक नबसेपछि कागजी प्रक्रिया पूरा गरेर भट्टराईले निमित्त प्रधान सम्पादकमा आफ्नो नियुक्ती आफैँले गरेको मन्त्रालय श्रोतले बतायो । आफूले आफैँलाई नियुक्त गरेपछि प्रशासनकी तारा बस्याललाई सोसम्बन्धी चिठी र परिपत्र गर्न लगाइएको थियो तर उनले गैरकानुनी काम आफूबाट नहुने भन्दै मोबाइल अफ गरेर भूगोलपार्कबाट हिँडेकी थिइन् । ताराबाट पत्राचारको काम नभएपछि भट्टराईले कर्मचारी प्रशासन विभागकी प्रमुख पवित्रा गौतमलाई अह्राए । साँझ आठ बजेसम्म राखे पनि उनले समेत त्यो काम गर्न मानिनन् । उनी वरिष्ठ पत्रकार ओम शर्माकी साली हुन् ।

त्यसपछि संस्थानका हाकिमको चाला देखेर छक्क पर्दै दर्ता चलानीका कर्मचारीले समेत फाँट बन्द गरेर हिँडे । तर विराटनगरका शरद अधिकारीलाई भट्टराईले दर्ता चलानीको ताला फुटाउन लगाए । त्यसपछि आफैँले गरेको निर्णय,आफैँले लेखेको पत्र र आफ्नो दस्तखत,आफ्नै पत्रको सर्कुलरको काम आफैँ दर्ता गरेपछि आजको गोर्खापत्रमा उनको फोटोसहित सरकारी निर्णय भनेर समाचार छापिएको छ ।
एकातर्फ नियमले नमिल्ने, अर्कोतर्फ सञ्चालक समितिको बैठकसमेत नबसेको अवस्थामा भट्टराईले आफूलाई संस्थानको कानुनी सल्लाहकारको राय र संस्थान व्यवस्थापनको हिजोको निर्णय भन्दै पत्रमा व्यहोरा उल्लेख गरेका छन् । सरकारी संस्थानमा तोकिएको नियम,कानुन र प्रचलन विपरित यसरी एउटा व्यक्तिले आफैँलाई नियुक्त गरेको सम्भवतः पहिलो रेकर्ड भएको एक जना कर्मचारीले बताएका छन् ।

यसअघि सुशील कोइरालालाई पनि जीएम हुँदाहुँदै निमित्त प्रधान सम्पादक बनाइएको थियो । तर उनलाई सञ्चालक समितिको निर्णयबाट बनाइएको हो ।

टिप्पणीहरू