तलैदेखि तान्दै ल्याए भैहाल्थ्यो नि ! « Jana Aastha News Online
Logo
१० असार २०७९, शुक्रबार
|  Fri Jun 24 2022
Logo
१० असार २०७९, शुक्रबार
|  Fri Jun 24 2022

तलैदेखि तान्दै ल्याए भैहाल्थ्यो नि !

प्रकाशित मिति :  ६ फाल्गुन २०७३, शुक्रबार ०७:०३


  • अच्युतकृष्ण खरेल, पूर्वप्रहरी महानिरीक्षक

जागिरभर कडा स्वभावका मानिन्थे, अच्युतकृष्ण खरेल । महानिरीक्षकमा राजनीति रत्नसमशेरलाई हटाएपछि उनकै पालादेखि शुरु भएको हो । नियुक्त भएको महिना दिनमै लोकेन्द्रबहादुर चन्द सरकारले उनलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरी ध्रुवबहादुर प्रधानलाई जिम्मा दियो । प्रहरी इतिहासमा यो प्रकरण सधैं स्मरण गरिने घटना बनेको छ । संयोग कस्तो छ भने, ०४८ को सरकारमा शेरबहादुर देउवा गृहमन्त्री हुँदा रत्नसमशेर राणालाई हटाएर सुदूरपश्चिमका मोतिलाल बोहोरालाई महानिरीक्षक बनाउनका लागि प्रहरी ऐन संशोधन गरियो । अहिले देउवाकै दबाबमा बरियताको तेस्रो सूचीमा रहेका सुदूरपश्चिमकै जयबहादुर चन्दलाई महानिरीक्षक बनाउँदा विवाद चल्यो । मन्त्रिपरिषद्को निर्णयलाई अदालतले चार घण्टामै स्थगन गरिदियो । अच्युतकृष्ण खरेललाई सरकारको यो रवैया निको लागेको छैन ।

०  प्रहरी महानिरीक्षक नियुक्तिको खबर सुन्दा कस्तो लाग्यो ?

– राजनीतिकरण दिनदिनै बढेपछि प्रहरी संगठन कमजोर हुने नै भयो । त्यसपछि जनताले प्रहरीबाट स्तरयुक्त सेवा नपाउने कुरा निश्चितै रह्यो ।

० रत्नसमशेरको पालामा एआइजी पद सिर्जना गरेपछि महानिरीक्षक विवाद शुरु भयो । यो पद नै अफाप हो कि ?

– रत्नसा’बको पालामा पद सिर्जना भए पनि मोतिलाल सा’बको बेलादेखि त्यसलाई नचाहिँदो किसिमले चलाइयो । त्यतिखेर अहिलेको जस्तो नचाहिँदो प्रतिस्पर्धा थिएन । म त्यसबेला अहिलेको रमेश खरेल भनेजस्तो थिएँ । रत्नसमशेर एआइजी थिए, एक्लै । म काठमाडौं डिआइजी, मलाई पोखरा पठाए । किनभने म यहाँ हुँदा बोहोरा सा’बलाई (मोतिलाल) मबाट थ्रेट (खतरा) लाग्यो । ब्युरोक्र्याटहरु बोहोराको पक्षमा थिएनन् ।  शेरबहादुर गृहमन्त्री हुँदै केही गर्नुप¥यो भन्ने उनलाई लाग्यो । त्यसपछि अर्को एआइजी थपेर धु्रव (प्रधान) र मलाई बनाए । बोहोरालाई आइजी तोके । म आइजी भएको बेला सरुवा गरेर गुप्तचरतिर पठाए । म सरुवा भएपछि बाँकी त ध्रुव नै थियो । उसलाई आइजी बनाइदिए । कहिलेकाँही चौथोलाई पनि दिनुपर्ने हुन्छ । तर, त्यो गर्ने भनेको त एक, दुई र तीन फेल भएको बेलामा हो । माथिका सही–सलामत हुँदाहुँदै तलकोलाई दिनु अनन्याचुरल (अप्राकृतिक) हुन्छ । पुलिसको इतिहासमा एक र दुईभन्दा अरु आइजीमा परेका छैनन् । अहिले त क्षेत्रीय धारणाले पनि होला, तीनलाई बनाए ।

० डिआइजीबाट एकैचोटि आइजीपी बनाउने भएपछि एआइजी पदै खारेज गरे हुन्न र ?

– त्यही त भन्दैछु, बोहोरा सा’बको पालामा एउटा घातक बीउ रोपियो, अहिले त्यही विकृति भएर फल्दैछ । हुँदाहुँदा ३० वर्षे लगाएर घर पठाउन थाले । पहिला ३० प्लस दुई पनि थियो । सरकारले चाहेमा दुई वर्ष म्याद थप्न पाइने । मैले त सतप्रतिशत प्रहरीलाई ३२ वर्षै जागिर खुवाएँ । कसैलाई पक्षपात हुन दिइनँ । दुई वर्ष म्याद थप्नका लागि मेरो कार्यकालभरि कुनै पनि प्रहरीले राजनीतिक नेतृत्वसँग खुशामद गर्नु परेन । त्यतिबेला म ३० वर्षे हटाउने पक्षमा थिएँ । तर, मलाई माओवादीसँग लड्दैमा ठिक्क भयो । अरु काम त गर्नै पाइएन । यो नीति हट्नै पर्छ । किनभने, सेनालाई नलाग्ने, प्रहरीलाई मात्रै लाग्ने ? यो कुन तर्कका आधारमा सही हुनसक्छ ? गलत कुरा हो । यसको बिजारोपण रत्नसमशेर सा’बलाई आइजीबाट फाल्न र बोहरा सा’बलाई बनाउनका लागि भएको हो । त्यतिबेला ३० वर्षे पल्किएपछि अहिले त्यही काल भएर चम्किएको छ । ३० वर्षे लागू हुनुहुन्न । लागु गरेकै पनि व्यवहारिक भएन । त्यतिबेला ३० वर्षे सेवाअवधी तोक्दैमा यो नियम अबको पाँच वर्षपछि लागु हुनेछ भन्नुपथ्र्यो । किनभने, एक्कासी जागिर खाँदाखाँदै नयाँ व्यवस्थाअनुसार रिटायर्ड हुनुप¥यो भने केहीलाई मर्का पर्ने भयो । प¥यो पनि । अन्यायपूर्वक कुनै पनि नियम, कानुन थोपर्नु हुँदैन ।

० मैले सोधेको चाहिँ एआइजी पदको काम के हो भनेर ?

– जस्तो अहिले चारजना कम्पिटिटर (प्रतिस्पर्धी) मध्ये तीनजना आइजीपी भएनन् नि, तिनलाई लगेर एआइजीमा राख्ने !

० यहाँको पालामा सरकारले निर्णय गरेर गुप्तचरबाट आएका इन्स्पेक्टरलाई पुलिसको गेटमा छिर्नै दिन्नँ भन्नुभयो नि, किन ?

– ती हाम्रो हाम्रो विभागका हुँदै होइनन् । एउटा कुकुर अर्को टोलमा गयो भने त्यहाँका रैथाने कुकुरले भुकेर, टोकेर वा अनेक गरेर बस्न दिँदैन भने हामी त सचेत प्रहरी हौँ । सेवा, शर्त केही नमिल्ने, तालिम नमिल्ने । अनि त्यस्तालाई ल्याएर विभागमा कसरी काम लगाउने ? फेरि तिनीहरुको विशेषज्ञता नै बेग्लै हो । त्यो सेवामा एसएलसी पास गर्दा इन्स्पेक्टर हुन पाइन्थ्यो । हाम्रोमा एसएलसी पास हुनेले सिपाहीमा भर्ना पाउँछ । बिए पास गरेपछि बल्ल हाम्रोमा इन्स्पेक्टर हुन पाइन्छ । उनीहरुको काम जाँड पसलमा, भट्टीमा गएर इन्फर्मेशन लिने हो । कामै पृथक छ । तिनलाई ल्याउँदा हाम्रा ५० औँ राम्रा पुलिसहरु पछाडि परे । फिजिकल्ली पनि हेर्नुस् त, सबै भुन्टे–भुन्टे छन् । त्यसैले मैले हुँदैन भनेँ । म हुञ्जेल आउन पनि पाएनन् । म गएपछि हाम्रै जस्तो सेवाशर्त पूरा गरेका, शुरुदेखिको तालिम लिन तयार भएकाहरुलाई भिœयाइयो रे ।

० तपाईंले आफ्नो पालामा सुन तस्करी रोक्ने नाममा एयरपोर्ट कडाइ गर्दा त्यतिबेलाका मन्त्रीहरुसँग ठाकठुक पर्ने गथ्र्यो । अहिले त पुलिसकै एसएसपीको संलग्नता हुन थाल्यो !

– पुलिसले गरेर मात्रै सुन तस्करी रोकिँदैन । संसारमा हरेक प्रकारका तस्करीलाई रोक्ने काम भन्सारकै हो । त्यसलाई हेर्ने बेग्लै युनिट हुन्छ । पुलिसले जनरल ल एण्ड अर्डर हेर्छ । त्यतिखेर धेरैजसो सुन कार्गोबाट आउँथ्यो । कार्गोबाट आएपछि मान्छे सरासर ओर्लेर जान्छ, सामान सोझै गोदाममा पुग्छ । त्यसो गर्दा केही सिमित मान्छेलाई मिलाए भयो । किनभने, कार्गोको कुनै पनि सामान स्क्रिनिङ हुँदैन । मन्त्रीहरु भन्छन्, भन्सारबाट सामान समाउन पाइँदैन । तर, पुलिस त्यही ढुकेर बस्ने भए ।  त्यसैले सूचनाका आधारमा शंकास्पद व्यक्ति पक्रिने हो । हाम्रो बेलामा जति सामान पास हुन्छ, प्रहरीले त्यसको २० प्रतिशत मात्रै समात्थ्यो । संसारमा कहीँ पनि तस्करी रोकिन सकेको छैन । अमेरिका, जर्मनी जहाँ पनि तस्करी चल्छ । प्रहरीले मात्रै रोकेर यो रोकिँदैन । दुःखलाग्दो कुरा के छ भने, तस्करहरुले हामीकहाँ सबै एजेन्सीलाई मिलाएर काम गरेका छन् । प्रहरी पनि मुछिनु दुःखद् कुरा हो । पुलिसले डाँकासँग मिलेर डाँकै गर्न थाल्यो भने के हुन्छ ? यस्तै भयो ।

० त्यसैले होला, आजकलका मान्छे पुलिस देखेर त्यत्ति डराउँदैनन्…

– पुलिसको जुन ओजन हो, त्यो रहन सकेन । डनगिरी चल्यो । चरी म¥यो । खोई कसको हो भन्थे । घैंटे म¥यो । त्यो पनि कुन्नी कसको रे ! मैले भन्ने ग¥याथेँ, गुण्डा देखेपछि घुँडामा गोली हानेर ढाल्ने । त्यसपछि आफैँ थन्किन्छन् । किन मार्नुप¥यो ? चक्रे त आत्मसमर्पण गरेर जेल बस्न गयो । पहिला कानुनले सबैथोक गथ्र्यो, अहिले सम्बन्धले काम हुने भयो । यसले पुलिसलाई कमजोर बनायो । आइजी भएर गृहमन्त्रीसँग बोलचाल बन्द गर्न सकिन्छ ? मेरो त भएन ।

० आफूलाई फेरि आइजी बनाउने खुमबहादुरसँग के नमिलेर हो, झगडै गर्नुभएको ?

– उनीकहाँ ‘डन–सन’ अलिक बढी आउने । अरु हिसाबले उनी राम्रा । तर, डनका कुरा सुनेर आइजीपीलाई तह लगाउन खोज्ने † त्यसैले उनी बिग्रिए पनि । पार्टीका लागि काइदाका मान्छे हुन् । मलाई भेट्न आउँदा वा म भेट्न जाँदा वरिपरि तस्कर बसेका हुन्थे । मैले भनें, ‘खुमबहादुरजी, यी ठीक मान्छे होइनन् । यस्ता मान्छेका अगाडि न म बस्न सुहाउँछ, न तपाईं † त्यसैले म त आउन्न !’

० दीपक बोहोरा गुण्डा हुँदैको चिनजान हैन ?

– मलाई चिनजान त किन गर्नुपरेको छ र ? मैलेचाहिँ मार्क गरेको थिएँ । म भैरहवा बसेँ । त्यहाँ बस्दाका खुंखार हुन् उनी । पछि सुध्रिए होलान्, राजनीतिमा लागे । पहिला त त्यस्तै थिए ।

० अपराधचाहिँ संक्रमणकालमा बढ्छ भनेर प्रहरी पनि पन्छिन खोज्छन् । किन होला ?

– प्रहरीमा राजनीतिक हस्तक्षेप भयो । त्यसले संगठनको मनोबल पनि घटायो । मनोबल घटेको प्रहरीबाट देशले पाउनुपर्ने सुरक्षा नपाउने कुरा निश्चित हुन्छ । प्रहरी बिगार्दा के हुन्छ भन्ने कुरा राजनीतिक नेतृत्वले अझै बुझेन भने देश झन्झन् कमजोर हुँदै जान्छ । अहिले तीन नम्बरकै डिआइजीलाई एसएसपीदेखि तान्दैतान्दै ल्याएर एक नम्बर राखेको भए भइहाल्थ्यो नि ! डिआइजी भएको बेला तीनबाट तानेर एकमा लैजाँदा के हविगत भयो, देखिहाल्नुभा’छ ।

हामी त डिएसपी हुँदा ‘यी तीनजनामध्ये एकजना आइजी हुन्छ’ भन्थे । म, ध्रुव र बान्तवा थियौँ, प्रतिस्पर्धी । तीनैजना इक्वेल्ली क्यापेबल हो । म आफूलाई मात्र योग्य भन्दिनँ, ध्रुवबहादुर प्रधान उत्तिकै काबिल थिए । बान्तवामा पनि कुनै कमी थिएन । ध्रुवले गलत बाटो लियो । ऊ जीवनभरै मभन्दा जुनियर हो । म एक नम्बर, ऊ दुई नम्बर । उसले पनि कुर्न सकेको भए राम्रैसँग खान पाउँथ्यो । धैर्य गरेन ।

० अहिले ध्रुवसँग कस्तो छ सम्बन्ध ?

– आइजी छोड्नेबित्तिकै खबर पठाएको थिएँ । मैले भनें, ‘तिमीले ठीक ग¥यौ कि गरेनौ, आफैँ बुझ । तिमीले गरेको कामबाट पुलिसलाई के असर ग¥यो, त्यो पनि थाहा होला । त्यसकारण, हाम्रो मित्रता यथावत !’ यसपछि ध्रुव मकहाँ आयो, म उसकहाँ गएँ । मित्रता एकदमै राम्रो छ । तँ–तँ र म–म नै चल्छ । त्यतिखेर जे भयो, भइहाल्यो ।

० पुलिसमा माथि पुग्न दरबारसँग राम्रो हुनुपथ्र्यो । तपाईंको सम्बन्धचाहिँ कस्तो थियो ?

– मलाई यो मुद्दा–सुद्दा लगाएर दुःख दिने दरबार नै हो । आफू परियो जनताको छोरो । पुलिसमा जागिर खान आएको कसैको चाकडी गर्नलाई थिएन, गरिएन पनि ।

० आइजीपी भएकै बेला राजीनामा दिनुपर्नेचाहिँ के परेको थियो ?

– दुनै घटनापछि गृहमन्त्रीले राजीनामा दिए । मैले पनि दिएँ । गृहसचिव पनि रिटायर्ड भए । वास्तवमा दुनै घटना हुनुका पछाडि धेरै कुरा छ । गिरिजाले कात्तिक १२ गते पुलिसलाई अटोमेटिक हतियार दिन्छु भनेका थिए । तर, सेनाले चिठी लेखेरै नदिने भन्यो । सेनाको कारण सरकारले हतियार दिन नसक्ने भनेपछि गिरिजाबाबुले मलाई ‘सेनासँग कुरा मिलेन । त्यसैले तपाईं राजदूत खानुस्’ भन्नुभयो । मैले भनें, ‘मलाई यो जागिर चाहिएन ।’ त्यहाँबाट निस्किएर पहिला बिदा बसेँ । पछि रामचन्द्र पौडेल गृहमन्त्री भएपछि राजीनामा दिएँ ।

० यहाँले किताब निकाल्ने कुरा थियो । कहाँ पुग्यो ?

– आफू सिपाही परियो, तपाईंहरुले जस्तो लेख्न नजान्ने । जान्ने मान्छे खोजेर आफ्नो कुरा भनेँ । ‘र मेटेरियल’ दिएँ । उनीहरुले ‘जेठसम्म दिन्छौँ’ भनेका छन् । दाजु यादव खरेल । उहाँले भनेरै ‘नेपालय’ लाई दिएको । सक्नुपर्ने बैशाखमा हो । अब जेठ भन्न थाले । असारभन्दा उताचाहिँ जाँदैन । पहिला मुद्दा थियो । छुच्याइँ कुरा लेख्न र लेखे पनि बाहिर ल्याउन भएन ।

० किताबमा के–के छ ?

– पहिला अहिलेको जस्तो लुते अवस्था थिएन । केही–केही कुरामा हामी प्रधानमन्त्रीलाई नै डिक्टेट गथ्र्यौं । पोलिटिकल कुरामा उनीहरुले डिक्टेट गर्ने हो, सेक्युरिटीको कुरामा हामीले गर्ने । आजकल त के भयो, के भयो– चौपट छ । पञ्चायतकालभरि गुण्डा तह लगाएरै बसियो । पछि माओवादीसँग भिड्नुप¥यो । दरबारसँग पनि ठाकठुक परिराख्ने । पछि पनि मन्त्री, प्रधानमन्त्रीहरुसँग विभिन्न सन्दर्भमा कुरा नमिल्ने भइ नै रह्यो । तिनै कुरा छन् ।


प्रतिक्रिया दिनुहोस !