जेलका रेशम चौधरीले पनि महन्थको साथ छाडे

जेलका रेशम चौधरीले पनि महन्थको साथ छाडे

तत्कालिन केपी ओली सरकारमा जाने निर्णयका कारण जसपाको महन्थ ठाकुर खेमाले अकल्पनीय क्षति व्यहोरेको छ । ‘भुइँको टिप्न खोज्दा खल्तीको खस्यो’ भनेजस्तै ठाकुरसँग अहिले न सरकार छ,न पार्टी ।

पार्टीको निर्णयविपरित सरकारमा गएको महन्थ खेमा अदालतको आदेशले १३ दिनमै सरकार छोड्न बाध्य भएको थियो । सरकारबाट बाहिरिएपछि लगातार पार्टीमा पकड गुमाएको महन्थ खेमा आज निर्वाचन आयोगको ‘हेड काउन्ट’सम्म आइपुग्दा निरिह बनेको छ ।

सरकारमा जाने कुराबाटै जसपामा दुईपक्षीय विवाद शुरु भएको थियो । महन्थ खेमा सरकारमा जाने निर्णयमा उभिँदा उपेन्द्र यादवपक्ष प्रतिनिधिसभा विघटनका विरुद्ध सडक संघर्षमा उत्रिएको थियो । त्यसैबीच एकले अर्को पक्षलाई कारवाही गर्न थालेपछि विवाद निर्वाचन आयोगसम्म पुगेको थियो । उपेन्द्र पक्षले मागेको पार्टीको आधिकारिकता सम्बन्धमा आयोगले आज गरेको हस्ताक्षर सनाखत (हेड काउन्ट)मा ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये महन्थ खेमामा जम्मा १६ जना अडिएका छन् । यसअघि सो खेमामा २५ जना प्रष्ट खुलेका थिए ।

ओली सरकारमा जाने महन्थ-राजेन्द्रको निर्णय उनीहरुका लागि कतिसम्म प्रत्युत्पादक बन्यो भने,लामो समयदेखि महन्थलाई साथ दिंदै आएका नेताहरुले समेत साथ छोडेका छन् । तमलोपादेखि महन्थको साथमा रहेका मनिष सुमनले आज उपेन्द्रको पक्षमा हस्ताक्षर गरे । त्यस्तै,जेलमा रहेका रेशम चौधरी, जसलाई महन्थ खेमाले सरकारमा जाने बार्गेनिङ टुल बनाएको थियो उनीसमेत उपेन्द्रको पक्षमा उभिए । चौधरी बहादुर भवनस्थित निर्वाचन आयोगमै पुगेर केहीबेरमा सनाखत गर्दैछन् ।

त्यस्तै,यसअघि महन्थ खेमाका खम्बा मानिएका अमृता अग्रहरि, राजकिशोर यादव,गोविन्द चौधरीले पनि आजदेखि सो समूह वैधानिक रुपमा छाडेका छन् । आयोगको ‘हेड काउन्ट’मा उनीहरुले लाइन लागेर उपेन्द्र यादव पक्षमा हस्ताक्षर गरे ।

यसअघि जम्मा २६ जना कार्यकारिणी सदस्यको साथ पाएको उपेन्द्र पक्षमा आज ३६ जनाले हस्ताक्षर गरेका छन् । योसंगै जसपाको आधिकारिकता उपेन्द्र यादवलाई गएको छ । महन्थ खेमाले अब नयाँ दल दर्ता गर्नुपर्ने अवस्था बनेको छ । संसदीय दलमा समेत महन्थ ठाकुर दयनीय अवस्थामा पुगेका छन् । ओली सरकारमा जाने उनको निर्णयमा साथ दिएका ८ जना सांसद अहिले उपेन्द्र पक्षमा लागेका छन् ।

टिप्पणीहरू