धादिङमा एमाले विभाजनको असर : नेता र जनप्रतिनिधि को कता ?

धादिङमा एमाले विभाजनको असर : नेता र जनप्रतिनिधि को कता ?

– शंकर श्रेष्ठ

नेकपा एमाले विभाजनको असर धादिङमा पनि देखिएको छ । अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल दुई धारमा देखिएपछि जिल्लाभित्र पनि कुन पक्ष कुन तहमा बलियो भनेर आकलन गर्न थालिएको छ ।

नेपाल समूहका नेता गुरु बुर्लाकोटी भन्छन्, ‘स्थानीय तहमा को कता छ सँग अर्थ राख्दैन, कार्यकर्ताको संख्या हेर्ने हो, इमान्दार कार्यकर्ता हामीतिर छन् ।’ उरन्ठेउला मान्छेहरू मात्रै ओलीको पछि लागेको उनी बताउँछन् । ‘समग्र कार्यकर्ता पंक्ति ओलीको पक्षमा छैन,’ बुर्लाकोटीले भने ।

निर्वाचित जनप्रतिनिधि धेरैजसो रहेको ओली पक्षका नेता भूमि त्रिपाठी बताउँछन् । ‘भएभरका युवापुस्ता हामीसँग छ, एमाले भनेको हामी हो, माधव नेपालको एउटा समूह मात्रै हो’ त्रिपाठी थाप्छन् ।

ओली र नेपाल पक्षबीच सामाजिक सञ्जालमै कटाक्ष चल्ने गरेको छ । यद्यपि, माधव नेपाल पक्षका नेताले भने पार्टी एकता हुनुपर्नेमा जोड दिइरहेका छन् । ओली पक्षका नेताहरूले नेपाल समूहले आफ्नै पार्टीको सरकार ढाल्न सहयोग गरेकाले एमालेमा रहन नसक्ने बताइरहेका छन् ।

धादिङ जिल्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजेन्द्र पाण्डे माधव नेपाल पक्षतिर छन् । जिल्ला अध्यक्ष भूमि त्रिपाठी ओली पक्षतिर छन् । जिल्लासचिव शिव कँडेल र सहसचिव शम्भुकुमार थापासहित कमिटीका ६० प्रतिशत नेपाल समूहतिर खुलेका छन् ।

पूर्वसंविधानसभा सदस्य धनबहादुर घले पछिल्लो समय ओलीतिर ढल्केका छन् । प्रतिनिधिसभा सदस्य खेम लोहनी र जिल्ला अध्यक्षसमेत रहेका हाइवेतिरका माननीय त्रिपाठी पनि ओलीकै पक्षमा छन् । उनीहरू विभाजन पहिले पनि ओलीकै मान्छे भनेर चिनिन्थिे । प्रदेशसभा सदस्य डा. रामकुमार अधिकारी र स्थायी कमिटी सदस्य पुष्प कँडेल ओलीतिरै छन् ।

पूर्वसंविधानसभा सदस्य घले र प्रदेशसभा सदस्य अधिकारी नेपाल पक्षले समानान्तर कमिटी बनाएपछि ओलीतिर देखिएका हुन् । प्रदेश सांसद अधिकारीलाई बागमती प्रदेश सरकारको राज्यमन्त्री दिइएको थियो । पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे र गंगा तुलाधर नेपाल पक्षमा खुलेर लागिरहेका छन् । जिल्लामा नेकपा एमाले विस्तार गर्नेमध्येका पाण्डे र बुर्लाकोटी नेपाल पक्षमा उभिइरहँदा पाण्डे र बुर्लाकोटीसँगै एमाले विस्तारमा लागेका जगन्नाथ नेपाल ओलीतिर छन् । सोही बेलाका नेता टंक तिमिल्सिना भने राजनीतिक सरगर्मीमा देखिएका छैनन् ।

स्थानीयस्तरमा संगठन निर्माण गरेका केन्द्रदेखि जिल्ला तहका नेता माधव नेपाल पक्षमा लाग्दा धादिङमा ओली पक्ष कमजोर देखिएको छ । जनाधार भएका नेताहरू माधव नेपाल पक्षमा बढी छन् । पार्टी स्थापनादेखि विभिन्न मोर्चामा काम गर्दै आएका पुराना नेता तथा कार्यकर्ता नेपाल पक्षमै बढी छन् । पछिल्लो समय राजनीतिमा आएको युवा पुस्ता भने ओलीको पक्षमा देखिन्छ ।

जनप्रतिनिधिहरू को कताकता ?

निर्वाचित जनप्रतिनिधिमा ओली पक्ष बलियो देखिन्छ । नेकपा एमालेका उम्मेदवारले अध्यक्ष जितेको ८ वटा स्थानीय तहमध्ये ३ वटा नेपाल पक्षमा छन् ।

नेत्रावती गाउँपालिकाका अध्यक्ष दुर्गाकुमार शाक्य, गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेत ओलीको पक्षमा छन् । थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य र उपाध्यक्ष अम्बिका रुपाखेती पहिलेदेखि नै ओलीकै हुन् । सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल र उपाध्यक्ष कमला शर्मा पनि ओलीकै लाइनमा छन् ।

ज्वालामुखी गाउँपालिका उपाध्यक्ष जानुका सिंखडा, गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा लामिछाने ओलीकै समर्थक हुन् । गंगाजमुना अध्यक्ष बलबहादुर अधिकारी र उपाध्यक्ष एञ्जिला तामाङले आफूहरू कुनै पक्ष विपक्षमा नरहेको भन्दै आए पनि ओलीकै लाइनमा छन् ।

धुनिवेसी नगरपालिका (खानीखोला क्षेत्र) का प्रमुख बालकृष्ण आचार्य र उपप्रमुख निरु खरेल दुवैजना नेपाल पक्षमा उभिएका छन् । गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापा र गजुरी गाउँपालिका उपाध्यक्ष सीता ढुंगाना नेपाल पक्षका अगुवा हुन् ।

टिप्पणीहरू