गुप्तचरमा गुपचुप दरबन्दी, आजको क्याबिनेटमा एसपीको बढुवा प्रस्ताव

गुप्तचरमा गुपचुप दरबन्दी, आजको क्याबिनेटमा एसपीको बढुवा प्रस्ताव

राष्ट्रिय अनुसन्धान विभागमा दरबन्दी थपेर यसअघि विभाग छिरेकाहरूको एसपी (उपअनुसन्धान निर्देशक) बन्ने चाहना आजकाे क्याबिनेट बैठकले पूरा गरिदिएकाे अनुमान गरिएको छ । रातारात एसपीको आठ वटा दरबन्दी थप्न लगाएर तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र एमालेबाट सुदूरपश्चिमका नेता गृहमन्त्री हुँदा सचिवालयमा काम गरिसकेकाहरू एसपीको लाइनमा बसेका हुन् ।

माथिल्लो तहमा मात्र दरबन्दी थपी अनुसन्धान विभागको स्वरुपलाई उँट बनाउन खोजिएको आरोप लागेको छ । स्रोतका अनुसार सरकारपक्षीय नेताहरूले नै आफ्नो गुट इतरका केही र काँग्रेसनिकट धेरैजना कार्यकर्तालाई एसपी बनाउन सिफारिस गरेका कारण क्याबिनेटमा उक्त प्रस्ताव रातारात पुर्याइएको हो ।

अघिल्लो बढुवामा छुटेका र अहिले नयाँ दरबन्दी थपेपछि बढुवाको दौडमा रहेका डिएसपीहरू पछिल्लो राजनीतिक माहौलका कारण आफ्नो ‘मक्सद्’ पूरा हुन लागेकोमा दंग छन् । यसअघि असार पहिलो हप्ताको बढुवा प्रक्रियामा आफूहरूमाथि अन्याय गरिएको भन्दै उनीहरूले भ्याएसम्मको ठाउँमा गुनासो पोखेका थिए । त्यतिबेला पनि वर्षौसम्म दुर्गम जिल्लामा बसेकालाई पन्छाएर सिंहदरबारको कम्पाउण्डबाट ननिस्केका नौ जना डिएसपीले बढुवा पाएका थिए ।

दुर्गम जिल्लामा बसेपछि आन्तरिक बढुवाको निम्ति आवश्यक नम्बरमा सबैभन्दा धेरै नम्बर जोडिने व्यवस्था छ । तर जिल्ला नटेकेकाहरू मात्र बढुवा भएपछि त्यतिबेला पीडितहरू आक्रोशित हुनु स्वाभाविक नै थियो । अहिले पहुँचको आधारमा अरु सीमित डिएसपीले पनि संगठनको आवश्यकतालाई पन्छाएर दरबन्दी थप्दै बढुवा प्रक्रिया रातारात अघि बढाउन कुनै कसर बाँकी नराखेपछि दुर्गममा रहेका सँधै दुर्गममा र डिएसपी सँधै डिएसपीमै सीमित हुने अवस्था बनेको हो ।

पछिल्लो तीन सातामा अस्वाभाविक तवरले बढुवा प्रक्रिया अघि बढाउन विभागले नाम मात्रको ओएन्डएम सर्भे गरेको आरोप लागेको छ । त्यहि ओएण्डएमलाई देखाउँदै आज भोलि नै प्रशासनिक प्रक्रिया पूरा गरेर तत्काल एसपी पदमा बढुवा गर्न लागिएको उच्च स्रोतले बताएको छ ।
स्रोत भन्छ, ‘विभागमाथि परेको चर्को दवाव थेगिसक्नु छैन । बढुवा हुनेहरूको सूचीसमेत अन्यत्रै बनेको महसुस भएको छ । तर बढुवा समिति देखाउनको लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिवको अध्यक्षतामा रहने कानुनी व्यवस्था छ ।’

तल्लो पदको दरबन्दी घटाएर माथिल्लो पदमा मात्र थप्नुपर्ने गरी निर्देशित रुपमा ओएन्डएम तयार पारिएको कर्मचारीले बताएका छन् । यसबाट तल्लो दर्जाका सयौं कर्मचारीको वृत्तिविकास अब दशकौंसम्म चौपट हुने खतरा छ । नयाँ ओएण्डएमअनुसार काठमाडौं, ललितपुर र हेटौंडाको तालिम केन्द्रमा एसएसपीको दरबन्दीसमेत प्रस्ताव गरिएको छ । हाल ती कार्यालय एसपीको कमान्डमा सञ्चालित छ्न ।

टिप्पणीहरू