अचम्मकी प्रतिभाशाली केटीको अवशान

कसै–कसैको विस्मात्को फेहरिस्त यति दर्दनाक हुन्छ कि– भन्न करै लाग्छ, ‘चाहे जत्रासुकै शत्रु किन नहुन्, यति भारी वियोग कसैलाई नपरोस् !’

परदेश त्यागेर देश र समाजलाई राम्रो गर्छु भन्दाभन्दै अघिल्लो हप्ता छोरी हिउँमा चिप्लिइन्, यसरी कि एकचोटि लडेपछि बिचरी फेरि उठिनन् । यसरी एउटा सुन्दर सपना पातालमुनिको देशबाट सधैँका लागि सपनामात्र भएर अनन्तमा उडिरह्यो, न उनी व्युँझिइन्, न उनको सपना नै !

‘विदेश नजाऊ छोरी’ भन्दाभन्दै गएकी र गएपछि फर्किन हतारिएकी उनी अब एउटा बाकसमा फर्किने भइन्, लमतन्न लाश भएर । थाहा छैन, यति ठूलो विस्मात्ले घेर्दा लेप्रोसी मिसनको नेपालस्थित निर्देशकको जागिरमा कुष्ठरोगीको समस्या हेर्ने र आफैँमा मुटुरोगी रहेका बुबा शोभाकर कँडेल र आमा लक्ष्मीले कसरी सहे होलान् ! ललितपुरको ढोलाढिटीमा बसोबास, मूलथलो बुटवल रहेको यो परिवार अहिले पनि पूरा होशमा छैन । त्यसरी सबैलाई वियोगमा पारेर प्राण त्यागेकी हुन्, २१ वर्षीया ममता कँडेलले ।

तीन वर्षअघि लिट्टिल एजेल्स स्कुलबाट ए लेभलमा नेपाल टप गरेकी ममता समाजशास्त्रको अध्ययन गर्न अमेरिका पुगेकी थिइन् । सडक बालकहरुको हितमा काम गर्थिन् र नेपाल फर्किएर महिला बेचबिखनविरुद्धका गतिविधिमा सहभागी हुने इच्छा राख्थिन् । यसक्रममा एकजना साथी नेपाल फर्किने भए । उसलाई एयरपोर्टसम्म छोड्न गएकी थिइन् ।

तर, हिउँमा चिप्लिएर राजमार्गको लेन नाघिँदा एउटा ट्रकको ठक्करमा परिन् । यसबाट पछिलो सिटमा बसेकी उनको स्पाइनल कर्डमा चोट लाग्यो । र, फेरि उठ्न सकिनन् । ‘अमेरिका बस्न मन छैन’ भनेर केही दिनअघि मात्र आमालाई सुनाएकी थिइन् । यही महिना छोरी फर्किने खुशीले कँडेल परिवारमा अर्कै उमंग छायो । उनलाई सम्झेर सुत्ने आमा र दिदीहरु दुई महिनादेखि राम्रो सपना देखिरहेका थिएनन् । उनले दुःख पाएको, संघर्ष गरेको, झ्यालबाट खसेकोजस्ता सपना देख्थे, आमा र दिदीहरु ।

ममता सानो कदकी थिइन्, तर विचार ठूलो र यात्रा लामो थियो । अमेरिकामा काम गरेर पढाईलाई निरन्तरता दिँदा गाह्रो पर्ने देखेर बुबा–आमाले ४० लाख रुपैयाँ खर्च पनि पठाए । भने, ‘तिमी काम नगर छोरी, पढ मात्र ।’ साथीहरुसँग खुला स्वभाव देखाउने उनी अमेरिकामा भेटिएका नेपालीका लागि भगवानै थिइन् ।

कसैलाई सानोभन्दा सानो समस्या हुँदा पनि आफ्नै ठानेर सहयोग गर्थिन् । डेरा नपाएकालाई फ्ल्याट खोजिदिने, कुनै कागजात नमिलेर समस्यामा परेकालाई प्रशासनिक निकायमा लगेर काम गरिदिनेजस्ता कुरामा उनको सक्रियता थियो । अमेरिका जानका लागि भिसा प्रोसेस आफैँ मिलाइन् ।

हजुरबुबा नातिनी आफूबाट टाढिएको राम्रो मान्दैन थिए । तर, बुटवल गएर मनाइन् । हजुरबुबाले हुन्छ भनेपछि बल्ल आमा, बुबालगायत अरुलाई अमेरिका जाने जानकारी दिएकी थिइन् । हजुरबुबाले नै स्वीकृति दिएपछि बुबा–आमाले रोकिरहन सकेनन् । तर, आज उनै बुबा–आमाको मन उसबेला किन पठाइएछ भन्ने कुराले भत्भति पोलिरहेको छ ।

छोरी दुर्घटनामा पर्दा बुबा शोभाकर कार्यालयको कामले विराटनगरमा थिए । बुबा र आमा एकपटक अमेरिका गएर गत सेप्टेम्बरमा फर्किएकी हुन् । आमाबुबासँग उताको भिसा छ । अर्को वर्षको डिसेम्बरमा हुने छोरीको दीक्षान्तका लागि जाने तयारी पनि चल्दै थियो । त्यसअघि ममता यही महिना छुट्टीमा नेपाल आउन लागेकी थिइन् ।

तर, अब ममता हैन, उनको शवमात्र आउँदैछ, साथमा खरानी भएका सपनाहरु ! अमेरिकामा बिहान ३ बजे एउटा जहाज उड्छ, सस्तो भाडादरको । नेपालीहरू निन्द्रा त्यागेर त्यो जहाज भेट्न दौडन्छन् । बिहान हिउँ पर्छ । हिउँमा गाडी चिप्लिन्छ र त्यसमा अक्सर नेपाली बढी परेका छन् ।

ममताले सिन्धुपाल्चोक, धादिङ, रसुवा र नुवाकोटलाई कार्यक्षेत्र बनाई बालबालिका, महिला तथा यौनकर्मीका विषयमा काम गर्ने योजनामात्र बनाएको हैन, तयारी नै थालिसकेकी थिइन् । नयाँ पुस्ताका नेपालीसँग नियमित सम्पर्कमा थिइन् । उनको निधनपछि अभिभावकले ‘ममता फाउण्डेशन’ बनाउने र छोरीको सपना पूरा गर्ने संकल्प लिएका छन् ।

उनीपछि मात्रै अमेरिकामा अन्य दुई नेपालीले यस्तै दुर्घटनामा ज्यान गुमाइसकेका छन् । डिसेम्बर १५ मा ट्रोए युनिभर्सिटीमा अध्ययनरत १९ वर्षीया अश्लेषा पण्डित र डिसेम्बर १७ मा ३८ वर्षीया सरिता शाक्यको ज्यान गएको हो । गएको महिना (नोभेम्बर ५) पनि गुल्मीका श्यामा खनाल, रिचा खनाल, सम्रिका पन्त र चिरञ्जीवी खनालले उनको जस्तै हविगत व्यहोर्नुपरेको थियो सडक दुर्घटनामा ।

त्यसैगरी ३६ वर्षीय किरन लामिछाने (जुलाई १, २०१६) को पैदल हिँड्दै गर्दा कारको ठक्करले ज्यान गयो । काठमाडौं, पकनाजोलका २१ वर्षीय रुसल श्रेष्ठ (मार्च १९, २०१६) र बाग्लुङकी ५६ वर्षीय इन्द्रकुमारी सुवेदी (जुन २३, २०१५) ले अमेरिकामै कार दुर्घटनामा ज्यान गुमाए । सडक दुर्घटनामै ३० वर्षीया म्रिदुशा एलेन (नोभेम्बर १०, २०१४), झापाकी २५ वर्षीया उर्मिला शर्मा (जुलाई ३, २०१४) र ३७ वर्षीया मञ्जु गुरुङ पुनमगर (डिसेम्बर ३१, २०१३) ले अमेरिकी भूमिमा प्राण त्यागेका हुन् ।

टिप्पणीहरू