यसरी पारित गरौं न

संविधान संशोधन प्रस्ताव फेरि अन्योलमा पर्न गएको छ । कारण के भने, यो प्रस्ताव दर्ता गरेर के गर्नु, पारितै हुँदैन । पारित नहुने प्रस्ताव कसरी दर्ता गर्ने ? त्यसमाथि संविधान संशोधन गर्न सामान्य बहुमत भएर पुग्दैन । पूरै दुई तिहाइ बहुमत चाहिन्छ । अब यस्तो प्रस्ताव कसरी पारित गर्ने ? सरकारलाई टेन्सन छ ।

तर म भन्छु, यो प्रस्ताव पारित गर्नै नसकिने होइन । मजाले पारित गर्न सकिन्छ । तर, आइडिया लगाउनुपर्छ । आइडिया लगाउने हो भने दुई तिहाइ होइन, पूरा तीनको तीनै तिहाइबाट पारित गर्न सकिन्छ ।

अब सरकारले के गर्नुपर्छ भने सबैभन्दा पहिले संसद्मा जति पनि सांसद छन् उनीहरू सबैलाई एक÷एक वटा पजेरो दिने प्रस्ताव दर्ता गर्ने वा भनौं यसलाई विधेयककै रूपमा दर्ता गर्ने । यसले सांसदबीच एक खालको उत्साह सञ्चार गरिदिनेछ । उत्साह सञ्चार हुनु राम्रै पनि हो । अनि गाडी सुविधा दिने जुन प्रस्ताव हो, त्यही प्रस्तावको पुछारमा ‘पुनश्चः’ भनी लेखेर संविधान संशोधनका बुँदा पनि जोडिदिनुपर्छ । यसो गर्दा गाडी सुविधाको प्रस्ताव पारित भएसँगै संविधान संशोधनको प्रस्ताव पनि स्वतः पारित हुन्छ । गाडी सुविधाको प्रस्तावमा संसद्मा भएका सम्पूर्ण सांसदले मत दिइहाल्छन् । त्यही मत स्वतः संविधान संशोधनमा पनि जाने नै भयो । अनि त संशोधन प्रस्ताव पनि तीन तिहाईबाटै पारित भइहाल्यो ।

कस्तो लाग्यो त आइडिया ? आज मुड चलेको छ, सरकारलाई फ्रीमा दिँदै छु ।

टिप्पणीहरू