अंगीकृत नागरिकता

आज बिहानैदेखि भजनलालको दिमाग तातिरहेको छ । मौसम चिसो छ । तर, दिमागमा तातो किन ?

भजनलाल आज बिहानै मेरो घर आएर भन्न थाल्यो, ‘यो अंगीकृत नागरिकतामा विवाद किन हँ ?’

दाँत माझ्दै थिएँ । थुऽ गर्दै भनें, ‘अंगीकृत नागरिकतामा विवाद छैन । अंगीकृत नागरिकलाई प्रमुख पदमा राख्नुहुँदैन भन्नेमा मात्रै विवाद हो ।’

‘राखेर के हुन्छ ?’ उसले सोध्यो ।

‘राष्ट्रको हित गर्दैन नि !’ मैले भनें ।

‘आजसम्म कुनचाहिँ वंशाणुगत नागरिकतावालाले देशको हित गरेको छ ?’ उसले फेरि सोध्यो ।

यस्तो कडा प्रश्न त भर्खर सुविधा बढाएका सांसदलाई पो सोध्नुपथ्र्यो । मलाई किन सोध्नु ? कुल्ला गर्दै भनें, ‘कुरा त्यस्तो होइन । अंगीकृत भनेको त विदेशी हुन्छ । विदेशीलाई देश चलाउन दिनुभएन नि !’

‘अहिले कसले चलाइरहेको छ ?’ फेरि ठाडो प्रश्न ।

‘नेपाल सरकारले ।’ मैले भनें ।

‘यो सरकार कसले बनाएको ?’ भजनले सोध्यो ।

‘हैन तिमीले कुरा बुझेनौ भजन…’ मैले बहस गर्न चाहिनँ ।

तर, भजन बहसकै मुडमा थियो । भन्दै गयो, ‘विदेशीले आएर सरकार बनाउन हुने, विदेशीको इशारामा देश चलाउन हुने, अनि त्यो देश चलाउने मान्छेचाहिँ विदेशबाट ल्याउन नहुने ?’

प्रश्न पेचिलो थियो । तर, भएर के गर्नु ? सरकारलाई सोध्नुपर्ने प्रश्न मलाई सोधेर हुन्छ ? अहिले भने मेरो दिमाग तातो हुन थाल्यो ।

टिप्पणीहरू