नमस्कारलाई किन कमजोरी छान्यौ गुरु ?

सामाजिक सञ्जालको जञ्जालमा परी कति आवाद भएका छन्, कति बर्बाद । सामाजिक सञ्जालकै कारण हालै मात्र गोरखाकी कुसुम श्रेष्ठ रातारात सेलिब्रेटी बनिन् । तर, त्यही सामाजिक सञ्जालका कारण पीडित बनेकी प्रौढ महिला हुँ म ।

प्रनिशा (नाम परिर्वतन) । पेशाले गृहिणी । आफ्नै गुरुबाट बर्बादीको मुखमा पुगेर भाग्न सफल भएकी । यस्ता नरपशुहरुबाट म र अरु युवतीले अस्मिता नगुमाउन् भन्ने उद्देश्यले लेख्दैछु सत्य  घटना ।  स्कूले शिक्षा बानेश्वरस्थित रत्नराज्यमा पढेको । हिसाबमा केही कमजोर थिएँ । भाइले बानेश्वरकै अमर आदर्शमा अध्ययन गरेको । त्यो बेलाको चर्चित स्कूल अहिले कोल्याप्स भयो । सोही स्कूलमा अध्यापन गराउँथे चन्द्रसिं साउद ।

माइती बानेश्वरनजिकै एउटा कोठा लिएर बस्थे । आफू गणित विषयमा कमजोर भएको र उनी गणितको शिक्षक भएकै कारण ट्युसन पढ्न थालें । एक महिना, दुई महिना मात्र होइन, आठ कक्षादेखि आइए दोस्रो वर्ष पार गर्दासम्म गणितको ट्युसन पढें ।

गुरु र शिष्यको प्रगाढ सम्बन्ध थियो हामीबीच । त्यो समयसम्म गुरुको चरित्र एकदमै स्पटिक जस्तै थियो सफा । समयक्रमसँगै म कता हुत्तिएँ । छोरीको जात विवाह गरी पराई घर सम्हाल्नुपर्ने । पराईलाई आफ्नो ठानी जानुपर्ने । लमजुङ घर भएका एक व्यवसायीसँग विवाह बन्धनमा बाँधिएँ । केही वर्षपछि छोरी जन्मिन् । उनकै स्याहारसुसारमा जिन्दगी गुज्रन थाल्यो ।

श्रीमान लमजुङमै इशानेश्वर नामक अस्पताल चलाउनुहुन्थ्यो । त्यो अस्पताल अनेक कारणले बन्द भयो । पछाडि प्लाई उद्योग चलाउन थाल्नुभयो । हामी आमा–छोरी काठमाडौं सामाखुसीस्थित घरमा बस्दै आएका छौं ।

यही बीच २०७२ सालको वैशाख १२ गते शक्तिशाली भूकम्प गयो । कुराकानीकै सिलसिलामा एक जना साथीबाट चन्द्रसिं साउदको घर पनि भत्किएको कुरा मेरो कानमा प¥यो । आफ्नो गुरुको घर भत्किएको खबरले मनमा चिसो पस्यो । सामाजिक सञ्जालको जमानामा फेसबुकबाट उहाँलाई (सर्च गरें) खोजें । लामो मेहनत पछाडि भेटाएँ ।  

नामै चन्द्र– त्यसै उज्यालो, त्यसमा पनि चिटिक्क परेको पोक्चे गोलो अुनहार, सानैदेखि बैतडीको हावापानीले सजाएको, झन् हट्टाकट्टा चन्द्र सर साँच्चै भन्नु पर्दा कुनै पनि नेपाली फिल्मको हिरोभन्दा कम थिएनन् । बिहान कलेज, दिउँसो स्कुल अनि साँझ ट्युसन । यति धेरै व्यस्त मान्छे मैले कहिल्यै काठमाडौंमा देखेको थिइन । एउटा मेहनती र इमान्दार मान्छे ठानेर २० वर्षपछाडि उनलाई सामाजिक सञ्जालमा खोजेको हुँ ।

रिक्वेस्ट पठाएको केही घण्टा पछाडि उहाँले मित्रता स्वीकार्नुभयो । परिचय आदानप्रदान गर्दै नम्बर साँटासाँट ग¥यौं । नम्बर हात पर्नेबित्तिकै फोन गरें । गुरुलाई अभिभावक जस्तो ठानेर दुई चारपटक आफैंले फोन गरें । यो पछाडि मैले फोन  डायल गरिन । उठाउने मात्र काम गरें ।
यो क्रम केही हप्ता चल्यो । भेटघाटका लागि बोलाए । कार्यालय नेपाल इन्स्योरेन्स । उनी प्रमुख कार्यकारी अधिकृत । दशैं अगाडिको एक दिन सोध्दै खोज्दै घण्टाघरबाट केही पछाडि रहेको कार्यलयमा पुगें । श्रद्धा, आदरपूर्वक नमस्कार टक््रयाएँ । उनी व्यस्त थिए । कफी खाएँ र केही दिन पछाडि फेरि भेट्ने गरी छुटिएँ ।

त्यसपछाडि तीन–चारपटक फोनमा कुराकानी भयो । उनैले बोलाए युनिभर्सल क्याफे धुम्बाराहीमा । गुरुले बोलाएपछि खुशी हुँदै समयमै पुगें । गत असोज ३० गते आइतबार दिँउसो तीन बजे हामी त्यहीं भेटियौं । मैले कोक खाने इच्छा जाहेर गरें । तर, उनले मानेनन् ।
विगत ६ वर्षदेखि डिप्रेसनको औषधि खाइरहेको छु– चन्द्रसरलाई मैले यो कुरा यस अगाडिको भेटमा भनिसकेको थिएँ । उनले डिप्रेसन रोग पनि ठीक हुने दबाई खुवाउँछु भन्दै ड्रिंक्स अर्डर गरे । गुरुले भनेको मानिन तर उनले हप्काँउदै ड्रिंक्स पिलाए । चार÷पाँच पेग कति खाएँ थाहा छैन । उनले पनि पिए । उनैले यहीं नजिकै मेरो घर हो, भाउजूलाई पनि भेटौंला भन्दै घर जाऊँ भने । त्यतिबेलासम्म मैले उनलाई आदर्श गुरुकै रुपमा हेरिरहेकी थिएँ ।  

त्यहाँबाट दुई मिनेट हिँडेपछि उनले भनेको घर आयो । त्यहाँ एक जना महिला थिइन् । उनैले भित्र कोठामा जान भनिन् । भित्र पट्टीको कोठामा सोफामा गएर बसें । चन्द्र सर केही क्षण पछाडि आए र कोठाभित्र छिर्न नपाई भित्रबाट चुकुल लगाए । सरको नियतमाथि शंका लाग्यो । उनी त आफ्नो लुगा खोलेर मेरो संवेदनशील अंगमा हात अगाडि बढाउन थाले । मैले पटक–पटक भनें पनि, ‘सर, मैले तपाईलाई यो रुपमा कहिले पनि हेरेको छैन, विद्यार्थी भनेको छोरी बराबर हो ।’ नहेरे के भयो त भन्दै उनले मेरो सुरुवाल खोल्न थाले ।

म त्यहाँ गुरुप्रतिको अगाध श्रद्धा र चोखो मन बोकेर गएको थिएँ । तर, उनको त्यो हिंस्रक र जंगली व्यवहार सहन सकिनँ । गालामा झापड लगाएँ, हातमा टोकिदिएँ । उनी रन्थनिँदै थिए । आधा होस, आधा बेहोसमा भागें ।

धुम्बाराहीको मुख्य सडकमा निस्किएँ । ट्याक्सी खोजें, तत्काल भेटिनँ । पछाडि उनी आइरहेको देखें । म त्यहाँबाट सार्वजनिक गाडी चढेर घरतर्फ हिँडें । अर्धबेहोस अवस्थामा घर पुगेँ । सुनेको थिएँ, यस्तो अवस्थामा कागतीपानी पियो भने ह्याङबाट मुक्त भइन्छ । घर गएर प्रशस्त कागती पानी पिएँ । त्यसै त मानसिक रोगी, यो घटनापछि बाटोमा जो पुरुष देख्यो, उही बलात्कारी जस्तो लाग्थ्यो । आफ्नै श्रीमानलाई समेत यो घटनाबारे भन्न सकिनँ । भोलिपल्ट आत्तिँदै सुनाएँ ।

यो मानसिक यातनाबाट मलाई बाहिर आउन झण्डै हप्ता दिन लाग्यो । त्यस दिनदेखि गुरुप्रतिको मेरो असिम आदर, श्रद्धा सत्कार चकनाचुर भएको छ । मेरो नमस्कार तिरस्कारमा बदलिएको छ । उनले म जस्तै कति अबलालाई यसैगरी करणी र यस्तो प्रयास गरेका होलान् । धिक्कार छ गुरु चन्द्र सर । आखिर ठूलो ओहदा र पदमा बस्दैमा कोही सभ्य र सुसंस्कृत मान्छे नहुँदो रहेछ । एउटा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतसमेत रहिसकेको व्यक्तिबाट यस्तो खालको घृणित कुकृत्य होला भन्ने मैले सपनामा पनि चिताएको थिईन ।

जबसम्म मान्छेभित्रको पशुत्व प्रवृत्ति मर्दैन । तबसम्म ऊ मान्छे कहलिँदैन । आफ्नै छोरी उमेरको र आफैंले पढाएको विद्यार्थीलाई समेत यौनदुव्र्यबहार गर्ने चन्द्रसिं साउद अहिले पनि आफूलाई कांगे्रस नेता एनपी साउदको भाइ हुँ भन्दै हिँड्छन् । तर, एनपीका चन्द्र नाम गरेका कुनै भाइ छैनन् । यस्ता फटाहा व्यक्तिबाट सबै महिलालाई सजग रहनुहुन आग्रह गर्दछु ।  

प्रनिशा शर्मा (सामाखुशी)

चतुर चन्द्र

आफू प्रनिशाको गुरु रहेको र अमर आदर्श स्कुलमा अध्यापन गराएको समेत स्वीकार गरेका चन्द्रलाई जनआस्थाले यस सन्दर्भमा जिज्ञाशा राख्न उनको मोवाइलमा पटक पटक सम्पर्क गर्दा ‘तपाईंले गलत नम्बरमा सम्पर्क गर्दै हुनुहुन्छ’ भन्दै फोन काटिदिए ।

टिप्पणीहरू