ब्युटीपार्लर हिँडेकी बेहुली गहना लिएर बेपत्ता (बेहुलासँगको कुराकानीसहित)

ब्युटीपार्लर हिँडेकी बेहुली गहना लिएर बेपत्ता (बेहुलासँगको कुराकानीसहित)

गैंडाकोट नगरपालिकामा विवाहको दिन बेहुली बेहुलातर्फको गरगहना र नगद लिएर गायब भएकी छन् । शनिबार विवाहको कार्यक्रम हुँदै गर्दा ब्यूटी पार्लर जान्छु भनेर हिँडेकी बेहुली उतैबाट फरार भएपछि बेहुला पक्षले प्रहरीमा उजुर हालेका छन् ।

दुई महिनादेखि गैंडाकोट–४, लखनचोकको डेरामा एक्लै बस्दै आएकी गोरखा घर बताउने २८ वर्षीया सलिना खनाल ४ लाख रुपैयाँ बराबरको गरगहना र १ लाख नगद लिएर फरार भएको बेहुलाको परिवारले बताएको छ । तर प्रहरीमा भने ३ लाख बराबरको गरगहना र पटक पटक गरी दिइएको करिब १ लाख नगद लिएर सलिना फरार भएको उजुरी प्राप्त भएको इलाका प्रहरी कार्यालय,गैंडाकोटका इन्सपेक्टर लक्ष्मी खनालले जानकारी दिनुभएको छ ।

परिवारमा कोही पनि नभएको बताउँदै आएकी सलिनाको गोरखामा आफ्नी भाउजू रहेकाले त्यहिँको मन्दिरमा शनिवार विवाह गर्ने आग्रहबमोजिम बेहुला पक्षले तयारी गरेको थियो । बिहान करिब ९ बजे बेहुली पार्लर गएर नफर्केपछि बेहुलापक्षको ओठ तालु सुकेको हो । लामो समयसम्म नफर्केपछि आफूहरूले फोन गरेको तर ‘पार्लरमा छु,अहिले फोन उठाउन मिल्दैन’ भनेकी सलिनाले त्यसपछि मोबाइल अफ गरेको केटा पक्षले बताएको छ । लगत्तै खोजतलास गरे पनि विहेको लागि तयारी गरिरहेकी बेहुली एकाएक गायब भएकी हुन् ।

सलिनाको गैंडाकोट–४ का ईश्वरीप्रसाद अर्यालसँग शनिवा विवाह पक्का गरिएको थियो । आफू र बेहुली खनालबीच एक महिनादेखि निरन्तर कुराकानी भइरहेको बेहुला अर्यालले बताएका छन् । सलिना र कतारमा रहेका ईश्वरीको चिनजान र भेटघाट नजिकैकी छिमेकी दिदीले गराएकी हुन् ।

सलिनाले विवाहको लागि तयार पारिएको सुनका गहनाहरूमध्ये इण्डियन मंगलसूत्र,तिलहरी,नत्थि, झुम्कासहित एक लाख नगद लिएर गएको बताइन्छ । बेहुलीको शनिबारअघिको भनाई उद्धृत गर्दै बेहुलापक्षले भनेको छ ‘सलिनालाई उनको परिवारले हेप्ने गरेको भन्थिन् । त्यसैले परिवारलाई देखाउनको लागि भए पनि गरगहना लगाएर जान्छु भनेपछि आफूहरूले अघिल्लो दिन नै गरगहना उनलाई दिएको हो ।’

तर शनिवारपछि उनका सानो बुबा भन्ने मान्छेले पनि फोन नउठाएको र भाउजू भनिएकी गोरखाकी महिलाले सलिनासँग आफ्नो कुनै नाता नरहेको बताएकी छन् । भाउजूले यतिखेर आफू गोरखाबाट बाग्लुङ पुगेको फोनमा बताएको बेहुलाका एक जना नातेदारले जानकारी दिए ।

यसबारेमा थप जानकारी लिन खोज्दा इलाका प्रहरी कार्यालय, गैंडाकोटका इन्सपेक्टर लक्ष्मी खनालले तत्काल अनुसन्धान प्रक्रिया अगाडि बढाइएको तर घटनाबारे विस्तृत रुपमा बताउन नमिल्ने बताउनुभएको छ ।

भिडियाे साभार विजय एफ.एम 

https://www.facebook.com/vijayafm/posts/5621669907904782

टिप्पणीहरू