सिंगो गाडी राजधानीमा स्वाट्टै

‘जति भए पनि नपुग्ने’ एकजना हाकिम सा’ब राज्यलाई बुझाउनुपर्ने सम्पत्ति दम्पच पारेर आफ्नै तालमा मग्न छन् ।
राजश्व अनुसन्धान पथलैया इकाइबाट ०७१ माघ २६ मा चलानी भएर भोलिपल्ट काठमाडौंस्थित विभागमा दाखिला भएको ना.२ च. ७९३० नम्बरको स्कोर्पियो गाडी अहिले कहाँ छ ? बुझ्दै जाँदा पत्तो लाग्यो, सिडिओबाट राजश्व अनुसन्धानको महानिर्देशक बन्न पुगेका रामशरण चिमोरियाले कब्जा गरेका छन् । राजश्वमा चार–पाँच महिना बसेर स्वास्थ्य मन्त्रालय हाजिर भएका चिमोरियाको ठाउँमा नयाँ महानिर्देशक निर्मलहरि अधिकारी गएको पनि आधा वर्ष बितिसक्यो । गैरकानुनी रुपमा नेपाल भित्रिएको उक्त गाडी भन्सारले जफत गरी राजश्वलाई बुझाएको हो । भन्सारले बुझाएको लगत देखिन्छ, तर नियमानुसार राजश्वको श्रेस्तामा आम्दानी बाँधिएन, निर्णयार्थ मन्त्रालयमा फाइल पनि पठाइएन † कतिपय जटिल प्रकृतिका विषयलाई विभागले निप्ट्याउन सकेन भने माथिल्लो निकायको राय लिने चलन छ । तर, न तल, न माथि– गाडी कहाँ गयो ? यसबारे कुनै कागज बोल्दैन । अर्थात्, चिमोरियाले व्यक्तिगत रुपमा उक्त गाडी प्रयोग गरिरहेका छन् । आफूसँग सुविधामा पाएको सरकारी गाडी छँदैछ । र, पनि राजश्वबाट गाडी उनले छाडेनन् । बरु, काठमाडौंको सिडिओ बन्नलाई त्यही गाडीमा खुब दौडधुप गरे । त्यही गाडी चढेर लगेको काठमाडौंको सिडिओ, गृहको कप्र वा शान्तिसुरक्षा महाशाखा जान विभिन्न दलका नेताकहाँ लबिङ पनि गरे । तर, पठाइए स्वास्थ्य मन्त्रालय । ‘त्यो गाडी कसले चलाएको छ ?’ भनी सोध्दा अहिलेका डिजी निर्मलहरि जनाउँछन् । र, घटनाबारे सुनायो भने ‘ए हो र ! त्यस्तो हुनै सक्दैन’ भन्दै टक्टकिन्छन् । यसरी दिनदहाडै सिंगो गाडी निल्न सक्ने यी हाकिमले अरु के–के गरे होलान् ?

टिप्पणीहरू