खोला खोतल्नेहरु,जसलाई जस्तै मैँ हुँ भन्नेले पनि रोक्न सकेनन्

खोला खोतल्नेहरु,जसलाई जस्तै मैँ हुँ भन्नेले पनि रोक्न सकेनन्

-एनपी क्षेत्री

बुटवलको देवीनगर क्षेत्रमा जनताको तटबन्ध कार्यक्रम अन्तरगत लाखौँ रकम खर्चेर निर्माण गरिएको तटबन्ध नजिकै ठुल्ठूला मेसिन प्रयोग गरेर अवैध उत्खनन भइरहेको छ । प्रगतिनगर र अपाङ्ग आश्रमको ठीक तलपट्टि खोलामा हिजो (शनिबार दिउँसो ४:३० बजे ) एउटा स्काभेटरले जथाभावी उत्खनन गर्दै छेउमै लामबद्ध खडा रहेका ट्याक्टर भर्ने काम गरिरहेको थियो ।

जहाँ स्काभेटरले नदीजन्य पदार्थ खनिरहेको छ,त्यहीँ नजिकैको ढिस्कोमा गत साल निर्मित जनताको तटबन्ध छ । उक्त तटबन्धको जग सबै खोतलिरहँदा माथि रहेको तटबन्धले अबको बर्षामा तिनाउमा उर्लिने बाढी छेक्ला कि नछेक्ला त्यो भविश्यले देखाउला ।

तटबन्ध नजिकै घर बनाएकाहरु पनि निषेधाज्ञाको कारण अन्य रोजगारीको बाटो बन्द भएपछि बोरामा बालुवा भर्न ब्यस्त देखिन्छन् । यतिबेला तिनाउका बगरमा बालुवा भर्नेहरुको ताँती नै लागेको छ ।

स्थानीय सरकारले भने क्षेत्र तोकेर नदीजन्य पदार्थ निकाल्न ठेक्का लगाएको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले बताए । उनले भने, “जनताको तटबन्ध नजिकै त्यसरी उत्खनन् भएको भए हामी कारबाही गर्छौँ । नगरपालिकाले कानुनबमोजिम ज्येष्ठ मसान्तसम्म ठेक्का लगाएर उत्खनन् गर्नेगरी अनुमति दिएको हो ।”

नगरपालिकाले अनुमति दिएको भएता पनि ठेकेदारले भने मनपरी सङ्ग नदी दोहन गरिरहेको छ । देवीनगर,रानीगन्ज,मगरघाट क्षेत्रमा यतिबेला जथाभावी दोहन भइरहेको छ ।

यसैगरी सियारिको धनसर, देवदहको घोडाह ,भलुही, चरङ्गे र टटेरामा पनि नगरपालिकाले दिएको अनुमतिभन्दा बढि उत्खनन् भइसकेको छ । तर स्थानीय सरकारका प्रतिनिधि मौन छन् । घोडाहामा गौरवको आयोजनाको नाममा जथाभावी उत्खनन् भइरहेको छ । घोडाहामा प्रदेश वन मन्त्रालयले उत्खनन् गर्न नमिल्ने भन्दै तीन दिनसम्म रोक समेत लगाएको थियो तर खोलाका डनहरुको अगाडि मन्त्रालय निरीह बन्न पुग्यो । वनले रोक्दारोक्दै जिल्ला समन्वयको एउटा सामान्य पत्रको आधारमा घोडाहा खोलामा पुन उत्खनन् भइरहेको छ । देवदहका प्रमुख,उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत,खोला रोक्ने वन कार्यालय,प्रदेशका वनमन्त्री,सिडिओसमेतलाई सेटिङ मिलाएपछि ठेकेदारले पुनस् खोला खन्ने अनुमति पाएको छ । यद्यपि वन कार्यालयले पहिले उत्खनन् नगर्न पत्र पठाएको थियो तर पछि खोल्नु भनेर पत्र पठाएको छैन । यसरी वनले रोक्दारोक्दै वन क्षेत्रमा रहेको घोडाहामा अहिले पनि उत्खनन् भइरहेको छ ।

यता ठेकेदारहरुले तोकेको नदीजन्य पदार्थ बराबरको उत्खनन् गरिसकेको भन्दै तिलोत्तमा नगरले भने आफ्नो क्षेत्रमा लगाएको नदीको ठेक्कामा रोक लगाइसकेको छ । जबकि ती सबै ठेक्काको समय जेठ मसान्तसम्म थियो । तिलोत्तमा नगरले अनुगमन गरेपश्चात् तोकेको परिमाण निकालेको देखेर रोकेको हो । तिलोत्तमाले त्यसरी हिम्मत गरिरहँदा अन्य पालिका भने ठेकेदारलाई जेठ मसान्तसम्म समय दिएको भन्दै चुप बसेका छन् ।

टिप्पणीहरू