बादलकी श्रीमतीलाई सञ्चार,मधेसी दललाई थप मन्त्रालय

बादलकी श्रीमतीलाई सञ्चार,मधेसी दललाई थप मन्त्रालय

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्याबिनेटलाई आज फेरि पुनर्गठन गर्न लाग्नुभएको छ । एमालेको खनाल-नेपाल समूहका नेतालाई मन्त्री बनाउन केही मन्त्रालय बाँकी राखिएको प्रचार गरिए पनि अन्ततः आफ्नै मान्छेको छनोट भएको छ ।

पूर्व माओवादीहरुको तर्फबाट रामबहादुर थापा बादलकी श्रीमती नैनकला थापालाई सञ्चार मन्त्रालयको जिम्मा दिने प्रस्ताव अघि सारिएको छ । बादललगायतलाई पुनः मन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतको पछिल्लो आदेश बाधक भएपछि नयाँ नाम छानिएको बताइन्छ ।

त्यसैगरी पूर्वमाओवादीको तर्फबाट ज्वालाकुमारी साहलाई कृषि मन्त्रीको प्रस्ताव गरिएको छ । साहलाई प्रभु साह र टोपबहादुर रायमाझीको कोटामा पारिएको हो। गृहमा प्रधानमन्त्रीका निकटस्थ पूर्व स्वास्थ्यमन्त्री कास्केली खगराज अधिकारीलाई नियुक्त गरिने पक्कापक्की झैँ छ । उद्योगमा राजकिशोर यादवलाई लैजाने प्रवल सम्भावना रहेको बताइन्छ । यादवसमेत मन्त्री बनेमा राजपाबाट ११ जना मन्त्री हुनेछन् । पूर्व सञ्चारमन्त्री यादवलाई जातीय नाताले उपेन्द्र यादवतिर जानबाट रोक्न लागिएको हो ।

सामान्य प्रशासनमा पहिले माधवकुमार नेपालसँग रहेर अन्तिममा हस्ताक्षर नगरेका सिन्धुलीका गणेश पहाडीको नाम अघि सारिएको स्रोतले बताएको छ । त्यसैगरी,प्रधानमन्त्री कार्यालयमा रहनेगरी कर्णालीका मोहन बानियाँ (समानुपातिक) र वनमा नारदमुनी रानालाई सघाउन राज्यमन्त्रीमा आशा बिक (सुदूर पश्चिम) को नियुक्ति हुनेछ ।

यसो हुँदा राप्रपाबाट मन्त्री हुने चर्चा र सम्भावना सकिनेछ भने चितवनका कृष्णभक्त पोखरेलको बाटो पनि छेकिएको निश्चित भएको छ । सम्भवतः आजै दिउँसो सपथ ग्रहण गराउने प्रक्रिया अघि बढेको छ ।

रक्षा मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री ओलीसङ्गै रहने छ । यसअघिका रक्षामन्त्री इश्वर पोख्रेलले छ जना सचिवलाई चलाउनुपर्ने गाह्रो काम सम्हाल्नेगरी आफैले सरुवा मागेर प्रधानमन्त्री कार्यालय गएको भन्नुभएको थियो । त्यो जिम्मेवारी इश्वर हटेपछि अब कर्णालीका मोहन बानियाँले सम्हाल्नेछन् ।

टिप्पणीहरू