अनेक अप्ठेरा छन् हाम्रा अदालतमा

अनेक अप्ठेरा छन् हाम्रा अदालतमा

भर्खरै सकिएको सर्वाेच्च अदालतको फूलकोर्ट बैठक (जुममार्फत) ले संवैधानिक इजलाशसम्बन्धी नियमावली ०७२ तत्काल संशोधन गर्नुनपर्ने निर्णय गरेको छ । वरिष्ठ न्यायाधीशहरुलाई राखेर संवैधानिक इजलास गठन गर्न कुनै बाधा व्यवधान नरहेको कारणले तत्काल नियमावली संशोधन गर्नु नपर्ने निष्कर्ष निकालिएको हो ।

प्रतिनिधिसभा विघटनविरुध्दको मुद्धाकाे निम्ति संवैधानिक इजलाश गठन गर्नमा पनि फेरि सकस देखिने स्थिति छ । यही रोष्टरबाट इजलाश गठन भएमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की,मीरा खड्का,हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठलाई समेट्नुपर्ने हुन्छ । विश्वम्भर कोभिड कन्ट्याक्ट ट्रेसिङमा परी होम आइसोलेसनमा रहनुभएका कारण उहाँपछिका ईश्वरप्रसाद खतिवडा पर्ने स्थिति छ ।

अघिल्लो संसद बिघटन हुँदा पूर्व महान्यायधिवक्तासमेत रहनुभएका हरिकृष्ण कार्कीमाथि प्रश्न उठेर इजलाश छाड्नु भएको थियो । उहाँ प्रधानमन्त्रीलाई विपक्षी बनाइएको मुध्दा भएका कारण यसपटक पनि रहने वा नरहने टुंगो छैन । उहाँले इजलाशमा बस्न इन्कार गरेमा आनन्दमोहन भट्टराई सो इजलाशमा समेटिनुहुन्छ ।

अघिल्लो मंगलबार दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले संवैधानिक इजलाश छाडेर हिंड्नु भएको थियो । कथँ उहाँहरुले फेरि बन्ने इजलाशमा बस्न इन्कार गरेको अवस्थामा अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतलाई तान्ने सम्भावना रहन्छ । जसमध्ये अनिलकुमार सिन्हाले अघिल्लो प्रतिनिधि सभा बिघटनको मुध्दा हेरिसक्नुभएको कारण उहाँमाथि पनि प्रश्न उठ्न सक्छ । सपना मल्लको हकमा पनि त्यही लागू हुन्छ । उहाँहरु पछि तेजबहादुर केसी र बमकुमार श्रेष्ठ त अहिलेको लफडाको जड नै हुनुभयो । अनि पालो आउँछ १३ औं नम्बरका टंक मोक्तानको ।

२३ गते सुनुवाई हुने प्रतिनिधि सभा बिघटनसम्बन्धी रिटको सुनुवाई हुने संवैधानिक इजलाश निर्विवाद बनाउने हो भने चोलेन्द्रसँगै मीरा खड्का,ईश्वर खतिवडा,प्रकाश राउत र टंक मोक्तानको इजलाश बन्न सक्नेछ ।

टिप्पणीहरू