नेपाल-खनाल खेमामा झन खरोसङ्ग उत्रिने सहमति

नेपाल-खनाल खेमामा झन खरोसङ्ग उत्रिने सहमति

वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालनिकट एमाले केन्द्रीय सदस्यहरुको आज दिउँसो बसेको भर्चुअल बैठकले नेपालको कम्युनिष्ट आन्दोलनलाई बचाउने निर्णय गरेको छ । बैठकले कम्युनिष्ट एकता आजको आवश्यकता रहेको समेत निश्कर्ष निकालेको छ ।

आजको बैठकमा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट र पार्टी एकताविरोधी रहेको निचोड निकाल्दै अर्को पक्षको चाहनाले मात्रै एकता सम्भव नहुने बताइएको थियो । सबै सदस्यहरूबीच कम्युनिष्ट एकताको निम्ति पार्टीभित्र र आवश्यकताबमोजिम बाहिरसमेत निरन्तर संघर्ष गर्ने सामूहिक निर्णयसमेत भएको छ ।

८६ जना केन्द्रीय सदस्य सहभागी बैठकले यसबीच बालुवाटार पक्षले छरेका भ्रम र आशंकालाई निरुपण गरेको बताइन्छ । बैठकको प्रारम्भ गर्दै नेता नेपालले पार्टीभित्र ओलीको एकपक्षीय कारबाहीका कारण औपचारिक संवादको ढोका बन्द भएको बताउनुभएको थियो ।

उहाँले घटनाक्रमलाई स्पष्ट पार्दै भन्नुभयो ‘साथीहरूले अनौपचारिक संवादको ढोकालाई जारी राख्नुपर्छ भन्नुभयो, त्यसोभए हुन्छ गर्नुस् भनेँ । त्यसरी संवादमा सहभागी हुने साथीहरूले विषयवस्तुमा केन्द्रित रहेर छलफल गर्नुभएको छ । उताका साथीहरूले राखेका कुराको बारेमा समेत हामीलाई तत्काल जानकारी गराउनुभएको छ । त्यसैले त्यसबारे सम्बन्धित साथीहरूले नै आजको बैठकमा जानकारी गराउनु हुनेछ ।’

त्यसपछि बोल्नुभएका उपाध्यक्ष भीम रावलले वार्ताको निम्ति बनेको कार्यदलको संयोजकलाई नै कारबाही गरेपछि आफू वार्तामा सरिक नभएको बताउनुभएको थियो ।

उपमहासचिव घनश्याम भुसालले यसबीच बालुवाटारसँग आफ्नो पक्षले गरेका सबै भेटघाट र छलफलको सविस्तार चर्चा गर्नुभएको थियो । उहाँले कुन बैठकमा कसले के एजेण्डा राखेको थियोदेखि आफूहरूले के भनिएको थियोसम्मका टिपोट प्रस्तुत गर्नुभएको बताइन्छ ।

त्यसैगरी उहाँले आफ्ना भनाई र तर्कसँग उताका (बालुवाटार) ले के भने,के प्रस्ताव राखेसम्मको बुँदा प्रस्तुत गर्नुभएको थियो । पछिल्लो पटक सोमबार साँझ दरबारमार्गस्थित एउटा पाँचतारे होटलमा भएको आफ्नो पक्षका चार जना नेता र बालुवाटारतर्फका तीन जनाबीचको छलफलमा कुरोको गाँठो केमा अड्किएको भन्नेसम्मको विश्लेषण गरिएको थियो ।

उहाँले सविस्तार चर्चा गर्दै भन्नुभयो ‘अनि कुरो मिलेन । सवा दुई घण्टापछि सबै जना उठ्यौं । त्यसपछि आफूहरू चार जना पुनः एक घण्टा बसेर छलफल गर्यौँ ।’ त्यो दिन सुवास नेम्वाङ,विष्णु पौडेल र प्रदीप ज्ञवालीको समूहले नेपालपक्षलाई अदालतमा हालिएको मुद्दाको स्वामित्व तत्काल फिर्ता लिनेगरी प्रक्रिया अघि बढाएको अवस्थामा पार्टी एकता गर्न आफूहरू तयार रहेको बताएको थियो । उहाँहरूले मुद्दा फिर्ता लिने आशयले सार्वजनिक धारणा बाहिर ल्याउनुपर्ने भनेपछि नेपाल समूहको टोलीले इन्कार गरेपछि वार्ता रोकिएको बताइयो ।

त्यस दिनको बैठकबारे स्थायी समिति र नेता नेपाललाई तत्काल जानकारी गराइएको उहाँले सबैका सामुन्ने राख्नुभएको थियो । भुसालको लामो धारणापछि सबैलाई यसबीच भएको छलफलबारे सामूहिक जानकारी हुने गरेको रहस्य खुलेको थियो । जसका कारण बालुवाटारले बेलाबखत गरेका हल्लालाई आजको भर्चुअल बैठक चिरेकोमा सबैजना विश्वस्त देखिनुभएको बताइन्छ ।

आजको बैठकमा सहभागी अधिकांश सदस्यले एकता आफूहरूको आकांक्षा रहेकोमा जोड दिनुभएको थियो । उहाँहरूले आवश्यकता पनि रहेको तर एकता विरोधी र कम्युनिष्ट विरोधी अध्यक्ष रहेसम्म त्यो सम्भव नदेखिएको बताउनुभएको हो । सहभागीहरूबाट एकताविरोधी अध्यक्षकै पालामा एकता र कम्युनिष्ट आन्दोलनको एजेण्डालाई आफूहरूले बचाइराख्नुपर्ने सहमतिसमेत भएको छ ।

छलफलको निचोड सुनाउँदै अर्का एक जना सहभागी नेताले भन्नुभयो ‘वार्ता र सम्वाद जारी राख्नुपर्छ,परिणाम नआउञ्जेल हुनुपर्छ । वार्ता चलिरहेको छ भनेर आफ्ना गतिविधि बन्द गर्न हुँदैन । वार्ता भयो भन्दैमा ओलीको दैलोमा जानको लागि दगुर्ने मनस्थितिमा बस्नु हुँदैन । आफ्ना कमिटी र जिम्मेवारीलाई निरन्तर सञ्चालन गर्ने, त्यसैको आधारमा २०७५ जेठ २ को आधारमा होइन भोलि परिस्थिति अर्कै भएमा ५० प्रतिशतको हैसियतमा समेत पार्टी एकता गर्नुपर्ने अवस्था आउन सक्छ ।’

बैठकले केन्द्रीय समितिको कार्यविभाजनलाई पुनर्गठन गरेर अघि बढ्ने सहमति समेत गरेको छ । यसअघि भएका विभिन्न खालका वार्ता र छलफलको विषयबारे पार्टी कमिटीभित्रको सूचना प्रवाहमा देखिएको कमजोरीका कारण केही केन्द्रीय सदस्यमा पर्न गएको गलत भ्रमलाई बैठकले निराकरण गरेको बताइन्छ । आजै पनि एमालेको तर्फबाट पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले केन्द्रीय सदस्यहरूलाई अनधिकृत जुम बैठकमा भाग नलिन पार्टीको तर्फबाट भन्दै चेतावनी दिनुभएको थियो ।

आजको बैठकमा नेता रघुजी पन्त बिरामीका कारण सहभागी नहुनुभएको जानकारी दिइएको थियो ।

टिप्पणीहरू