अब नेपालमा हुन्छचाँहि के ?

अब नेपालमा हुन्छचाँहि के ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने घोषणा गरेपछि राजनीतिक वृत्तमा नयाँ बहस शुरु भएको छ ।

नेकपा माओवादी केन्द्रले सरकारलाई विश्वासको मत नदिने बताइसकेको सन्दर्भ, एमालेभित्रको अन्तरसंघर्ष उत्कर्षमा पुगेको अवस्था र हालै कर्णाली,गण्डकी र लुम्बिनी प्रदेश सभामा देखिएको तानातानको राजनीतिक परिदृश्यमा प्रधानमन्त्रीले लिन खोज्नुभएको विश्वासको मत प्रस्ताव पारित हुने वा नहुने सम्बन्धमा राजनीतिक दल र समूहले आ-आफ्नो ढंगले व्याख्या गर्न थालेका हुन् ।

प्रतिनिधिसभामा रहेको पछिल्लो अंकगणितअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नो पार्टी एमालेको जम्माजम्मी १ सय २१ सांसद छन् । विश्वासको मत पारित हुन थप १७ सांसदको समर्थन आवश्यक हुन्छ ।

सरकारलाई समर्थन गर्दै आएको जसपाभित्रको महन्थ ठाकुर तथा राजेन्द्र महतो समूहले आफ्ना १४ जना सांसदलाई समर्थन गर्न लगाए पनि कम्तिमा तीन मत पुग्दैन । त्यसको लागि राप्रपा र नेपाल मजदुर किसान पार्टीले मत दिनसक्ने सम्भावना प्रवल छ ।

तर राष्ट्रिय जनमोर्चाले भने विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान गर्ने छैन । गण्डकी प्रदेशसभमा हालै भएको घटनापछि जनमोर्चाले प्रधानमन्त्री ओलीको सरकारलाई समर्थन गर्नसक्ने सम्भावना अत्यन्त क्षीण देखिन्छ ।

प्रधानमन्त्रीले जसरी पनि विश्वासको मत लिएपछि जसपालाई समेत सरकारमा लैजाने योजना बनाउनुभएको बालुवाटार निकटस्थहरूले बताएका छन् । विश्वासको मत पाएपछि लगत्तै प्रस्तुत हुने नीति तथा कार्यक्रम र बजेट पारित गराउन त्यहि मत प्रयोग गर्ने रणनीतिमा २७ गते विश्वासको मत लिन खोजिएको बताइन्छ ।

उहाँले बिश्वास मत पाएर बजेट र नीति तथा कार्यक्रम ल्याए पनि विपक्षीहरूले त्यसपछि उहाँकाविरुद्ध अविश्वास प्रस्ताव ल्याउने ठाउँ भने प्रशस्त रहेको छ । सँसदको यो तीन बर्षे कार्यकालमा अबिश्वासको प्रस्तावसम्बन्धी यो संबैधानिक प्रावधान अहिलेसम्म प्रयोग भएको छैन ।

जसपालाई नजिकबाट नियाल्दै आएका एक जना राजनीतिक विश्लेषक भन्छन् ‘यो सबै उसैको बार्गेनिङमा हुँदै आएको घटनाक्रम हो । बार्गेनिङको स्थिति चलिरहँदा उसले सरकार छाड्ने छैन । तर एउटा विन्दुमा आएपछि भने उसको बार्गेनिङ्गमा सरकारले समेत पुनर्विचार गर्नुपर्ने हुन्छ ।

त्यतिबेला चाँहि एउटा कारण देखाउँदै जसपाको ठाकुर महतो समूहले प्रधानमन्त्री र उहाँको सरकारलाई समर्थन नगर्न सक्छ ।तर अहिले संख्या पुग्यो भने महन्थ-राजेन्द्र समूह उतै लागेर सरकार टिकाउने र पछि चुनावी सरकारमा सामेल हुने सम्भावना पनि उत्तिकै छ । ’

टिप्पणीहरू