सेना कोरोनाबाट अझै सावधान

सेना कोरोनाबाट अझै सावधान

कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सेनाले तालिम,खेलकुद,गोष्ठी,कक्षालगायत सबैखाले जमघट बन्द गरेको छ । कोरोनाको दोस्रो लहरसँगै बढेको संक्रमणको जोखिमबाट बच्न कडा प्रोटोकल लागू गरेको सेनाले भीडभावजन्य यस्ता गतिविधि बन्द गरेको हो ।

सेनाले बढ्दो संक्रमणलाई मध्यनजर गरी पाँच दिनयता तालिम,खेलकुद,आन्तरिक तथा बाह्य अत्यावश्यक बाहेकका सबै गतिविधि बन्द गरेको छ । एकैचोटी देशभर ठूलो संख्यामा संक्रमित भेटिएपछि सेनाले स्वास्थ्य प्रोटोकल पालनामा कडाइ गरेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

‘खेलकुद,बिभिन्न कार्यक्रम, आन्तरिक इभेन्टहरु रोकेका छौँ । ब्यारेकभित्र स्याम्पल टेष्ट गर्दा संक्रमण नदेखिएको अवस्थामा सामान्य गतिविधि संचालन गरेपनि मुख्य गतिविधि बन्द छ’, पौडेलले भन्नुभयो ।

सेनामा अहिले दैनिक ३/४ जनाका दरले छाउनी अस्पतालमा भर्ना हुने संक्रमितको संख्या बढिरहेको छ । यसर्थ संक्रमण थप बढ्नसक्ने भन्दै सेनाले पूर्वतयारीका कामलाई तीब्र बनाएको छ । सेनाको सूर्यविनायक लप्टन डाँडा र खरिपाटी ब्यारेकमा भएका आइसोलेसन केन्द्रहरु पुन: संचालनमा ल्याइएको छ ।

‘हुन त वास्तविक अवस्था थाहा पाउन एक हप्ता जति लाग्ला तर अहिलेसम्मको अवस्था सामान्य छ’,उहाँले भन्नुभयो, ‘पहिलेका आइसोलेशनहरु एक्टिभेट गरिएको छ । आवश्यकताअनुसार बढाइएको छ । त्यसैले अहिलेसम्म सेनामा ठूलो समस्या देखिएको छैन ।’

बढ्दो जोखिमलाई ख्याल गर्दै सेनाले आफ्ना विद्यालयहरु पनि बन्द गरेको छ । भक्तपुर,सुर्खेत, पोखरा,चितवन र धनगढीमा रहेका सेनाका विद्यालयहरु बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।

‘कोरोना संक्रमणको नयाँ केस देखा परेपछि चैतको २० गतेदेखि नै सबै स्कुलहरु बन्द गरेका छौँ । पिसिआर परीक्षण गर्दा संक्रमण देखिएकालाई आइसोलेशनमा राखेर बाँकी १० देखि १२ कक्षासम्मलाई अनलाइनमार्फत क्लास शुरु गरेका छौं’, उहाँले भन्नुभयो ।

सेनाले ब्यारेकमा २५ जनाभन्दा बढी जम्मा नहुने,सिफ्ट छुट्टयाएर खाना खुवाउने र तय भैसकेका कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेको प्रवक्ता पौडेलले जानकारी दिए । उहाँले संक्रमण नियन्त्रणको प्रयास सन्तोषजनक रुपमा अघि बढेको बताउनुभयो ।

सेनाका अनुसार अहिलेसम्म ५ हजार २०९ जनामा संक्रमण देखिएकोमा ५ हजार १७४ जना निको भैसकेका छन् । त्यस्तै, अहिले देशभर जम्मा ३३ जना सक्रिय संक्रमित छन् । कोरोनाले २ सैनिकको ज्यान गएको छ ।

टिप्पणीहरू