ओली कोणबाट पत्रकारमा हारको अन्वेषण

ओली कोणबाट पत्रकारमा हारको अन्वेषण

नेपाल पत्रकार महासंघको चुनावपछि एमाले नेतृत्वले काँग्रेसको द्वारपाले र माओवादीको जंगे शैलीबाट पाठ सिक्नपर्ने निश्कर्ष निकालेको छ ।

निर्वाचनअघि माधव नेपालनिकट प्रेस चौतारीको तर्फबाट छुट्टै उठेकालाई कारबाही गर्ने मनस्थितिमा नेतृत्व पुगेको थियो । तर,अहिलेसम्म पार्टीगत समीक्षा भइनसकेकाले यसै हो भन्न सकिएको छैन । अझै पनि बालुवाटारका केहीले यसो कारबाही गरेर सन्देश दिनुपर्ने बताएका छन् भने अरुले अलि कडा रूपमा प्रस्तुत हुनेलाई कारबाही गर्ने तर नरम प्रस्तुत हुनेलाई केही गर्न नहुने भन्न थालेका छन् ।

तर,निर्वाचनको अन्तिम परिणाम आइसकेपछि सोच केही बदलिएको देखिन्छ । दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठहरूलाई अघि बढाएर ‘लेफ्ट एलायन्स’ गरेको भए सबै जितिने निश्कर्षपछि उक्त चेत आएको हो । त्यस्तो अवस्थामा स्वयम् माओवादीनिकट संगठनले पनि साथ दिने उनीहरूको तर्क थियो । किनभने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शम्भु आफैँ सोझै कुरा गर्नसक्ने भएकाले त्यो सम्भावना रहेको बालुवाटारको निश्कर्ष हो । त्यसो हुँदा शम्भु अध्यक्ष भएर महासचिवमा माओवादीको उम्मेदवार आउनसक्ने सम्भावना प्रवल रहन्थ्यो । शम्भु नै उठेको अवस्थामा माओवादी स्वतः सहमतिमा आउँथ्यो भन्न थालिएको छ ।

हुन त यसअघि सामुदायिक रेडियो प्रशारकहरूको संस्था अकोराबमा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले महत्वपूर्ण पद सबै सबै काँग्रेसलाई बुझाएर सहमति गरेका थिए । महासंघको निर्वाचनमा समेत समावेशी सचिवबाहेक अरु सबै दिने ढंगले गणेश र बद्री सिग्देलबीच गठबन्धन अघि बढाइएको थियो भन्नेहरू कम छैनन् । पछि उनले अकोराबमा धेरै कमजोरी भएको स्वीकार्नुले पनि उक्त अवस्थालाई प्रतिविम्बित गर्छ ।

यसपटक महासंघको निर्वाचनमा चौतारी बिप्लव,राप्रपा,मधेसीलगायत नौ थरिसङ्ग मिल्दा पनि प्राप्त कमजोर मतको समीक्षा हुनपर्ने बालुवाटार निकटहरूको अर्को निश्कर्ष हो । यद्यपि यो चुनावले एमालेजति सबै एकै ठाउँमा हुनुपर्छ भन्ने सन्देश र झट्का सबैलाई दिएको बताइन्छ ।

तीन वर्षअघि माओवादी केन्द्र, नेपाली काँग्रेस,विप्लव,वैद्य सारा एकातिर हुँदा पनि चौतारी एक्लैले केन्द्रमा ७ वटा पदसहित ३६ वटा जिल्ला कब्जा गरेको थियो । त्यसको तुलनामा अहिलेको हालत दयनीय देखिएको छ । अहिले माधव समूह र केपी समूह एकाध जिल्लामा जोडिँदा गणेश बस्नेतको चौतारीलाई जसोतसो २-४ जिल्ला हात लागेको छ । त्यसमध्ये माधव समूहले झण्डै दश जिल्ला जितेको छ । माओवादीसँग गरिएको तालमेलमा उसले हार्ने ओखलढुंगाजस्ता जिल्ला दिएर प्रदेशको अध्यक्ष र महासचिवमा कतै पनि माधव समूहलाई ढिम्किन दिएको थिएन ।

निर्वाचन जित्ने सरकारी चौतारीका साथीहरूले पनि पार्टी विभाजन हुँदा अरुले कति अपमान गर्दा रहेछन् भन्ने महसुस गरेको बताएका छन् । उनीहरूले जित्दा पनि अपमानको विष पिएर आउनुपरेको प्रतिक्रिया दिएका छन् । एमाले वरिष्ठ नेता माधव नेपाललाई लात मारेर अघि बढ्दा यता पनि अलपत्र परेको वरिष्ठ उपाध्यक्षका उम्मेदवार माधव नेपाल(सिन्धुपाल्चोक) को तीतो अनुभव छ ।

महासंघको निर्वाचनले चौतारीलाई आफू बलियो हुँदैमा जित्न नसकिने र अहिलेको अवस्थामा जित्न काफी नभए पनि हार्न सकिने सन्देश दिएको छ । मजबुत भएपनि हारिने र गणितमा कमजोर भएपछि निर्वाचनको अर्थ सकिने यथार्थ उनीहरूले बताएका छन् ।

तर,केही उग्र विचारधाराका चौतारी सदस्यहरूले काँग्रेससँग सहमति गरेर जाँदाको अवस्थालाई भन्दा वर्षौंदेखि लडेर भिडेर आएका एउटै पार्टीका साथीहरूप्रतिको निन्दामा आनन्दाभूति गरेको देखिन्छ । उनीहरूले मणि दाहाल, शन्तराम बिडारी,माधव पौडेलजस्ता आन्दोलनमा भोटो फटाएकाले जित्दा पनि सामाजिक सन्जालका टिप्पणीमार्फत नाक खुम्च्याएकै छन् । स्वयम् गोविन्द चौंलागाईं र बिडारीको पक्का रहेका केही सय भोट सदुपयोग गर्न सकेको भए काठमाडौंमा सरकार पक्षधर चौतारीका अरु उम्मेदवार सजिलै जित्थे । मुलुकभरको सबैभन्दा ठूलो संगठन काठमाडौं जिल्ला र उपत्यका प्रदेशमा चौतारीले हार्नुपर्दैनथ्यो ।

अहिले जति जे भएपनि बिडारी र चौंलागाईंहरूले विपुललाई समर्थन गर्दा काठमाडौंबाट एमाले हारेको हो । वर्षौंदेखि पकडमा रहेको संगठन अन्यको हातमा फुत्किएकोमा गम्भीर समीक्षा हुनुपर्ने आवाज उठेको छ ।

-हरि गजुरेलबाट

टिप्पणीहरू