तीन दिदीको एकल भाइमाथि तरबार

‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति’ शिखरिणी छन्दमा दुर्गाशप्तशती चण्डीमा रचित मर्मस्पर्शी यो भनाइ पनि कहिलेकाहीँ मिथ्या लाग्ने रहेछ ! आफैँले नौ महिना कोखमा राखेर जन्माएको, दश धारा दूध खुवाएर हुर्काएको छोरालाई मार्न आमा नै लाग्छिन् भन्ने कल्पना गर्नसमेत सकिन्न । सदैव तिहारमा भाइको दीर्घायुको कामना गर्ने दिदी पनि भाइलाई मार्ने योजनामा संलग्न होलिन् भन्ने पनि कल्पनाभन्दा बाहिरको कुरा हो । तर, सम्पत्तिका लागि यहाँ नसोचिएका, कल्पनै नगरिएका घटना भएका छन् । जन्मे÷हुर्केको जिल्ला सिन्धुली, हाल कमलामाई नगरपालिका । अहिले काठमाडौं महांकाल ओरालोमा बस्दै आएको छु, श्रीमतीसहित ।

बुवाको प्रशस्त सम्पत्ति थियो । उहाँ बित्नुभयो ०६७ सालमा । स्वर्गे हुनुअघि नै तीन दिदीको विवाह भइसकेको थियो । ती दिदीको एक्लो भाइ । हरेक वर्ष निधारमा सप्तरंगी टीका लगाइदिएर दीर्घायु र सुस्वास्थ्यको कामना गर्ने दिदीहरू नै मेरो ज्यान लिन लाग्लान् भनेर कसरी कल्पना गरौं ? स्कुल शिक्षा सकाएपछि काठमाडौं छिरेँ । यतै आएर पढ्दै थिएँ । गाउँकै पुरानो चिनजान थियो कल्पना बस्नेतसँग । प्रेमसम्बन्ध विवाहमा रूपान्तरण भयो । म अलि सोझो टाइपको केटा । दिदीहरू चाहनुहुँदोरहेछ सोझै केटी भिडाउन पाए पुख्र्याैली सम्पत्ति भाइबाट उम्काउन पाइन्छ । दिदीहरूको इच्छाविपरीत प्रेमविवाह गरेपछि चिढिनुभयो । अनि खोज्न थाल्नुभयो दिदी भिनाजुले अंश । विवाह गरेर पराइ घर गइसकेकी चेलीलाई अंश दिने कानुन छैन । हामीले उहाँहरूलाई अंश दिन मानेनौं । अनि शुरु भयो विवाद । सिन्धुलीको मेन रोडमै प्रशस्त जग्गा, जमिन छ जो अहिलेको मूल्यांकनमा झण्डै ६० करोडभन्दा बढी होला । अंश दिन इन्कार गरेपछि दिदीहरूले समाएर बन्धक बनाउनुभयो । मलाई र श्रीमतीलाई अलग गराउनुभयो । अनि हाम्रो सहमति नलिई माइली दिदी निरुकुमारी खड्गाले सम्पत्ति सबै आफ्नो नाममा पार्नुभयो । काठमाडौंमा घर बुबाले बनाउनुभएको । त्यो पनि बेच्नुभयो । यसरी पुख्र्यौली सम्पत्तिमा दागा धरेर अंश खोज्ने र नदिँदा जबर्जस्त आफ्नो नाममा ल्याउने खेलोफड्को भयो तर काका, बुवाको साथ रह्यो हामीलाई । न्याय खोज्दै सिन्धुली जिल्ला अदालत पुग्यौं । मुद्दा हालेपछि मेरो सर्टिफिकेट उनीहरूले कब्जामा लिए । मुद्दा फिर्ता ली, अनि मात्र तेरो प्रमाणपत्र दिन्छु भन्न थाले । तर, मैले फिर्ता लिन मानिनँ । त्यहाँबाट न्याय मिल्यो त्यो सम्पत्तिको भोगचलन मैले नै गर्न पाउने भएँ । दिदीहरू अंश मुद्दा हाल्न उच्च अदालत पुगे, उच्चले पनि जिल्लाकै फैसलालाई सदर ग¥यो । लकडाउन हुनु केहीअघि पुख्र्यौली आधा जग्गा मेरो भागमा आयो ।

सो जग्गा आमा र म दुई अंशियार भएका कारण हाम्रो नाममा आयो । लालपुर्जा आएपछि जग्गाको मूल्यांकन बढ्दै गयो । दिदीहरूसँगको लफडा टुंगिएको सोचेर नापी–नक्सा गरी साँध सिमाना मिलाउने काममा व्यस्त रहेँ । यो बीचमा पनि म र मेरो श्रीमतीलाई छुटाउन अनेक चालबाजी भए । कतिसम्म भने आफ्नै भाञ्जाले माइजूलाई अश्लील म्यासेज पठाउने र ह्यारेसमेन्ट गर्ने सिलसिला चल्यो । उनीविरुद्ध साइबर क्राइम मुद्दा दर्ज गरियो । उनी ७५ हजार धरौटीमा छुटेपछि सोचेको थिएँ अब भाञ्जा सुध्रिए । जेलमा बसेपछि केही बुझे होलान् । तर, नानीदेखि लागेको बानी सिस्नुपानी लगाए नि नजाने । सो जग्गा आफ्नो नाममा आएपछि मैले उपयोग गर्न थालेँ । दिदी भिनाजुले अनेक तबरले दुःख दिने सिलसिला जारी रह्यो ।

हामीलाई मार्ने योजनाअनुरूप कन्ट्याक्ट किलरमध्येकै एक मुकुल अलि–अलि अघि मसँग फेसबुकमा जोडिएको थियो ।

एकातिर जग्गाको मूल्य बढिरहेको थियो । उनीहरूको योजना सफल नभएपछि अर्काे तानाबाना बुन्न थालेछन् । भाइलाई नै सिध्याइदिन पाए सो सम्पत्ति आफ्नै हुने सहमति भएरै होला हामीलाई मार्ने योजना बनाउन थालेको । हकवाला कोही नभएपछि यिनीहरूलाई सकाउन पाए सबै सम्पत्ति हडप्न पाइने योजना थियो । एक वर्षदेखि हामी कहाँ बस्छौं, कहाँ जान्छौं, के गर्छाैं सबै फलो गर्दै आएका रहेछन् । उनीहरूको प्लान रहेछ सकेसम्म एकान्तमा वा घर सिन्धुलीतिरै ज्यान मार्न पाए घटनालाई त्यतै दबाउने । त्यो प्लान सफल हुन सकेन । भन्छन् दुःखको सहारा भगवान् । म अहिले सिन्धुलीमा घर बनाउँदै छु । दुई दिनअघि मात्र श्रीमती सिन्धुलीबाट काठमाडौं फर्किएकी थिइन् । म पनि उताबाट काठमाडौं जुन दिन फर्किएँ सोही दिन दिउँसो कोठामै श्रीमतीमाथि आक्रमण भयो । हामी महांकालमा बस्दै आएका थियौं, दुई वर्षदेखि । माघ २० गते दिउँसो २ बजेतिर श्रीमती र म कलेजतिर निस्कने तयारीमा थियौं । उनी घरकै ढोकामा जुत्ता लगाउँदै थिइन् । म चाबी लगाउँदै थिएँ । त्यस्तैमा श्रीमतीमाथि अकस्मात् रड प्रहार भयो । उनी चिच्याइन् । संयोग टाउकामा प्रहार गर्न खोजेको रड कुममा लाग्यो । मासु च्यातियो । बच्नचाहिँ सफल भइन् । अर्काे एक जना चक्कुले प्रहार गर्न खोज्दै थियो । मैले उसलाई धकेलेर लडाएँ, म चिच्याएपछि मान्छे जम्मा हुन थाले । तत्काल १०० मा डायल गरी प्रहरीलाई घटनाको बेलिविस्तार लगाएँ । केही क्षणमै प्रहरी आएर सबै मुचुल्का उठायो । हातहतियार भेट्टायो । तत्काल त्यहाँबाट दुई जना पक्राउ परे । हामीलाई मार्न ६ जना आएका थिए । दुई अपराधीलाई पक्रिएपछि पोल खुल्दै गयो, हामीलाई सिध्याउनकै लागि आमा, दिदी–भिनाजु नै लागेका रहेछन् । प्रहरीले ती दुई अपराधीको मोबाइलबाटै भिनाजु दुर्गाबहादुर थापालाई फोन गर्न लगाएछ । काम सकियो, पैसा आजै चाहियो भनेपछि घर नजिकै बोलाएर पैसासहित प्रहरीले पक्राउ ग¥यो ।

हामीलाई मार्ने योजनाअनुरूप कन्ट्याक्ट किलरमध्येकै एक मुकुल अलि–अलि अघि मसँग फेसबुकमा जोडिएको थियो । उसले भन्थ्यो, ‘घर बर्दिवास हो, म फिल्म बनाउँछु । सिन्धुलीतिर जग्गा चाहिएको छ । मैले कोही चिनेको छैन । मलाई जग्गा मिलाइदिनु । सुटिङ स्पट, डान्सरहरू पनि खोजिदिनू ।’ हामीमाथि आक्रमण हुनु केहीअघि भेट्न बोलायो । देख्दै नदेखेको मान्छेसँग कसरी भेट्नु ? पन्छिन् खोजें । उसले अर्जेन्ट छ भन्दै एकान्तमा भेट्न बोलाएको थियो, सुकेधारास्थित प्रहरी चौकी छेउमा भेट्दा ‘सक’ भएँ । उसले मेरो दिदी, भिनाजुको नाम लिएर यी मान्छे को हो ? चिन्नुहुन्छ ? भन्न थाल्यो । अनि सम्पूर्ण पोल खोल्न थाल्यो । कसले कहाँ कतिमा डिल गर्‍यो ? कहाँ–कहाँ गएको, सबै भ्वाइस रेकर्ड नै सुनायो । उसैले सुनायो कान्छो भिनाजु ध्रुव बुढाथोकीले १५ लाखको सुपारी दिएका रहेछन्, बिहारीलाई । खेल खत्तम गरे ५० लाख दिने डिल भएको तर बिहारीले १५ लाख लिएर लापत्ता भएको । त्यतिबेला हामी उसलाई भेट्दा सक भएर फर्कियौं । उसले फेरि भोलिपल्ट भेट्न भन्यो । हामीले इन्कार गर्‍यौं । लाग्यो, अघि हामीलाई सबै घटना सुनाउने, विश्वासमा लिने अनि हामीमाथि आक्रमण गर्ने योजना हो । उसले सयौं पटक कल गर्दा भेट्न इन्कार गरेपछि कोठामै आएर हामीमाथि आक्रमण भयो । आक्रमण गर्न आउनेमध्ये माइली दिदीको छोरा अमित थापा, अर्काे भिनाजुको बनावटमा थियो । अरू चार जना चिन्न सकिएन । यो घटनाको मुख्य योजनाकार कान्छो भिनाजु ध्रुवबहादुर बुढाथोकी, माइली दिदी निरु थापा, कान्छी दिदी सीता बुढाथोकी हिरासतमा छन् । उनीहरूसहित दुई अभियुक्त पनि थुनामै छन् । यसको मुख्य योजनाकार नवराज सिंह फरार छ । यस्तै, आमा विष्णुकुमारी खड्गा, जेठो भिनाजु अनिल र दिदी गीता थापा, भिनाजुको दाजु अर्जुन थापा पनि यो घटनामा संलग्न छन् । अर्जुनले पहिला पनि हामीलाई धम्क्याउँदै आए । उनीहरू फरार छन् । यी फरार भएकाहरूबाटै अहिले हामी श्रीमान्/श्रीमतीको ज्यान जोखिममा छ । हामी शान्ति–सुरक्षा माग्दै जिप्रकादेखि सरकारी निकाय धाइरहेका छौं । सम्पत्तिका लागि आफ्नै सन्तान, आफ्नै भाइ, सालोको ज्यान लिन पछि नपर्ने यस्ता अपराधीलाई कडाभन्दा कडा कानुनी सजायँ होस् ।

– कृष्णहरि खड्गा

टिप्पणीहरू