‘श्रीमान्को के गल्ती थियो र कुटेर मारियो ?’

‘श्रीमान्को के गल्ती थियो र कुटेर मारियो ?’

‘मेरो श्रीमान्को केही गल्ती थिएन । छिमेकीले सामान्य विवादमा कुटेर मारे । प्रहरीले पनि न्याय दिएन । अन्यायले गर्दा म बैंशमै विधुवा भएँ । तीन जना नाबालक छोराछोरी टुहुरा भए । धनसम्पत्ति छैन । छोराछोरी कसरी हुर्काउनु ! यो देशमा हामी गरिबले न्याय पाउने दिन कहिले आउला, कसैले न्याय दिलाइदिए त हुन्थ्यो तर गरिबको त भगवान् पनि हुँदा रहेनछन् !’

विराटनगर महानगरपालिका–१६ दरैया बस्तीको चौठी टोलमा बसोवास गर्दै आएकी करनीदेवी ऋषिदेव जहाँ जहाँ जान्छिन् यही बिलौना पोख्छिन् । जग्गा हडप्न खोज्नेहरूले आफ्ना ३० वर्षीय श्रीमान् राजेश ऋषिदेवको कुटेर हत्या गरे पनि उनीहरूलाई कुनै कानुनी कारबाही नभएको दाबीसहितको गुनासो उनको छ ।

जनमन गरेर कमाएको पैसाले टोलमा जोडेको एक कठ्ठा ऐलानी र ४ धुर नम्बरी जग्गामा सपरिवार बसोवास गर्दै आएका उनका श्रीमान् राजेशको १९ असार बिहान छिमेकीले जग्गा हडप्न नपाउँदा मरणासन्न कुटपिट गरेर हत्या गरेको २७ वर्षिया श्रीमती करनीदेवी बताउँछिन् ।

उनका अनुसार जग्गा आफ्नो भागमा परेको उक्त छिमेकी गंगवा मण्डलले दाबी गर्दै आएका थिए । सोही विषयमा १९ असार २०७७ बिहान जग्गा नापी भएको थियो । यस क्रममा ऋषिदेव परिवारको जग्गामा भएको घर आफ्नो भन्दै छिमेकी गंगवाले भत्काउन दबाब दिएका थिए । सोही दिन ऋषिदेव परिवारको घरअगाडि भएको दिनाभद्री भगवान्को मन्दिर पनि उनीहरूले भत्काइदिएका थिए ।

आफूले रगत–पसिना बगाएर जोडेको घर पनि भत्काउन भनेपछि डकर्मीको काम गर्ने राजेशले आक्रोशित हुँदै चर्कोे प्रतिवाद गरेका थिए । तर, सानो जाति भएर बढी मुख चलाएको र भनेको नमानेको भन्दै छिमेकीहरू कन्हैया मण्डल, देवान मण्डल, गंगवा मण्डल, हरेराम र अनिल मण्डल भएर राजेशलाई मरणासन्न कुटपिट गरे । त्यही दिन दिउँसो आफ्नै घरभित्रको कोठामा राजेश झुण्डिएको अवस्थामा मृत फेला परे ।

परिवारले छिमेकै कुटाइबाट राजेशको हत्या भएको र पछि कोठामा लगेर झुण्डाइदिएको दाबी गर्दै किटानी जाहेरी दर्ता गराउन खोज्यो । तर, प्रहरीले आधार प्रमाण नभएको भन्दै दर्ता गर्न मानेन । प्रारम्भिक अनुसन्धानमै प्रहरीले आत्महत्या बतायो ।

तर, जग्गा विवादमा छिमेकीले कुटेर हत्या गरेको भन्दै राजेशको परिवार र मुसहर संघ मोरङले घटना गहन अनुसन्धान गर्न जिल्ला प्रहरीसँग आग्रह गर्‍यो । प्रहरीले बनाएको आन्तरिक छानबिन समितिले राजेशको मृत्यु आत्महत्याकै कारण भएको र हत्याको कुनै प्रमाण फेला नपरेको निश्कर्ष दियो । घटनाको अनुसन्धान गरेका इलाका प्रहरी रानीका इन्स्पेक्टर दीपक थापाले जग्गाको झगडामा कुटपिटमा घाइते भएपछि बैरागिएर राजेशले दैलो थुनेर आफैँ झुण्डिएर आत्महत्या गरेको र श्रीमतीको सहयोगमा ढोका फोरेर शव बरामद गरेकाले कसैलाई कारबाही गर्न नसकेको बताए । भने, ‘घटनालाई हामीले गम्भीर रूपमा लिए गहन अनुसन्धान गर्‍यौँ तर हत्याको आधार प्रमाण केही फेला परेन पोष्टमार्टम रिपोर्ट पनि झुण्डिएर मृत्यु भएको भन्ने आयो, यसैले कसैलाई पक्राउ गर्न नसकेका हौ, आरोप लगाएकै भरमा कसैलाई बिना प्रमाण झुटो मुद्दा चलाउन हुँदैन ।’ यद्यपि, पोष्टमार्टम प्रतिवेदनमा मृतकको शरीरमा कुटपिटको चोटपटक भने पाइएको थियो ।

श्रीमान्को मत्युपछि श्रीमती करनीदेवी ११, ९ र ७ वर्षका तीन जना छोराको बनिबुतो गरेर लालनपालन गरिरहेकी छन् । उनलाई गाउँमा बस्न पनि एकदमै असुरक्षा छ । रोजगारी नहुँदा छोराछोरी भोकभोकै सुत्न बाध्य छन् ।
– आषिका लम्सालबाट

टिप्पणीहरू