नवीन घिमिरेलाई आजीवन सुरक्षा

नवीन घिमिरेलाई आजीवन सुरक्षा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निवर्तमान प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई सरकारले आजीवन सुरक्षा दिने निर्णय गरेको छ । जाते जाते पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई ७० करोड रूपैयाँ कमिशन मोलमोलाई गरेको आरोप लगाइएको टेप रेकर्डको विषय नसल्टाएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवीन घिमिरेप्रति आक्रोश र असन्तुष्टि पोख्नुभएको थियो ।

बालुवाटार स्रोतका अनुसार ‘राजनीतिक पृष्ठभूमि काँग्रेस भएका एउटा पूर्व सचिवलाई टपक्क टिपेर आफूले अख्तियारको प्रमुख बनाइदिए पनि घिमिरे त्यसप्रति संवेदनशील नभएको’ मा प्रधानमन्त्रीले दुःखेसो पोखेको बताइन्छ । तर, तिनै घिमिरेलाई अवकाशको एक सातामै संविधान दिवसको उपलक्ष्यमा प्रसिद्ध प्रवल जनसेवा श्री (द्वितीय) दिइयो ।

सेवानिवृत्त हुनुअघि उनको सुरक्षार्थ ११ जना सुरक्षाकर्मीको डफ्फा बाँचुञ्जेल राज्यले उपलब्ध गराउने निर्णयसमेत प्रधानमन्त्री स्वयमको अध्यक्षतामा बसेको क्याबिनेटले गरेको हो ।

घिमिरेलाई सेवानिवृत्त हुनुभन्दा दुई दिनअघि भदौ २६ को क्याबिनेट बैठकले उक्त सुविधा उपलब्ध गराएको हो । निर्णयमा निश्चित् समय नतोकिएकाले आजीवन सुरक्षा उपलब्ध गराइएको अधिकारीहरूले दाबी गरेका छन् । अब घिमिरे कहिँ कतै जाँदा वा घरमै बस्दा पनि नेपाल प्रहरीको एउटा सेक्सन अर्थात् ११ जनाको डफ्फाले सँधै पहरा दिने छ ।

सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अखिलका केन्द्रीय अध्यक्ष ऐन महरलाई समेत सशस्त्र प्रहरीको एउटा सवारी साधन चालकसहित उपलब्ध गराइएको अखिलको इतर समूहले बताएको छ । प्रधानमन्त्रीसँग महरको निकटता,प्रधानमन्त्रीको शुभेच्छा र अन्य कारणले पनि उनलाई सवारी साधनको सुविधा प्राप्त भएको हुनसक्ने अड्कल लगाइएको छ ।

गृहले निश्चित मापदण्ड अपनाएर मात्र भीआईपी र भीभीआईपीहरूलाई सुरक्षा दस्ता उपलब्ध गराउनुपर्ने कार्यविधि क्याबिनेटमा पेश गरेको पाँच महिना नाघेपनि हालसम्म निर्णय भएको छैन ।

टिप्पणीहरू