साह्रै नै सहन सकस भो सेनामा

साह्रै नै सहन सकस भो सेनामा

सेनामा अधिकृत र पदिकलाई बिदा जाँदा–आउँदा कोरोना नलाग्ने सिपाहीलाई मात्रै लाग्ने, क्वारेन्टिनमा बस्नुपर्ने ? अधिकृतहरूचाहिँ एक दिन पनि क्वारेन्टिन बस्नु नपर्ने ? सिग्नल गण, राष्ट्रिय सुरक्षा परिषद् र अन्य युनिटमा आज पनि १० – ५ को जागिर छ, बिहान आउने, बेलुका घर जाने, के त्यो नेपाली सेनाको संस्था हैन ? तर, हामी ब्यारेकका सैनिकलाई यो नियम लाग्दा पक्षपात किन ? २ वर्ष कमाण्ड गरेर फर्किने अधिकृत र २० वर्षसम्म एउटै ब्यारेकमा बस्नेको पीडा र वेदना एउटै हुन्छ ?

२ दिन भिजिटमा जाँदैमा सबै कुरा देखिन्छ ? प्रतिदिन सैनिकले आत्महत्या गरेको कारण पत्ता लगाउन चिफसाबको नियमले किन काम गरेन ? आज पनि आजीवन एउटै ब्यारेकमा पेन्सन र सुविधा लिएर बस्ने अधिकृतलाई किन कारबाही हुन्न ? रक्षामन्त्रीले सिपाहीलाई तारो बनाएर एमसिसी र कोरोनामा दिनरात खटाउनु भो तर खै सैनिकको लागि सुविधा ? विदेशबाट आउनेलाई ल्याउने–लाने चालकको परिवार छैन ? क्वारेन्टाइनमा खटिने सिपाहीका परिवार र बालबच्चा छैनन् ? तलब भत्ता र रासनले उसको परिवार पाल्न सम्भव छ ? मन्त्री र अधिकृतहरू सेवा–सुविधा र भत्ता बुझ्ने तर सुरक्षार्थ खटिएका सिपाहीलाई खै ? भूपू र तकको घरमा बसेका सिपाही कहिले फिर्ता हुन्छन् ?

खै अस्पतालको हालत, खै कल्याणकारी र स्कुलको अवस्थामा सुधार, पेट्रोलपम्पमा सुधार, आजीवन सेवा–सुविधा लिएर बसेका करारका कर्मचारी किन बाहिरिन चाहँदैनन् ? भारतमा कति सेवा–सुविधा छ सिपाहीलाई । तर, हाम्रोमा सिपाहीको तलब काटेर ऋण दिइएको छ, आफ्नै पैसालाई ब्याज तिर्न बाध्य बनाइएको छ । २ लाख दिएर के हुन्छ ? अधिकृतलाई चाहिँ सेवा–सुविधा र घर गाडी लोन रे ! सिपाहीलाई तिर्ने गरी २५–३० लाख ऋण दिनुस्, उसले बालबच्चा र परिवारको लागि एउटा घर र बस्ने बास बनाई आजीवन देशको सेवा गर्छ । दुई/तीन जना जर्नेल/कर्नेललाई कारबाहीले चोखो हुँदैन संस्था ।

– भूपूसैनिक

टिप्पणीहरू