झलनाथ र सुरेन्द्र साक्खे साँढु हुन् ?

झलनाथ र सुरेन्द्र साक्खे साँढु हुन् ?

नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र स्थायी समिति सदस्य तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेलाई धेरैले साँढु दाइ र साँढु भाइ भन्छन् । एकाघरकी दिदी बहिनी बिबाह गरेको अवस्थामा त्यस्ता व्यक्ति साँढु दाइ र साँढु भाइ हुन्छन् । तर, झलनाथ र सुरेन्द्रले थर एउटै भएकी कामरेडसँग बिबाह गरेपनि उनीहरू एउटै घरकी चेली नभएको बताइन्छ ।

वामपन्थी आन्दोलनमा होमिएका दुबै नेताले भूमिगत कालमा पार्टी कामको सिलसिलामा नजिकिएपछि जनवादी विवाह गरेका थिए । झलनाथकी श्रीमती रवि चित्रकार हुन् भने सुरेन्द्रकी श्रीमती  पूर्णशोभा चित्रकार हुन् । दुबै काठमाडौं उपत्यकाको खाँटी नेवार सम्प्रदायका चेली हुन् तर, झलनाथ पूर्व इलामका र पाण्डे पश्चिम १ नं. धादिङ्ग,मलेखुको व्राम्हण परिवारका ।

रमाइलो संयोगचाँहि एउटै पार्टी तत्कालीन मालेमा सक्रिय पूर्ण शोभा र रविको सम्पर्क र चिनजान नै ०३५ सालतिर पार्टी कामको सिलसिलामा भएको थियो । त्यसअघि कहिल्यै सम्पर्क र चिनजान नभएका दुईजना चित्रकार र उनीहरूको थरको कारण धेरैले अन्जानमा खनाल र पाण्डेलाई साँढुको नाता भिराउँदै आएका छन् ।

नक्कली साँढुको नाताका कारण कतिपय सञ्चारमाध्यमले समेत खनाल र पाण्डेलाई जोडेर विभिन्न घटना, निर्णयमा शंका गरेको पाइएको छ । विशेषगरी झलनाथ खनाल तत्कालीन एमालेमा अध्यक्ष हुँदा र प्रधानमन्त्री छँदा गरिएका कतिपय निर्णयमा पाण्डेलाई जोडेर प्रचार गरिएको पाइएको थियो । त्यसैगरी पाण्डे अर्थमन्त्री छँदा र पार्टीभित्रका कतिपय बैठक र कार्यदलमा गरेको निर्णयलाई समेत खनालसँग जोडेर विश्लेषण गर्ने गरिएको छ ।

टिप्पणीहरू