शिशु जन्माउने कहिले ? भोटो सिउने अहिले !

शिशु जन्माउने कहिले ?  भोटो सिउने अहिले !

युवराज खतिवडालाई पुनः राष्ट्रिय सभामा मनोनित गरेर अर्थमन्त्रीमा तेह्रयाउने सुर कसेको बालुवाटारले यसबीचमा केही नेतालाई क्याबिनेट पुनर्गठनमा पर्ने मन्त्रालयको जिम्मेवारीको समेत भाग लगाएको छ । सम्भवतः भदौ अन्ततिर हुने पुनर्गठन अगावै मन्त्रीको ललिपप फ्याँकेर बालुवाटारले नेताहरूलाई मुख बुजो लगाउने रणनीति अपनाएको हुनसक्ने आँकलन गरिएको छ ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा र सपना साकार तुल्याउन महेश बस्नेतलाई पानी जहाज र रेल मन्त्रीको जिम्मेवारी दिने बताइएको छ । त्यसैगरी, कमिशन मोलमोलाईको आरोप लागेपछि पदमुक्त भएका पूर्व मन्त्री गोकुल बाँस्कोटालाई पुनः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिने तयारी  छ ।

बाँस्कोटालाई सेक्युरिटी प्रेस खरिद प्रक्रियामा लागेको ७० करोड कमिशन काण्डको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थालेको अनुसन्धान र छानबीन यतिखेर अन्तिम चरणमा पुगेको छ । सम्भवतः आगामी साता आयोगले बाँस्कोटालाई सफाई दिएपछि हुने मन्त्रीमण्डल पुनर्गठनमा बाँस्कोटा पुनः सोही मन्त्रालयको जिम्मेवारी सम्हाल्न आउने स्रोतको दाबी छ ।

उता, भागबण्डा मिलाउन भन्दै पूर्व अर्थमन्त्री तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई बालुवाटारले उद्योग मन्त्रालयको जिम्मेवारी दिने हल्लालाई व्यापक बनाएको छ । नारायणकाजी श्रेष्ठले गिरीराजमणि पोखरेललाई र वीना मगरलाई पम्फा भुसालले विस्थापित गर्ने समेत चर्चा चलाइएको छ ।

टिप्पणीहरू