पाइलटले मार्लान् है पेलेर

पाइलटले मार्लान् है पेलेर

नेपाली सेनाभित्र बेथिति र भ्रष्टाचारको समाचार बाहिर आउनुलाई नौलो विषय ठान्ने गरिएको छैन । तर त्यहि श्रृङ्खलामा दुईजना पाइलटले अमेरिकामा महँगो विषयको तालिममै सहभागी नभई नक्कली प्रमाणपत्र पेश गरेर सरकारी कोष झ्वाम पारेको रहस्य बाहिर आएको छ । तालिम नै नगरी सरकारी मोटो रकम पचाउने पाइलटहरूमा महासेनानी सुवर्ण विष्ट र सञ्जिव घिमिरेमाथि आवश्यक छानबीन र कारबाहीको लागि सेनाको उच्च तहमा उजुरी परेपनि केस ढिसमिस गरिएको कागजात फेला परेको छ । उनले तालिम नगरी जहाज उडाउँदा केही तलमाथि भैहालेर बिशिस्ट ब्यक्तिहरुको ज्यान धरापमा पर्यो भने कसले जिम्मा लिने ?

प्राप्त विवरणअनुसार सेनाको ११ नम्बर बाहिनी अड्डा,सैनिक हवाई महानिर्देशनालयका पाइलट बिष्ट सन् २००६ मा अमेरिकाको ओक्लाहोमास्थित भर्सटाइल पाइलट ट्रेनिङ्ग इन्स्टिच्युटमा विभिन्न १० वटा विषयमा तालिमका लागि गएका थिए । तोकिएको अवधिभर अमेरिका बसेपनि सबै विषयको तालिममा भने सहभागी भएनन् ।

उनले पीपीएल, आईएफआर, सीपीएल र एटीपीएलको तालिम मात्र लिए । तर, सीएफआई, सीएफआईआई, एजीआई,बीजीआई, आईजीआई र एफओआई विषयको तालिम नै लिएनन् । नेपाल फर्केपछि जङ्गी अड्डालाई नियमानुसार तालिम नगरेको विषयको खर्च रकम र सो अवधिको दैनिक भ्रमण भत्ता फिर्ता गर्नुपर्नेमा सो नगरेको सैनिक रेकर्डबाटै देखिएको स्रोतको दाबी छ । तालिम शुल्कवापत उनले ४१ हजार १ सय अमेरिकी डलरको ड्राफ्ट २३ मार्च २००६ को मितिमा नेपाल राष्ट्र बैंकबाट बुझेर लगेका थिए । दैनिक भ्रमण भत्तावापतको ठूलो रकम छुट्टै लगेका थिए ।

अमेरिकाको जुनसुकै पाइलट ट्रेनिङ्ग इन्स्टिच्युटबाट जोसुकै पाइलटले लिएको तालिमको विवरण अद्यावधिक गर्ने एफएएको वेभसाईटमा पनि बिष्टले छ वटा विषयमा तालिम लिएको देखिँदैन । उनले चारवटा विषयमा तालिम लिएको वेभसाइटमा उल्लेख छ । तर, जङ्गी अड्डामा सबै विषयको तालिम लिएको प्रमाणपत्र पेश गर्नुले विषयलाई थप रहस्यमय बनाइदिएको छ ।

उता, अर्का पाइलट सञ्जिव घिमिरेले पनि झण्डै डेढ दशकअघि तालिम लिने क्रममा सबैभन्दा गाह्रो मानिएको एटीपीमा सहभागी नै नभई पछि जङ्गी अड्डामा नक्कली प्रमाणपत्र पेश गरेका थिए । २०६३ बैशाखदेखि साउनसम्म ओक्लोहोमास्थित भर्सटाइल एभिएसन इन्क फ्लाइट ट्रेनिङ्ग स्कुलमा तालिमको लागि उनले २२ हजार ८ सय अमेरिकी डलर लगेकोमा ७ हजार मात्र खर्चेको बताइन्छ । तर,तोकिएको सबैभन्दा महँगो एटीपी तालिम नगरी बाँकी रकम मिलाएको भन्दै दुई वर्षअघि प्रधान सेनापतिलाई सम्बोधन गरेर उजुरी नै परेको थियो ।

तत्कालीन प्रधानसेनापतिले उक्त उजुरीमा कार्यरथीलाई तोकेर प्रारम्भिक छानबीन गरी प्रतिवेदन पेश गर्न,सैन्य अभिलेखमा उपलब्ध रेकर्ड र सम्बन्धितसँग समेत प्रमाणपत्रहरू माग गरी छानबीन गर्न र यसरी बेनामी उजुरी गर्ने रोग नहटेकोले निवेदकको पहिचानका लागि आवश्यक प्रयास जारी राखेर उक्त कार्यमा डीजीएमआईलाई समेत सहभागी गराउन तोक आदेश दिएका थिए । तर,त्यो तोक आदेश पनि अहिलेसम्म कार्यान्वयन भएको देखिँदैन । जर्नेल रमेश बिष्टको नाता परेकाले सुवर्ण सुनपानीले चोख्खिने हो भने अरुले अनियमितता गर्दा कतातिर नाता खोज्दै दौडने ?

टिप्पणीहरू