थोरै हारेर जित्न सिकौँ, मतदाताको मनमा टिकौँ « janaaasthanews
३० श्रावण २०७७, शुक्रबार

थोरै हारेर जित्न सिकौँ, मतदाताको मनमा टिकौँ



अमेरिका र दक्षिण कोरियामा एकैदिन माघ ६ गते कोरोनाको पहिलो केस देखा परेको हो । कोरियनहरू तत्काल एकीकृत उपायसहित उत्रिए । तर, प्रतिकार्यको कुनै सोच, योजना र कार्यसूची नभएका ट्रम्प उल्टै चीन र विश्व स्वास्थ्य संगठनलाई धम्क्याएर बसे । आज अमेरिका र कोरियाको क्षति हेर्नोस् त ! गलत नेतृत्व देश र जनताका लागि कति घातक हुन सक्छ, यो एउटा ज्युँदो उदाहरण हुनसक्छ ।

सत्ताधारी पार्टी नेकपाभित्र आज लेनिनवादी सांगठानिक संस्कृति ध्वस्त भएको छ र पार्टी कमिटीहरू लामो समयदेखि बन्धक बनाइएका छन् । बालहठलाई मूर्खताको हदसम्म तन्काइएको छ र आज पनि एक अर्कोप्रति नरम र लचिलो बनेर सर्वोत्तम हितको मिलनबिन्दु खोज्नुपर्नेमा खोपी खेल्ने बच्चाहरूको स्तरका घोचपेच र कटाक्षद्वारा एक अर्को पक्षलाई उत्तेजित गर्दै बेमेललाई सल्टाउनुको सट्टा थप बल्झाएर पार्टीलाई विसर्जनतर्फ धकेल्ने प्रयत्न भएका छन् । एक हिसाबले पार्टी फुटे फुटोस् हामीलाई सहमति चाहिएको छैन भन्ने ढंगको व्यवहार प्रदर्शन गरी सानो वृत्तको मिथ्या प्रशंसाबाट आत्मश्लाघा र आत्मरतिमा मग्न हुने काम भएको छ । अब यो किचलोले लोकलाजका सबै मर्यादा नाघेको छ, सुशासन, स्थिरता र राष्ट्रियताको सम्बद्र्धनका लागि नेकपाप्रति अनुग्रह राख्ने जनताले लज्जित हुनुपरेको छ ।

जोसुकैको होस् हठ नेतृत्वको गुण होइन, भयानक कमजोरी हो । पार्टीभित्र सन्तुलन गुमेको अवस्था सार्वजनिक तमाशा त हुँदै हो स्वयं नेतृत्वमा रहने कमरेडहरूको अक्षमताको सूचक पनि हो । अन्तर्राष्ट्रिय फ्रन्टमा मोटामोटी सफलजस्तो देखिए पनि सरकार आन्तरिक मामिलामा असफल भएको छ र यही अवस्था रहे आउने चुनावमा नेकपा नराम्ररी ओरालो लाग्ने निश्चितजस्तै छ । नेपालको इतिहासमै सरकारको अप्रुभल रेटिङ सन् १९९० मा बेलायती प्रम मार्गरेट थ्याचरले बाध्यतावश राजीनामा गर्ने बेलाको भन्दा तल झरेको छ । तर, यो तीतोसत्य बुझ्ने र बुझाइदिने कसले ? आफ्नो पक्षको नांगो स्तुतिभन्दा फरक भाषा बोलेर चिढ्याउने आँट कसको ?

अहिले मुलुक नाजुक र ठूलो संकटबाट गुज्रिरहेको असामान्य अवस्था हो र नेतृत्वको परीक्षण यस्तै अवस्थामा हुन्छ । कुशल नेतृत्वले आफ्नो निकटताको आधारमा कमरेडहरूलाई राम्रो र नराम्रोमा विभाजित गरेर पर्गेल्दैन बरू धैर्य, सहनशीलता र दूरदृष्टि राख्दै आवश्यकताअनुसार परिवर्तन र अनुकूलनका लागि स्वयंलाई प्रस्तुत गर्ने हिम्मत गर्छ । बेलायतमा दोस्रो विश्वयुद्धअघि च्याम्बरलेन अत्यन्त लोकप्रिय र विन्स्टन चर्चिल आफ्नै दलभित्र पनि निकै आलोचित पात्र थिए । तर, युद्धको कालखण्डभरि चर्चिलले मुलुकलाई यस्तो बेजोड नेतृत्व दिए कि बेलायती इतिहासकै सर्वाधिक सफल र लोकप्रिय प्रधानमन्त्रीको रूपमा स्थापित भए ।

आवश्यकताअनुसार बेलामौकामा हठ पनि कुशल नेतृत्वको रणनीतिभित्र पर्छ तर त्यसभित्र आत्मकेन्द्रित सोच र व्यक्तिवादी कार्यशैली होइन कि राजनीतिक प्रणाली र सार्वजनिक नीति सुसञ्चालनको बुद्धिमत्तापूर्ण सम्पूरण हुनैपर्छ । दोस्रो विश्वयुद्धमा फ्रान्सका आर्मी जनरल चाल्र्स द गोलले नाजी जर्मनीसँग विभिन्न फ्रन्टमा हार्दा पनि हरेस खाएनन् । आखिर उनको हठले एकदिन जर्मनीमाथि विजय हासिल भएरै छोड्यो । परिणामतः युद्धलगत्तैको आमचुनावमा अत्यधिक मतले राष्ट्रपतिमा मात्र चुनिएनन्, उनले अख्तियार गरेको सफल कूटनीतिकै बलमा विश्व राजनीतिमा फ्रान्सको सामरिक महत्व बढ्यो र ऊ संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्र बन्न सफल भयो ।

तर, गत २००१ मा अर्जेन्टिनाका राष्ट्रपति फर्डिनान्डो डेला रुआले एकोहोरो जिद्दी, गुटबन्दीमा रमाउने, सहमति पालना नगर्ने प्रवृत्ति, आलोचना सुन्ने र ग्रहण गर्ने स्वभाव नभएकै कारण कार्यकाल पूरा गर्न पाएनन् । त्यसैले यी त्यस्ता दुर्गुण हुन् जसले जतिसुकै योग्य व्यक्तिलाई पनि अनिवार्य पतनतर्फ लैजान्छन् । व्यक्तिमा गुण र दोष प्रतिशतमा हुन्छन् र कुनै पनि समस्यामा दोष सबै एकापट्टीको र अर्कोपक्ष पूर्णतः बेकसुर भन्ने हुँदैन । गत मंसिर ४ गतेको समझदारीअनुसार जो कार्यविभाजन थियो त्यसैमा टेकेर सरकार र पार्टी सञ्चालन गर्नु र यही बृहत् समझदारीसहित एकता महाधिवेशन सम्पन्न गर्नु नै समस्याको एकल समाधान हो ।

देश र जनताको राजनीति गर्ने समान आइडियोलोजी बोकेर एउटै दलको नेतृत्वदायी पदमा पुगेका वरिष्ठ कामरेडहरूको कुकुर–बिरालोको व्यवहार उहाँहरूलाई पच्ला, जनतालाई पच्दैन । कम्युनिष्ट पार्टीको ७० वर्षे फुटको ऐतिहासिक शिक्षा के हो ? के हामी अब फेरि त्यही नियति दोहो¥याउन चाहन्छौं ? त्यसैले जहाँबाट त्रुटि भएका छन् त्यही बिन्दुबाट सुधार र हल खोजौं । यसमा अर्घेल्याइँ गर्ने जोसुकै होस् ऊ एकीकृत पार्टीको हितचिन्तक हुन सक्दैन । कम्युनिष्ट पार्टीको आफ्नै कल्याणकारी चरित्र हुनुपर्नेमा यो पनि अरूजस्तै संसदीय फोहरमा लत्पतिनु दुःखद छ ।

प्लेटोले भनेका छन्, लोकतन्त्र त्यस्तो खत्तम व्यवस्था हो जसले स्वार्थी डेमोग्यागहरूलाई अधिकार प्रदान गरेर स्वच्छन्दताको पृष्ठभूमि मात्र तयार गर्दछ । नेपालको परिप्रेक्ष्यमा ०४६ पछि लगभग यस्तै अवस्थाको विद्यमानता रहेको कुरालाई नकार्न सकिन्न । नेकपा पनि अपवाद रहेन । यद्यपि, यो व्यवस्थाको अन्तर्निहित दोषभन्दा पनि व्यक्तिको कमजोरी हो भन्ने कुरामा हाम्रो विश्वास अझै हराएको छैन । जसरी एउटा पक्षमाथि विदेशीको इशारामा प्रमको राजीनामा मागिएको र अर्कोलाई एमसिसी पास गर्न÷गराउन शक्तिराष्ट्रले अनुचित पुट दिइरहेको जस्ता बजार हल्ला आएका छन् यसले समाजको एउटा कुनामा शंकालाई ठाउँ अवश्य दिएकै छ, भलै यसको सम्भावना न्यून होस् । के हाम्रो नेतृत्व पंक्ति शीतयुद्धताका लेनिनको हवाला दिई अमेरिकामा चलाइएको शब्दावलीमा जस्तै कसैको स्वार्थपूर्तिका लागि ‘युजफुल इडियट’ बनिरहेका त छैनन् ? यो प्रश्न उत्तिकै गम्भीर र महत्वपूर्ण छ ।

त्यसैले विद्यमान परिस्थितिमा कसैलाई बाउँठिन र एकता खल्बल्याउन नदिने गरी दुवै पक्षलाई एकठाउँमा उभ्याउन युवा नेताबाट हस्तक्षेपकारी भूमिका अपेक्षित छ । के उनीहरूको काम भैरव अर्यालको ‘चन्द्रलोकको यात्रा’ नामक व्यंग्य निबन्धमा जस्तै एउटा एउटा पक्षको पुच्छर समाउने र स्वस्तिवाचन गर्ने मात्र हो ? यो पनि नबिर्सौं चन्द्रलोकको यात्राका दुई पक्षले एकअर्कोसँग चर्को वादविवाद गर्दा हात फुस्किएर हुत्तिएका सबै अन्तरीक्षमा विलिन भएका थिए । यसैगरी पार्टी विभाजनपछि स्वयं युवाहरूको भविष्य पनि त अवश्य अन्योलग्रस्त होला !

अन्त्यमा ओशोको महत्वपूर्ण भनाइ राख्दै बिदा माग्न चाहन्छु, परस्पर लडाइँ मात्रै होइन, आफू थोरै झुकेर हेर्नोस् समस्त सृष्टि मित्रवत् नाचेको र गाएको देखिनेछ ! सर्वजन हिताय, थोरै झुकेर हार्नु पनि आफैँमा जित हो !

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कुनै हालतमा हामी यो पार्टी फुट्न दिन्नौं !
के ओलीले पार्टी फुटाउलान् ?
नेकपाको विवादमा विप्लव समूहको हेराई
ओलीको अयोध्या र दिल्लीको फोन