जितहारको अर्को जोखाना

जितहारको अर्को जोखाना

कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्यको निर्वाचन सन्निकटमा रहँदा टेस्टेड उम्मेदवारलाई अभिमान बचाउनुपर्ने छ, भने संसदीय अभ्यासको प्रवेशको ढोका खोल्न चुनौती खडा भएका छन् । कपिलवस्तु–३ बाट संसद प्रवेशको ‘ह्याट्रिक’ पार गरेका प्रतिनिधि सभा सदस्यका वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार अभिषेकप्रताप शाह र एमालेतर्फका उम्मेदवार मंगलप्रसाद गुप्ताबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

सदावहार विजेता अभिषेकप्रताप शाह सोही क्षेत्रबाट निर्वाचित हुने सफल उम्मेदवार मानिन्छन् । उनी चौथोपटक सांसद बन्ने प्रयासमा अहिले छन् । उनी ०६४ र ०७० सालमा संघीय समाजवादी फोरम, नेपालबाट विजयी भएका थिए । यस्तै शाह २०७४ मा नेपाली कांग्रेसबाट र अहिले पुनः गठबन्धनबाट उम्मेदवार बनेका हुन् । २०७४ को निर्वाचनमा शाहले २० हजार १ मत ल्याएका थिए । प्रतिस्पर्धीलाई करिब ५ हजार मतान्तरले पराजित गरेका थिए ।

यस क्षेत्रमा शाहको पुरानै प्रतिस्पर्धी हुन्, मंगलप्रसाद गुप्ता । हाल एमालेका उम्मेदवार गुप्ता ०७४ सालमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका थिए । उनले ०७४ सालको निर्वाचनमा १५ हजार ८२६ मत प्राप्त गरेका थिए । मंगलको आम निर्वाचन २०७९ को यात्रा मंगलमय हुनेछ या कस्तो हुनेछ ? त्यो मिसन मंसिर ४ पछि मात्रै स्पष्ट हुनेछ । यही क्षेत्रमा जनता प्रगतिशील पार्टी (जप्रपा)का राष्ट्रिय महासचिव ईश्वरदयाल मिश्र उम्मेदवार छन् । गत निर्वाचनमा स्वतन्त्र समूहबाट सूर्य चिह्न लिएर उठेका मिश्र यसपटक भने आफ्नै पार्टीबाट उम्मेदवार बनेका हुन् । ०७४ सालको निर्वाचनमा मिश्रले प्रभावशाली छवि निर्माण गरेका थिए । उनले सो निर्वाचनमा १४ हजार ३३० मत प्राप्त गरेका थिए । मिश्रलाई समेत उक्त क्षेत्रमा बलिया उम्मेदवारका रूपमा लिने गरिन्छ ।

शाहको विरासत अहिले कायम रहनेछ या रहनेछैन ? त्यो निर्वाचन परिणामले जनाउनेछ । शाह ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा देशकै कान्छो उम्मेदवारको रूपमा सभासद बनेका थिए । त्यसयता निरन्तर सांसद भएकाले पनि यसपटक पनि उनकै पल्लाभारी हुने विश्लेषण गरिएको पाइन्छ । यसपटक भने उनलाई गठबन्धनका अन्य दलको पनि सहयोग छ । देशमा प्रजातन्त्र होस्, पञ्चायत होस् या बहुदल हुँदै लोकतन्त्र, गणतन्त्रसम्म पनि शाह परिवार कुनै न कुनै तरिकाबाट राजनीतिमा आबद्ध छ । कपिलवस्तुको कृष्णनगर क्षेत्रमा दशकौंदेखि बसोबास गर्दै आएका शाह परिवार विभिन्न माध्यमबाट राजनीति र जनतासँग प्रत्यक्ष परोक्ष रूपमा जोडिएको छ ।

त्यसैले पनि आगामी प्रतिनिधिसभा निर्वाचनमा शाह बलियो प्रत्यासीको रूपमा देखिन्छन् । ०७४ को निर्वाचनमा यस क्षेत्रमा दोस्रो भएका गुप्ता हालै एमाले प्रवेश गरेका हुन् । जसपाका केन्द्रीय सदस्य रहेका उनी यसअघिको निर्वाचनमा संघीय समाजवादी फोरमबाट चुनाव लडेका थिए । फोरमबाट लगातार दुईपटक संसद बनेका शाह कांगे्रस प्रवेश गरेपछि फोरमले गुप्तालाई उम्मेदवार बनाएर दोस्रो स्थान कायम गरेको थियो । ०७४ मा फोरमबाट निर्वाचनमा होमिएका गुप्ता अहिले एमाले प्रवेश गरी निर्वाचनमा उम्मेदवार बनेका छन् ।

त्यतिबेला (०७४) एमालेले आफ्नै उम्मेदवार नउठाएर हृदयेश त्रिपाठीका उम्मेदवार ईश्वरदयाल मिश्रलाई समर्थन गरेको थियो । उनी तेस्रो नम्बरमा थिए । यसपटक गुप्तालाई एमालेको समर्थन हुने भएकाले कडा प्रतिस्पर्धा हुने पक्का छ । हरेक प्रतिस्पर्धामा ‘म्यान अफ दि इलेक्सन’ बन्दै आएका शाह मिजासिलो, हँसिलो र छिट्टै जोसँग पनि घुलमिल हुन सक्ने व्यक्तिको रूपमा परिचित छन् । तीनपटकको संसद प्रवेशको यात्रा अविचलित राखेका शाहले चौथो प्रवेशको द्वार खोल्ने हुन् या खोल्दैनन् ? त्यो मतदाताको विवेकमा भर पर्छ ।

एमालेमा गएको स्थानीय निर्वाचन र अहिले उम्मेदवारी चयनमा असन्तुष्ट नेताहरूले असहयोग गर्न सक्ने आशंका भए पनि एमाले एकढिक्का भएको दाबी एमालेका नेता कार्यकर्ताको छ । शिवराज नगरपालिकाको नगरप्रमुखमा एमाले भित्रैको आन्तरिक किचलोका कारण हार बेहोर्न बाध्य भएको जानकारहरू बताउँछन् ।

कपिलवस्तु–३ अन्तर्गत महाराजगञ्ज नगरपालिकाका आंशिक वडा, शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र बिजयनगर गाउँपालिका गरी ३३ वटा वडा पर्छन् । आमनिर्वाचन २०७९ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूको मतका आधारमा एमालेले १२ वटा वडामा जित हासिल गरेको छ । यस्तै, कांगे्रसले ८ वटा वडामा जित हासिल गरेको छ, सत्ता गठबन्धनको एक घटक माओवादी केन्द्रले ४ वटा वडामा जित हासिल गरेको छ । यसर्थ पनि सत्ता गठबन्धनले १२ वडामा जित हासिल गरेको छ ।

सत्तासाझेदार दलले शिवराज नगरपालिकाको वडा नं. २, ८, ९ र ११ मा जित हासिल गरेको छ । यस्तै कृष्णनगर नगरपालिकाको वडा नं. ४, ५, ८, १० र १२ मा जित हासिल गरेको छ । महाराजगञ्ज नगरपालिकाको वडा नं. ५ र ६ मा समेत सत्ता साझेदार दलले जितेको छ । बिजयनगर गाउँपालिकामा भने सत्ता गठबन्धनका कुनैपनि उम्मेदवारले वडाध्यक्ष पदमा जीत हासिल गर्न सकेका छैनन् ।

एमालेले विजयनगर गाउँपालिकाका ७ वटा वडामा वडा नं. ३ बाहेक सबै वडामा जित हासिल गरेको छ । यस्तै कृष्णनगर नगरपालिकाको वडा नं. २, ३, ६ मा एमालेले जित हासिल गरेको छ । शिवराज नगरपालिकाको वडा नं. १, ३, र ५ मा एमालेले जितेको थियो ।

लोसपाले कपिलवस्तु–३ अन्तर्गत शिवराज नगरपालिकाको वडा नं. ४ र १० मा जित आफ्नो हातमा लिएको छ । जसपाले शिवराज नगरपालिकाको वडा नं. ६, विजयनगर गाउँपालिकाको वडा नंं ३, कृष्णनगर नगरपालिकाको वडा नं. ७ र ११ वडामा जितको बाजी मारेको छ । राप्रपा, बहुजन शक्ति पार्टी र जनता प्रगतिशील पार्टीले निर्वाचन क्षेत्र ३ मा एक÷एक वडामा जित सुनिश्चित गरेको थियो । कृष्णनगर नगरपालिकाको वडा नं. १ मा राप्रपा, वडा नं. ९ मा बहुजन र महाराजगञ्ज नगरपालिका–७ मा जप्रपाले जित हासिल गरेको थियो ।
 

टिप्पणीहरू