शीतल निवासबाट नागरिकता विधेयक जारी नभएपछि बालुवाटारमा गठवन्धनको बैठक शुरु

शीतल निवासबाट नागरिकता विधेयक जारी नभएपछि बालुवाटारमा गठवन्धनको बैठक शुरु

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका नेताहरुको छलफल शुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सत्तारुढ गठबन्धन दलका नेताहरु बिहान पौने ९ बजेदेखि बैठकमा बसेका हुन् ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालको सहभागिता छ ।

त्यसैगरी,जसपा अध्यक्ष उपेन्द्र यादव,नेपाली कांग्रेस नेताहरु रामचन्द्र पौडेल,पूर्णबहादुर खड्का,राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल,हिमलाल पुरी,सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतको उपस्थिति रहेको छ ।

बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानतः प्रमाणीकरण गर्नुपर्ने नागरिकता विधेयक होल्डमा राखेपछि उत्पन्न परिस्थितिको बारेमा छलफल हुने स्रोतले बतायो । संसदले दोस्रो पटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिबाट स्वतः प्रमाणीकरण हुनुपर्ने विषयलाई सबै कोणबाट विश्लेषण गरेर निश्कर्षमा पुगिने सहभागी एक जना नेताले बताए ।

त्यसैगरी आगामी निर्वाचनको निम्ति सत्तारुढ दलहरुबीच हुन नसकेको सीट बाँडफाँडको विषयलाई अन्तिम टुङ्गो लगाउनेबारे पनि निर्णायक छलफल हुने बुझिएको छ ।

टिप्पणीहरू