टिकटक बन्द गर्नुपर्ने आवाज सडकमा गुञ्जियो

टिकटक बन्द गर्नुपर्ने आवाज सडकमा गुञ्जियो

सामाजिक सञ्जाल टिकटक बन्द गर्नुपर्ने माग राख्दै मधेश प्रदेशका युवाहरु आन्दोलनमा उत्रिएका छन् । टिकटकको दुरुपयोग हुन थालेको भन्दै आज मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरिएको हो ।

विश्व प्रख्यात चिनियाँ एप टिकटकले समाजमा नकारात्मकता फैलाएको युवाहरुको आरोप छ । टिकटकमा सामाजिक विकृति मौलाउने खालका गतिविधिहरु अधिक बढ्न थालेकाले यसलाई बन्द गर्नुपर्ने उनीहरुले बताएका छन् ।

टिकटक बन्द संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा झण्डै सात दर्जनले उपस्थिति जनाएका छन् । प्रर्दशनकारीहरुले ‘टिकटकलाई बन्द गर’,‘टिकटकमा अश्लिलता भिडियो बनाउनेलाई कारबाही गर’,‘टिकटक भगाऊ आफ्नो संस्कृति बचाऊ’,‘टिकटक बन्द संघर्ष समिति जिन्दावाद’, लगायतका नारा लगाएका थिए ।

उक्त एपले अश्लिलतासँगै नेपाली युवतीको शारीरिक शोषणसमेत भइरहेको युवाहरुको भनाइ छ । जनकपुरधामको विभिन्न भागमा प्रर्दशनपछि युवाहरुको समूह मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए ।

तर, मुख्यमन्त्री राउत नभेटेपछि कर्मचारीलाई ज्ञापनपत्र बुझाइएको हो । टिकटक बन्द गर्नका लागि युवाहरुले प्रदेशको हरेक जिल्लामा संघर्ष समिति गठन गरेका छन् ।

टिप्पणीहरू