‘चिकित्सकमाथि भएको दुर्व्यवहारले दुःखित तुल्यायो’

‘चिकित्सकमाथि भएको दुर्व्यवहारले दुःखित तुल्यायो’

राष्ट्रिय आवासीय चिकित्सक संघले कार्यस्थलमा दुर्व्यवहार भोगेका चिकित्सकलाई तत्काल न्याय दिलाउन माग गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा कार्यरत चिकित्सक डा.करण शाहमाथि गत भदौ २ गते भएको कुटपिट प्रकरणले मुलुकभरका चिकित्सकलाई दुःखित तुलाएको छ । उक्त व्यहोरा उल्लेख गर्दै संघले न्यायका लागि माग गरेको छ ।

चिकित्सकमाथि भएको दुर्व्यवहारले सम्पूर्ण स्वास्थ्यकर्मीहरुको मनोबल घटाएको बताइएको छ । कुटाइ खाने पीडित चिकित्सकको पक्षमा कानूनी उपचारमा जानुको सट्टा उल्टै झुठो दुर्व्यवहारको आरोप लगाउनु निन्दनीय भएको संघद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

उसले भनेको छ, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनको पहिलो संशोधन २०७९,’ को कार्यान्वयन गरी दोषीलाई कारबाही गर्नुको सट्टा राजनीतिक पहुँच, सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै कुटाइ खाने पीडित चिकित्सकलाई कानूनी उपचारको साटो चिकित्सकविरुद्ध झुठो दुर्व्यवहारको आरोप लगाउनु निन्दनीय छ ।’

उसले पीडित चिकित्सकलाई न्याय दिलाउन र अपराधीलाई कारबाही गर्न माग गरेको छ । त्यस्तै, झुठो आरोप लगाएर पक्राउ पुर्जी जारी गर्ने सम्पूर्ण निकाय दोषी रहेको संघको ठहर छ ।

प्रतिष्ठानका डा.शाहले ६ वर्षीय बालकको उपचारमा बालहिंसा गरेको जनाउँदै बालककी आमाले जुम्ला प्रहरीमा उजुरी दिएकी थिइन् । जिल्ला अदालत जुम्लाले अनुसन्धान अभियोजनका लागि पक्राउ पुर्जी जारी गरिसकेको छ । हाल प्रतिष्ठानमा इर्मेजेन्सीबाहेकका सबै सेवा ठप्प छ ।

टिप्पणीहरू