डेंगु नियन्त्रणमा समन्वय नगरिएको मानवअधिकार आयोगको ठहर

डेंगु नियन्त्रणमा समन्वय नगरिएको मानवअधिकार आयोगको ठहर

राष्ट्रिय मानव अधिकार आयोगले डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । डेंगु बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको उल्लेख गर्दै आयोगले तीन वटै तहका सरकारलाई नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।

कोरोना महामारी कायम रहेको अवस्थामा हाल देशव्यापी रुपमा फैलिएको डेंगु नियन्त्रण तथा रोकथाममा सम्बन्धित निकायहरुको यथेष्ट ध्यान पुग्न नसकेको आयोगद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगले भनेको छ, ‘कोरोना महामारी कायम रहेको अवस्थामा हाल देशव्यापी रुपमा फैलिँदै गइरहेको डेंगु रोगका कारण नागरिकको स्वास्थ्यमा पर्न गएको जोखिमको अवस्थाप्रति राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’

साथै, यस रोगको नियन्त्रणमा तीन वटै तहको सरकारबीच प्रभावकारी समन्वय नभएको जानकारी प्राप्त भएको आयोगले जनाएको छ । नागरिकको स्वास्थ्यसम्बन्धी हकको संरक्षण गर्दै जीवनको अधिकार सुनिश्चित गर्न, डेंगु संक्रमण गराउने जातका लामुखुट्टे उत्पादन हुने ठाँउहरु नष्ट गर्न र यससम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिन सरकारसँग जोडदार माग गरिएको छ ।

हाल मुलुकभर पाँच हजारभन्दा बढी डेंगुका संक्रमित छन् ।

टिप्पणीहरू