पत्रकारको घाँटी छिनाल्ने धम्की दिएका एमाले नेतामाथि कारबाहीको माग

पत्रकारको घाँटी छिनाल्ने धम्की दिएका एमाले नेतामाथि कारबाहीको माग

नेकपा एमाले कालिकोटका कार्यालय सचिव दानबहादुर शाहीले नेपाल पत्रकार महासंघ कालिकोट शाखाका पूर्वअध्यक्ष कालिबहादुर मल्ललाई भौतिक कारबाही गर्ने धम्की दिएका छन् । प्रकाशित समाचारलाई लिएर अपशब्द प्रयोग गर्दै पत्रकार मल्ललाई घाँटी छिनालेर मार्ने धम्की दिएपछि नेपाल पत्रकार महासंघले त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल समाचारपत्र दैनिक र इन्सेक अनलाइनमा कार्यरत पत्रकार मल्लले गत भदौ १९ गते समाचार लेखेका थिए । सो समाचार प्रकाशन भएपछि शाहीले धम्की दिएको बताइएको छ ।त्यस्तै, महासंघ झापा शाखाका सदस्य एवं ‘ग्यालेक्सी फोरके’ टेलिभिजन प्रदेश १ का ब्यूरो प्रमुख राजु पौडेल र संवाददाता नारायण पौडेललाई पनि गालीगलौज गरेको जानकारी प्राप्त भएको महासंघले बताएको छ ।

झापास्थित बिएण्डसी अस्पतालका लगानीकर्ता दुर्गा प्रसाईंले विभिन्न सञ्चारमाध्यम र युट्युब च्यानलमा अन्तरवार्ता दिने क्रममा उनीहरुमाथि लाञ्छना लगाउने काम गरेको महासंघको भनाइ छ । महासंघले प्रेसविरोधी कार्यमा संलग्नमाथि तत्काल कानूनी कारबाहीको प्रक्रिया अघि बढाउन माग गरेको छ ।

टिप्पणीहरू